बाघको संख्या दोब्बर, मान्छेको जीवन आधा
नेपालले सन् २०२२ मा “बाघको संख्या दोब्बर बनाउने” विश्वव्यापी लक्ष्य पूरा गरेर अन्तर्राष्ट्रिय पदक थाप्यो। सरकारले उत्सव मनायो, संरक्षणवादीहरूले ताली बजाए।
तर, त्यही उत्सवको जगमुनि बर्दियालीको रगत कति बगेको छ भन्ने कुरा काठमाडौँको सिंहदरबारलाई कहिल्यै थाहा भएन। अचेल बर्दियाका मधुवन, गेरुवा, राजापुर र ठाकुरबाबा क्षेत्रका बासिन्दाका लागि साँझ पर्नु भनेको काल पल्कनु जस्तै भएको छ।
बिहानै सुनिने लासका खबर
पछिल्लो समय बर्दियामा जंगली जनावरको आक्रमणबाट मानिसको मृत्यु हुने क्रम डरलाग्दो गरी बढेको छ। केही दिन अगाडि मात्र बर्दियाले फेरि दुईवटा कलेजो छिनाल्यो। मधुवन नगरपालिका–५ की ४८ वर्षीया मैसरा डाँगी र गुलरिया नगरपालिका-४ का ३५ वर्षीय नन्दु रोकायले बाघ र चितुवाको आक्रमणमा परेर ज्यान गुमाउनु पर्याे।
यो केवल एउटा समाचार होइन, दुईवटा परिवारको सहारा खोसिएको वज्रपात हो। कहिले खेतमा पानी लगाउन गएका किसान, त कहिले जंगलमा निगुरो टिप्न गएका दिदीबहिनीहरू बाघको शिकार भइरहेका छन्।
पछिल्लो ५ वर्षमा नेपालभर बाघको आक्रमणबाट ६० भन्दा बढी नागरिकले ज्यान गुमाएका छन्, जसमा बर्दियाको हिस्सा मात्रै आधाभन्दा बढी छ। यस्ता घटनाले सम्पूर्ण बर्दियालीलाई मर्माहत मात्र होइन, आक्रोशित समेत बनाएको छ।
संख्याको चाप र आहाराको अभाव
सन् २००९ मा बर्दियामा जम्मा १८ वटा बाघ थिए। अहिले बढेर १२५ पुगेका छन्। निकुञ्जको क्षेत्रफल उही छ, तर बाघको संख्या ७ गुणाले बढ्यो। बाघ बढे अनुसार उसलाई चाहिने आहारा (चित्तल, बँदेल) र पानीका स्रोतहरू जंगलभित्र पर्याप्त भएनन्। वन्यजन्तुको संख्या बढ्दै जानु र आहाराको खोजीमा ती जनावर बस्ती पस्नुले मानव समाज आतंकित भएको छ। यो ‘सफलता’ हो कि राज्यले योजनाबिना निम्त्याएको ‘संकट’?
दुनियाँ कहाँ पुग्यो, हामी कहाँ छौं?
बाघ संरक्षणमा नेपालले जुन चर्चा कमाएको छ, त्यही स्तरको प्रविधि गाउँमा किन पुगेन? भारतको तडोबा र कोर्बेट निकुञ्जमा बाघ बस्ती पस्न खोज्दा सेन्सरले थाहा पाउँछ र तत्कालै गाउँलेलाई सूचना जान्छ। रुस र अफ्रिकामा जोखिमपूर्ण बाघलाई ‘रेडियो कोलर’ लगाएर स्याटेलाइटबाटै निगरानी गरिन्छ।
हाम्रोमा भने बाघले मान्छे खाइसकेपछि मात्रै निकुञ्जको टोली पुग्छ। अनि सरकारले १० लाख रुपैयाँ ‘राहत’ को घोषणा गरेर आफ्नो जिम्मेवारी सकिएको ठान्छ। १० लाखमा कसैको सिन्दूर फिर्ता आउँछ? कसैको बाआमा फिर्ता आउँछन्? यो राहत होइन, राज्यले नागरिकको जीवनमाथि गरेको अपमान हो।
अबको माग: कुरा होइन, कडा कदम
अति भइसक्यो, अब बर्दियाली जनताले संरक्षणका नाममा ज्यान दिइरहन सक्दैनन्। वन्यजन्तु व्यवस्थापनका लागि राज्यले तत्काल यी ४ काम गर्नैपर्छ:
१. कङ्क्रिट बेस फेन्सिङ: अब थोत्रा सोलार तारले बाघ रोकिँदैन। निकुञ्ज र बस्तीको सिमानामा कम्तीमा ८ फिट अग्लो बलियो फलामे जाली (Chain-link Fencing) लगाउनै पर्छ।
२. बाघको संख्या व्यवस्थापन: निकुञ्जको क्षमताभन्दा बढी भएका बाघलाई अन्यत्र स्थानान्तरण गरियोस्। नरभक्षी प्रमाणित भएका बाघलाई जंगलमा छाडेर जनताको ज्यान जोखिममा पार्ने काम बन्द गरियोस्।
३. कानुनी परिमार्जन: ५० वर्ष पुरानो निकुञ्ज ऐन बदल्नुपर्छ। आफ्नो ज्यान जोगाउन प्रतिकार गर्दा जेल जानुपर्ने डरले जनता बाघको मुखमा परिरहन सक्दैनन्।
४. बिना झन्झट क्षतिपूर्ति: क्षतिपूर्ति पाउन महिनौँ सरकारी अड्डा धाउनुपर्ने चलन हटाइयोस्। घाइतेको सम्पूर्ण उपचार र मृतकका परिवारको जीविकोपार्जनको जिम्मा राज्यले लिनुपर्छ।
निष्कर्ष
बाघ जोगाउने हामी बर्दियाली नै हौं। तर, बाघ जोगाउँदै गर्दा मान्छे नजोगिने हो भने, भोलि संरक्षणका विरुद्ध जनविद्रोह हुन सक्छ। राज्यले हेक्का राखोस्-नागरिकको जीवन भन्दा ठूलो कुनै पनि ‘अन्तर्राष्ट्रिय अवार्ड’ हुन सक्दैन। बर्दियाका जनतालाई लासको गन्ती होइन, बाँच्न पाउने सुरक्षा चाहिएको छ।















Facebook Comment