नेकपा एमालेले १६३ निर्वाचन क्षेत्रमा उम्मेदवारी कायम राख्यो

डिसी नेपाल
२१ माघ २०८२ १५:०८
1.3k
Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई गम्भीर चासोका साथ नियालिरहेको जनाएको छ। बुधबार पत्रकार सम्मेलन गर्दै एमालेले देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १६३ क्षेत्रमा आफ्ना उम्मेदवार कायम राखेको जानकारी दिएको हो।

विज्ञप्तिअनुसार कर्णाली प्रदेशको रूकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मालाई सघाउने सहमति भएको छ भने प्राविधिक कारणले मनाङमा उम्मेदवारी दर्ता हुन नसकेको र स्थानीय परिस्थितिका आधारमा विभिन्न राजनीतिक दल तथा समूहसँग संवाद र सहमति प्रक्रिया जारी रहेको एमालेले जनाएको छ।

एमालेले उक्त उम्मेदवारीलाई सबै प्रकारका षड्यन्त्र, जालझेल र घेराबन्दीविरुद्धको नागरिक तथा राजनीतिक खबरदारीका रूपमा व्याख्या गरेको छ। साथै विध्वंस, आगजनी र राज्य संरचना नष्ट गर्ने प्रवृत्तिविरुद्ध निर्माण र विकासको प्रतिबद्धता रहेको उल्लेख गरेको छ।

प्रेस विज्ञप्तिमा सामाजिक सञ्जालको बढ्दो दुरुपयोगप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै एमालेले गैरजिम्मेवार र गैरराजनीतिक ढंगले प्रविधिको प्रयोग भइरहेकोप्रति आपत्ति जनाएको छ। विभिन्न राजनीतिक दल, उम्मेदवार तथा निर्वाचन चिन्हका विषयमा भ्रम फैलाउने उद्देश्यले कलाकारको प्रयोग र प्रविधिको दुरुपयोग भइरहेको आरोप एमालेले लगाएको छ।

एमालेको निर्वाचन चिन्ह परिवर्तनजस्ता भ्रामक प्रचार सामग्री निर्माण तथा प्रसारण गर्ने जो कोहीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग पार्टीले गरेको छ। साथै पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गरी सामाजिक सञ्जालमा गरिएका गालीगलौज, अमर्यादित र असभ्य अभिव्यक्तिको एमालेले कडा शब्दमा निन्दा गरेको छ।

एमालेले निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षा अझै सुनिश्चित हुन नसकेको दाबी गरेको छ। विज्ञप्तिमा भयरहित र निर्भिक रूपमा मतदान गर्न पाउने वातावरण निर्माण गर्नु सरकारको प्रमुख दायित्व भए पनि हालसम्म विश्वासिलो वातावरण बन्न नसकेको उल्लेख छ।
देशका विभिन्न जेल तथा सुधार गृहबाट फरार कैदीबन्दी अझै पक्राउ नपरेको, अवैध हातहतियार बाहिरै रहेको, राजधानीमा संगठित चोरी तथा लुटपाट बढेको एमालेको भनाइ छ।

निर्वाचन आचारसंहिताको निरन्तर उल्लङ्घन भइरहेको भन्दै एमालेले राष्ट्रिय अखण्डता, सार्वभौमिकता, शान्ति सुरक्षा र सामाजिक सद्भावमा असर पर्ने गतिविधिमाथि निगरानी बढाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ। अन्यथा यस्ता गतिविधिबाट उत्पन्न हुने अराजकता, हिंसा र विध्वंसको जिम्मेवारी सरकार र सम्बन्धित पक्षले लिनुपर्ने चेतावनी पार्टीले दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *