अन्तरराष्ट्रिय भन्सार दिवसका अवसरमा व्यवसायी र कर्मचारी सम्मानित

डिसी नेपाल
१२ माघ २०८२ २१:२१
24
Shares

मुस्ताङ। नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–२ छोसेरमा रहेको मुस्ताङ भन्सार कार्यालयले पहिलोपटक यहाँ अन्तरराष्ट्रिय भन्सार दिवस मनाएको छ।

आज यहाँ जोमसोममा एक कार्यक्रम गरी ७४ औँ अन्तरराष्ट्रिय भन्सार दिवस मनाएको हो। कार्यक्रममा कार्यालयका कम्प्युटर अपरेटर ओमप्रकाश महतोलाई सम्मान गरिएको छ। कठिन भूगोलमा रहेर लगनशील र कर्तव्यनिष्ट भएर सेवाग्राहीमैत्री कार्यसम्पादन गरेको भन्दै उहाँलाई भन्सार विभागले सम्मान अर्पण गरेको हो।

कार्यक्रममा पुस मसान्तसम्म यहाँबाट धेरै मूल्यको मालवस्तु निकासी गर्ने अष्ठ मङ्गल प्राइभेट कम्पनी र पैठारी गर्ने मेनल्यान्ड सिपिङ एण्ड लजिस्टिक कम्पनीलाई सम्मान गरिएको थियो।

यहाँबाट गत भदौ ३१ गतेदेखि हालसम्म साइमेक्स इन्क प्रालिले रु चार अर्ब २३ करोड ४२ लाखको मालवस्तु पैठारी गरेको र निकासीतर्फ अष्टा मङ्गल कम्पनीले रु छ करोड ५६ लाख ९४ हजार बराबरको कारोबार गरेको कार्यालयले जनाएको छ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अजिता शर्माले भन्सार कार्यालयलाई थप गतिशील र सेवामैत्री तुल्याउन आवश्यक रहेको बताइन्। भन्सार सेवालाई थप प्रभावकारी, जिम्मेवार र उत्तरदायी बनाउँदै थप सुधार गनुपर्ने र त्यसका लागि प्रविधिमा जोड दिनुपर्ने उनको भनाइ थियो।

यहाँ माथिल्लो मुस्ताङस्थित न्हेचुङमा २०१३ सालमा भन्सार कार्यालय स्थापना भएको बताइन्। कार्यालयका निमित्त भन्सार प्रमुख रमेश खड्काले पछिल्लो समय सडक स्तरोन्नितिसँगै नाकालाई पूर्ण रूपमा सञ्चालनमा ल्याइएपछि राजस्व वृद्धिका साथै व्यवसायीलाई समेत निकै सहज भएको बताए।

कार्यक्रममा व्यवसायी प्रभु अधिकारी, मुस्ताङ उद्योग वाणिज्य सङ्घका सचिव तिलक विकलगायतले नाका पूर्ण सञ्चालनमा आए पनि व्यवस्थापनमा अझै सुधार गर्दै जानुपर्ने आवश्यकता औँल्याए।

गत भदौ ३१ गतेबाट पूर्ण रूपमा सञ्चालनमा आएको यस नाकाबाट हालसम्म रु पाँच अर्ब ५४ करोड तीन लाख राजस्व सङ्कलन गरिएको निमित्त प्रमुख खड्काले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.