स्पार्क हाइड्रो कम्पनीमा सञ्चालक विवादः गोयलद्वारा बैंकका लगानीकर्तालाई चेतावनी
काठमाडौं । स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडको सञ्चालक समितिमा विवाद चर्किएको छ । कम्पनीका पूर्वअध्यक्ष श्रवणकुमार गोयलले सञ्चार माध्यममा सार्वजनिक गरेको आरोपपत्र अनुसार कम्पनीका केही सञ्चालक तथा प्रबन्ध निर्देशकहरूले कम्पनीको निर्णयविना सर्वसाधारणबाट अन्धाधुन्ध पैसा उठाएको, आय–व्यय पारदर्शी नराखेको, बैठक नम्बर उल्लेख नगरी पछिल्लो मिति राखेर निर्णय लिएको र कम्पनीको हितविपरीतका कार्यहरू गरेको पाइएको छ ।
गोयलका अनुसार, उनी कम्पनीमा लगानी गरी अध्यक्षमा नियुक्ति भएपनि फाइनान्सियल क्लोजर पूरा भएपछि सञ्चालकहरूले आफ्नो सल्लाहबिना निर्णय लिन थालेका थिए । ‘कम्पनीको हितविपरीतका यस्ता गैरकानूनी कार्य नगर्न पटक–पटक अनुरोध गर्दा पनि बेवास्ता भयो,’ उनले भने ।
उक्त परिस्थितिमा उनले कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन दर्ता गर्दै कम्पनी ऐन, २०६३ को दफा १७८ अनुसार कारबाहीको माग गरेका छन् । गोयलले आफूलाई जबरजस्ती अध्यक्ष पदबाट हटाइएको आरोप पनि लगाएका छन् । उनले थप चेतावनी दिएका छन् कि,‘म बैंक तथा वित्तीय संस्थालाई दिएको व्यक्तिगत जमानीका आधारमा कम्पनीलाई ऋण प्रवाह नगर्न अनुरोध गर्दछु । मेरो नाम लिएर कुनै लगानी भएमा त्यसको लागि म जिम्मेवार हुने छैन ।’
गोयलले लगानीकर्तालाई विशेष सचेत रहन अनुरोध गर्दै भनेका छन् कि कम्पनीमा चरम विवाद विद्यमान रहेकाले आफ्नो नामको प्रयोग गरेर लगानी नगर्नुहोस् । यस विवादले कम्पनीको सञ्चालक समितिमा गम्भीर तनाब उत्पन्न भएको छ र आगामी कदमहरू कसरी हुनेछन् भन्ने विषयमा लगानीकर्ता तथा सम्बन्धित पक्षहरू चासोमा छन् ।







डिसी नेपाल







Facebook Comment