ओखलढुंगामा दम्पतीको हत्या

डिसी नेपाल
१३ माघ २०८२ ११:३३
500
Shares

काठमाडौं । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका ६ मा एक घरमा हत्या गरिएको अवस्थामा दम्पतीको शव फेला परेको छ । मंगलबार बिहान करिब साढे ७ बजेतिर घरमा दुवैको हत्या भएको थाहा भएको हो ।

मृतकहरू करिब ८० वर्षीय चन्द्रबिक्रम राई र उनकी श्रीमती चन्द्रमाया राई हुन्। प्रहरीले लुटपाट गर्ने उद्देश्यले हत्या गरेको आशंका गरेको छ। प्रहरीका अनुसार सो घरमा किराना पसल छ । पसलको पैसा राख्ने ठाउँ फुटाइएको छ ।

स्थानीयका अनुसार घरमा दम्पतीमात्रै बस्थे। प्रहरीले अनुसन्धानको लागि तालिम प्राप्त कुकुरसहितको टोली बोलाएको छ ।

यसअघि पनि ओखलढुंगामा दम्पती र अर्का एक जनाको पनि हत्या भएको थियो। ती हत्या गिरोहले गरेको बताइएको थियो । त्यो गिरोहले सिद्धिचरण नगरपालिका-४ को ५२ वर्षीया रत्नकुमारी कटवाललाई बञ्चरो प्रहार गरी हत्या गरेका थिए। हत्या पछि गहना र नगद लुटपाट गरेको आरोप थियो।

उनीहरूले नै चिशंखुगढी गाउँपालिका-६ का ६० वर्षीय शोभितमान थापा र श्रीमती ६० वर्षीय रत्नमाया थापा मगरलाई धारिलो हतियार प्रहार गरेर वीभत्स हत्या गरेका थिए। उनीहरूको हत्या गरेर अन्दाजी १ लाख नगद तथा गहन समेत लुटेको प्रहरीको आरोप थियो ।

पछि प्रहरीले यो गिरोहलाई समातेको बताएको थियो । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले ती घटनामा संलग्न रहेको आरोपमा ओखलढुंगा चिसाङ्ग गाउँपालिका-३ का २८ वर्षीय मिलन भन्ने संगम राई, रातमाटे बस्ने ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल र ३० वर्षीय दोर्जे भन्ने अशोक भुजेललाई पक्राउ गरेको थियो ।

तर, अहिलेको हत्याको प्रकृति पहिलेको गिरोहले गरेको हत्याको प्रकृतिसँग मिल्दो भएको प्रहरीले बताएको छ । पहिलेको गिरोहका चारै जना अहिले जेलमा छन् । उनीहरू जेलमा रहेको बेला फेरि उस्तै हत्याले घटना थप रहस्यमय भनेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.