जनताको मत जित्ने एजेण्डासहित एमाले निर्वाचनमा होमिएको ईश्वर पोखरेलको दावी
काठमाडाैं। नेकपा एमालेका उम्मेदवारहरुले जनताको मत जित्ने एजेण्डाका साथ निर्वाचनमा होमिएको दावी गरेका छन्। बुधबार काठमाडौं उपत्यकाका उम्मेदवारसँगको संवाद कार्यक्रममा उनीहरुले लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारीका साथ जनताको मत जित्ने एजेण्डासहित निर्वाचनमा होमिएको दावी गरेका हुन्।
कार्यक्रममा एमालेका नेता एवं काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा उम्मेदवार ईश्वर पोखरेलले राष्ट्रिय हित, स्वाभिमान, देशको अखण्डता र स्वतन्त्रमा केन्द्रित भएर छिटै घोषणा पत्र सार्वजनिक गर्ने जानकारी दिए। उहाले बिगतमा भएका काम र आगामी दिनमा गरिने कामको समयसूचीसहितको घोषणपत्र आउने बताए।
सामाजिक सद्भाव राष्ट्रिय एकताको आधार भएकाले यसमा पार्टी केन्द्रीत हुने उनको भनाइ छ। नेता पोखरेलले वर्तमान व्यवस्थासँग गाँसिएका केही पक्षमा सुधार आवश्यक रहेको उल्लेख गर्दै संविधान संशोधनमार्फत ती विषयहरूलाई परिमार्जन गर्दै अघि बढ्ने बताए।
नेता पोखरेलले आगामी निर्वाचनमा एमालेले राम्रो परिणाम ल्याउने विश्वास व्यक्त गर्दै जनतासमक्ष त्यसलाई प्रमाणित गरेर देखाउने दाबी गरे। एमालेलाई कमजोर पार्न विभिन्न प्रकारका षड्यन्त्र हुँदै आएको आरोप लगाउँदै उनले बाहिरी षड्यन्त्रलाई चिर्न पार्टी भित्री रूपमा बलियो हुनुपर्नेमा जोड दिए।
त्यस्तै एमालेका सचिव तथा भक्तपुर क्षेत्र नं २ का उम्मेदवार महेश बस्नेतले वर्तमान सरकार रास्वपा पक्षधर बनेर लोकतन्त्रवादी शक्तिमाथि आक्रमण गरिरहेको आरोप लगाए। उनले निर्वाचनलाई निष्पक्ष बनाउनुपर्नेमा जोड दिँदै सरकार मतपरिणाम नै बदल्ने योजनामा लागेको आरोप लगाए।
निर्वाचन दुई चरणमा गर्ने चर्चा चलाएर मतपरिणाम परिवर्तन गर्ने प्रयास भइरहेको उनको भनाइ थियो। उहाले संसद पुनस्थापनाका बिषयमा अदालतले छिटो न्यायनिरुपण गर्नुपर्नेमा जोड दिए।
त्यस्तै एमालेका सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. राजन भट्टराईले संसद् पुनस्र्थापना लोकतन्त्र र संविधानलाई सहज बाटोमा फर्काउने उपाय भएको बताए। उनले मतदातालाई कुनै उत्तेजनामा नआई विवेकपूर्ण भावनाका साथ मतदान गर्न आग्रह गर्दै लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी नागरिककै हातमा रहेको बताए।







डिसी नेपाल








Facebook Comment