राष्ट्रको भविष्य र नैतिक नेतृत्व

बंशीकुमार शर्मा
११ फागुन २०८२ ७:२६
4
Shares

आज देश संक्रमणकालीन अवस्थामा गुज्रिरहेको छ। प्रजातन्त्रमा जनादेश नै समस्याको समाधान गर्ने अचुत उपाय हो। तर परिस्थितिजन्य कारण समयाबधि अगावै निर्वाचन हुँदैछ। निर्वाचन होला नहोला भन्ने शंका उपशंका उब्जिएका छन्।

बहुमतको सरकारले आफ्नो सरकार टिकाउन सकेन भने र राज्यको सम्पत्तिको सुरक्षा पनि गर्न सकेन। अब हुने सरकारले राज्य टिकाउन सक्छ भन्ने आधारहरु अझै देखिएका छैनन्। क्षणभरमा समस्या परी यसको भविष्य र निकास अन्यौल छ।

यदि निवार्चन नै समस्याको समाधान भए बिगतका निर्वाचित सरकारले समस्या समाधान किन गर्न सकेनन्। तर प्रजातन्त्रको बिकल्प प्रजातन्त्र नै हो। प्रजातन्त्रमा नयाँ जनादेश भन्दा अर्काे बिकल्प पनि छैन। अब के हुने हो? भविष्य कतातिर जाने? देश र नेपाली जनताको भाग्य रेखा कस्तो हुने? यो प्रश्नको उत्तर जटिल छ।

किनकि जुन मुलुकको राष्ट्रियता सवल हुँदैन त्यसलाई धेरै समस्या आइलाग्छन्, जसरी प्रतिरोध शक्ति गुमाएको शरीरमा रोगहरु जाइलाग्छन्। मुलुक ठूलो हुँदैमा बलियो र सम्पन्न हुने त होइन। सानो राष्ट्र पनि बलियो र सम्पन्न हुन्छ। उदाहरणको लागि भिमकाय मानव होस् वा बालक सबैको ज्वरो नाप्ने यन्त्र एउटै हुन्छ।

त्यस्तै गरी राष्ट्रको आकार भौगोलिक अनुसार राष्ट्रियता हुने होइन। राष्ट्रलाई आफ्ना उसको इतिहास र संस्कृति हेरिन्छ। आफ्नो राष्ट्रपति त्यस राष्ट्रका जनताको निष्ठा र उद्देश्यमा भर पर्दछ।

त्यस राष्ट्रलाई हाक्ने दलहरु र नेतृत्वदायी व्यक्तिहरुको चरित्र र भूमिकामा निर्भर गर्दछ किनकि यो राष्ट्र हाम्रा शुर वीर र दूरदर्शी पूर्खाहरुले आर्जन गरिदिएका हुन्। त्यसैले इतिहास र संस्कृतिमा हामी धनी छौं।

यो राष्ट्र शक्तिले आर्जित भएको हो, त्यही शक्तिले नै हालसम्म वचाएर राख्यो तर आधुनिक राष्ट्रलाई जीवित रहने आधार अब शक्ति होइन राष्ट्रिय चेतना र समृद्धि चाहिएको छ। अब उसले आफू बाँच्नको लागि नयाँ आधार खोजेको छ। त्यसैले नेपाली जनताहरुले फेरि निर्वाचनबाट नै आशा र भरोसा राखेका छन्।

राष्ट्रको रुपरेखा तयार गर्नको लागि सबल र सक्षम नैतिकवान् व्यक्ति ठानी राष्ट्रको नेतृत्व गर्न पठाउने छन् र तिनीहरुको काधमा नेपाली जनता र राष्ट्रको भविष्य रहने छ।

ती जिम्मेवारी पाएका नेतृत्वदायी व्यक्तिहरुले करिब ३ करोड नेपाली जनताको भावना र आकांक्षा अनुसार काम गर्नुपर्ने र तिनीहरुले निर्वाचनको बेला जनताहरुका सामु प्रस्तुत गरेका वाचा कबुल पूरा गर्नुपर्ने दायित्व छ। तर बिडम्बना विगतमा उनीहरुले सो जिम्मेवारी पूरा गर्न सकेनन्।

