जुम्लामा दुई वटा अस्थायी मतदान केन्द्र राख्न सिफारिस
जुम्ला। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय जुम्लाले अस्थायी मतदाताका लागि दुई वटा मतदान केन्द्र राख्न निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा सिफारिस गरी जिल्लाबाट पठाएको छ।
सदरमुकाम खलङ्गा बजारमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाको मैदान र जिल्लास्थित कारागारमा अस्थायी मतदान केन्द्र राख्न सिफारिस गरिएको जिल्ला निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले जानकारी दिए।
निजामती कर्मचारी र नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको मैदानमा अस्थायी मतदान केन्द्र कायम सिफारिस गरिएको छ। कारागारमा रहेका थुनुवा वा कैदीलाई कारागारको कार्यालयमा अस्थायी मतदान केन्द्र राख्न सिफारिस गरिएको हो।
अस्थायी मतदाता नामावलीमा समावेश भएकाले समानुपातिकतर्फको निर्वाचनमा मात्र मतदान गर्न पाउने कानुनी व्यवस्था छ। आगामी फागुन ५ गतेसम्म अस्थायी मतदाता नामावली सङ्कलन गर्न अन्तिम समयसीमा आयोगले तोकेको छ।
हालसम्म ८९१ जनाले अस्थायी मतदाता नामावलीमा आफ्नो नाम समावेश गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।







डिसी नेपाल








Facebook Comment