मोरङ–६ मा चुनावी सरगर्मी : शेखरको पुनरागमन र ढकालको दाबीमा रास्वपाले लगाउला ब्रेक?

खेमराज सापकोटा
२१ माघ २०८२ १५:१५
32
Shares

विराटनगर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मोरङ क्षेत्र नम्बर ६ को राजनीतिक तापक्रम दिनप्रतिदिन बढ्दै गएको छ। परम्परागत रूपमा ठूला दलको प्रभाव रहेको यो क्षेत्रमा यसपटक नयाँ शक्ति र पुराना अनुहारबीच रोचक प्रतिस्पर्धा देखिने संकेत देखिएका छन्।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला विजयी भएको यही क्षेत्रमा उनी पुनः चुनावी मैदानमा उत्रिएका छन्। कोइराला यतिबेला नियमित घरदैलो अभियानमा छन्। टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनले आफूलाई फेरि एकपटक जनमतको कसीमा राखेका छन्।

नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ का सदस्य मिलन लुइटेल कांग्रेस यसपटक संगठनात्मक रूपमा बढी तयारीका साथ निर्वाचनमा होमिएको बताउँछन्। उनका अनुसार कोइराला स्वयंले कार्यकर्तालाई निर्वाचन–केन्द्रित हुन निर्देशन दिँदै आएका छन्।

तर पार्टीभित्रै डा. शेखरप्रति पूर्ण सन्तुष्टि भने देखिँदैन। कांग्रेस सुधारको अभियानको नेतृत्व गरेका शेखरको पछिल्लो भूमिकालाई लिएर केही कार्यकर्तामा असन्तोष छ। विशेष महाधिवेशनका बेला देखिएको उनको भूमिकाबारे प्रश्न उठ्ने गरेको छ।

एक कार्यकर्ता भन्छन्, ‘कांग्रेस बदल्नुपर्छ भन्ने नेताबाट निर्णायक समयमा अपेक्षित भूमिका देखिएन। तर पनि अहिलेको विकल्पमा हामी उहाँलाई नै जिताउन लागिपरेका छौं।’

एमालेको दाउ : आलोचक नेता, संगठनको भरोसा

यस क्षेत्रमा नेकपा एमालेले विनोद ढकाललाई उम्मेदवार बनाएको छ। एमालेको महाधिवेशनमा सचिव पदका उम्मेदवारसमेत रहेका ढकाललाई पार्टीले मोरङ–६ को प्रतिनिधि मानेको हो।

एमाले कार्यकर्ताबीच ढकालप्रति आशा देखिन्छ। ‘यसपाली विनोद दाइले इतिहास रच्नुहुन्छ,’ भन्ने अभिव्यक्ति एमालेका स्थानीय कार्यकर्ताबाट सुनिन्छ।

ढकाल पार्टीभित्र आलोचनात्मक धारणा राख्ने नेता मानिन्छन्। यही कारण एमाले संस्थापन इतर समूहका नेता–कार्यकर्ता उनीप्रति थप विश्वस्त देखिन्छन्। वैचारिक स्पष्टता र फरक आवाज नै ढकालको मुख्य चुनावी पुँजी बनेको विश्लेषण छ।

रास्वपाः सहरी मतदाता र ‘परिवर्तन’को अपिल

सहरी र ग्रामीण भूगोल (विराटनगरका केही वडा, बुढीगंगा गाउँपालिका र सुन्दरहरैंचा नगरपालिकाका पनि केही वडा) मिसिएको मोरङ–६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रभाव पनि विस्तार हुँदै गएको देखिन्छ। यस क्षेत्रबाट रास्वपाले रुविना आचार्यलाई उम्मेदवार बनाएको छ।

विवेकशील साझा पार्टीमार्फत राजनीति सुरु गरेकी आचार्य सामाजिक र शैक्षिक सेवामा सक्रिय अनुहार हुन्। उनलाई पुराना राजनीतिक दलप्रति असन्तुष्ट, विशेषगरी युवा मतदातालाई आकर्षित गर्न सक्ने क्षमताको उम्मेदवारका रूपमा हेरिन्छ। राजनीतिमा नयाँपन र परिवर्तनको भोट आचार्यतर्फ जाने निश्चित रहेको छ।

अघिल्लो निर्वाचन र वर्तमान समीकरण

अघिल्लो निर्वाचनको तथ्यांकले मोरङ–६ मा कांग्रेस तुलनात्मक रूपमा बलियो रहेको देखाउँछ। समानुपातिकतर्फ कांग्रेसले २३ हजार ७१० मत ल्याउँदा एमालेले १९ हजार ३८९ मत प्राप्त गरेको थियो। तेस्रो स्थानमा रहेको रास्वपाले ११ हजार ५२६ र चौथो स्थानको राप्रपाले १० हजार ६४१ मत ल्याएका थिए। तत्कालीन माओवादी पाँचौं स्थानमा सीमित थियो।

२०७९ को निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार डा. शेखर कोइरालाले ३५ हजार २२४ मत प्राप्त गरेका थिए। एमालेका उम्मेदवार लालबाबु पण्डितले २२ हजार ९४६ मत ल्याउँदा रास्वपाका यादवकुमार प्रधानले ९ हजार १४० मत पाएका थिए।

मोरङ–६ मा नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि बलियो नै उपस्थितिले यसपटक अनुभव, संगठन र परिवर्तन बीचको प्रतिस्पर्धा देखिन्छ। कांग्रेसको स्थापित मत आधार, एमालेको संगठित संरचना र रास्वपाको बढ्दो आकर्षणले यो क्षेत्रलाई त्रिपक्षीय भिडन्तको केन्द्र बनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.