मतदातालाई उपेन्द्र यादवको आग्रह, झुठा आश्वासन बाँडेर चुनाव जित्नेलाई कडा प्रश्न गर्नुस्

डिसी नेपाल
२१ माघ २०८२ १०:००
12
Shares

सप्तरी। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा चुनावका बेला झुठा आश्वासन बाँडेर चुनाव जितेर गएका तर बाचा पूरा नगरेका उम्मेदबारलाई कडा प्रश्न गर्न आममतदातालाई आग्रह गरेका छन्।

सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ६ स्थित फकिरामा मंगलबार आयोजित चुनावी सभामा अध्यक्ष यादवले आमजनतालाई भने, ‘चुनावका बेला मीठा कुरा र झुठा आश्वासन बाँडेर चुनाव जितेर गए पनि क्षेत्रको विकास किन भएन? भनी प्रश्न सोध्नुहोला।’

गाउँमा अस्पताल, विद्यालय, रोजगारी, पक्की सकड, सिँचाई, मलखाद लगायतका समस्याहरु समाधान गर्ने आश्वासन दिएर पनि केही नगर्ने त्यस्ता पार्टी र नेतालाई चिन्न उनले आग्रह गरे । सप्तरी क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका जसपा नेपालका अध्यक्ष यादवले राम्रा र जिम्मेवार नेता चुन्न नसकेका कारण क्षेत्र तथा जिल्लाको विकास हुन नसकेको बताउँदै उनले भने ‘अधिकार, पहिचान, स्वाभिमानसँगै विकासका लागि सङ्घर्ष गर्ने नेता चुन्न चुक्नु हुँदैन । ’

मधेश विद्रोहकै कारण मधेशी, महिला, दलित, आदिवासी, जनजाति, मुस्लिम, अल्पसङ्ख्यक लगायत पछाडी परेका समुदायको हक अधिकार सुनिश्चित भएको चर्चा गर्दै अध्यक्ष यादवले अब बाँकी अधिकारसँगै विकासका लागि सङ्घर्ष गर्नुपर्नेमा जोड दिए ।

प्राप्त अधिकारको रक्षा गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले भने ‘लडेरै हामीले मधेशी लगायत नागरिकता विहिनलाई नागरिकता दिलायौँ, लडेरै पहिचानको आधारमा मधेश प्रदेश बनायौँ, ती उपलब्धीहरुलाई समाप्त पार्ने षडयन्त्र भइरहेको छ, त्यसैले जसपा नेपाल यो चुनावमा थप मजबुत भएर उदाउनुपर्छ ।’

बुथ कमिटीका अध्यक्ष हरि यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय नेता एवम् पूर्व मन्त्री रेणुकुमारी यादव, केन्द्रीय सचिव एवम् क्षेत्र नम्बर ३ का प्रचार प्रसार समितिका संयोजक शैलेन्द्र प्रसाद साह, केन्द्रीय सदस्य तथा युवा विद्यार्थीका केन्द्रीय प्रमुख बिदेश्वर प्रसाद यादव (बिक्की), केन्द्रीय नेता चन्देश्वर सदा, प्रदेश समितिका पूर्व सदस्य सुरेन्द्र प्रसाद यादव, राजगढ गाउँपालिकाकी उपाध्यक्ष रेणु देवी मण्डल, समानुपातिक उम्मेदवार चुल्हाई मण्डल, स्वस्तिका चौधरी, समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रीय अध्यक्ष एवम् युवा विद्यार्थी निर्वाचन परिचालन समितिका क्षेत्रीय संयोजक मनिष यादव, मो. साबिर खान, पूर्व वडा अध्यक्ष कमलदेव यादव, समाजवादी युवा संघ नेपालका जिल्ला अध्यक्ष एवम् युवा विद्यार्थी निर्वाचन परिचालन समितिका क्षेत्रीय सहसंयोजक केदार प्रसाद यादव, रघुनन्दन यादव लगायतले मन्तब्य व्यक्त गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.