कर्मचारी कुट्नेबारे अभिव्यक्ति दिने व्यक्ति पक्राउ

डिसी नेपाल
११ माघ २०८२ २२:३३
36
Shares

काठमाडौं। नेपाल प्रहरीले बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि हिंसा भड्काउने अभिव्यक्ति दिने एक जनालाई पक्राउ गरेको छ।

प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा ‘नागरिक बचाउ महाअभियान’अन्तर्गत ऋणी एशोसिएशनका केन्द्रीय संयोजक देवीप्रसाद सङ्गौलालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

झापाको अर्जुनधारा नगरपालिका–११ घर भएका ४४ वर्षीय सङ्गौलाले युट्युब च्यानललगायतका माध्यमबाट बैंकका कर्मचारीलाई कुटपिट गर्नुपर्ने र ‘भण्डारखाल’ जस्तो काण्ड मच्चाउनुपर्ने भन्दै अभिव्यक्ति दिएका थिए।

सार्वजनिक शिष्टाचार र नैतिकता विपरीत हिंसा दुरुत्साहन गर्ने अभिव्यक्ति दिएपछि ब्यूरोले उनलाई कार्यालयमै झिकाएर सोधपुछ गरेको व्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिपकराज अवस्थीले जानकारी दिए।

प्रहरीसमक्ष बयान दिने क्रममा सङ्गौलाले कानुनी राज्यको उल्लङ्घन गर्दै बैंक विरुद्ध बोल्नु आफ्नो गल्ती भएको स्वीकार गरेको प्रवक्ता अवस्थीले बताए। पक्राउ सङ्गौलाले आगामी दिनमा कानुनलाई शिरमा राखेर बोल्ने र समाज तथा राज्यलाई असर गर्ने अभिव्यक्ति नदिने प्रतिबद्धता जनाउँदै नेपाल सरकारसँग लिखित रूपमा माफी मागेको ब्यूरोले जनाएको छ। प्रहरीले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममा कानुनविपरीतका अभिव्यक्ति दिने र श्रव्यदृश्य सामग्री प्रसारण गर्नेमाथि निगरानी बढाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.