उनीहरुले अनेक बहाना बनाएर आरोप प्रत्यारोपमा व्यस्त भए। सरकार फेर बेदलमा मात्र सीमित रहे। सत्ता र कुर्सीको लागि विदेशी शक्तिहरुको चाकडी गरे फलस्वरुप अन्तिम उनलाई बचाउन कोही पनि आएन। ऐजन्ट कहिलै पनि सुरक्षित हुँदैनन् त्यसलाई बुझन सकेनन्।

राजनैतिमा स्वच्छ प्रतिस्पर्धा हुन्छ तर सधैं प्रजातन्त्रको पगरी गुमाएर जनतालाई र राष्ट्रलाई लुट्न ब्यस्त रहे। शान्ति, अमन चयन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुको साटो देशलाई अनिवार्यको बन्धीमा पुर्‍याएको कारण युवाले बिद्रोह गरे। अहिले बिद्रोही हराए उनको एजेण्डा अरु कसैले अपहरण गरिदियो।

किनकि उनी संगठित थिएनन् उनीहरु लहलहैमा छिन्नभिन्न भए। लिखित दस्तावेज नभए कै कारण उनको योजना सफल हुन सकेन। उनीहरुको विद्रोह २०८४ मा हुने निर्वाचन ०८२ मा भयो फरक केही भएन।

निर्दलीय सरकारको नाम दिए पनि निर्वाचन सम्पन्न बनाउने केही मन्त्री परिषदका सदस्यहरु बीचैमा राजीनामा दिएर एउटा पार्टीका उम्मेदवार बन्न पुगे। उद्देश्यले मेल खाएन। युवाको बिद्रोह कसैको सरकार ढाल्ने र नया सरकार बनाउने मात्र सीमित हुन पुग्यो। यदि उनको बिद्रोहमा अनाएकमा सात दर्जन निद्रोषले ज्यान गुमाए।

कमसेकम सर्वपक्षीय, सर्वदलीय सरकार भएको भए सर्बस्वीकार्र्य हुन सक्थ्यो त्यो पनि हुन सकेन। उनीहरुको बिद्रोह केका लागि अहिले बहसको विषय बनेको छ। यदि भ्रष्टाचार सुशासनको लागि हो भने अहिलेसम्म एकजना भ्रष्टाचारीलाई कारवाही भएको छैन।

सुशासन दण्डहीनतामा कमी आएको जनताले महशुस गर्न पाएका छैनन्। विगतका निर्वाचनमा पनि नेपाली जनताले चुनिएर सभासद बनाएका हुन् त्यो बिर्सिएका छैनन्। अनुहार फेरिदैमा केही हुदैन सोच परिवर्तन हुनु पर्दछ। अहिले बजारमा आएका नयाँ अनुहार पनि त्यति भरपर्दा देखिँदैनन्।

हुनतः मानिसको परिक्षण औवसर पाए पछि मात्र थाहा हुन्छ। औवसर नपाउदा सम्म सवै इमान्दार हुन्छन किनकि उनिले इमान्दारिता भंग गर्ने मौका पाएका हुँदैनन्। तर नया अनुहारको नेतृत्व समाल्नेको बिगतको चरित्र त्यति निशकंलक छैनन्। पुराना र नयाँ अनुहार जनताका माझमा आएका छन्।

नयाँले प्रतिवद्धता र पुरानाले सुध्रिने वाचा कवुल गर्दै जनतालाई रिझाउने प्रयास गर्दै छन्। विगतमा नेपाली जनताले जम्मेवारी दिए वाफत राष्ट्रको ढुकुटी (जो जनताको प्रत्यक्ष करबाट उठेको हुन्छ) बाट तिनीहरुलाई तलब, भत्ता सुविधा गाडी गार्ड दिएको छ।

यदि दिएको काम पूरा गर्न नसक्ने हो भने तिनीहरुले आफूले लिएको तलब भत्ता मात्र होइन क्षतिपूर्ति समेत नेपाली राष्ट्रलाई बुझाउनु पर्दछ र नेपाली जनताका माझमा माफी माग्नु पर्दछ। तिनीहरुलाई माफी दिने नदिने नेपाली जनताहरुलाई नै फैसला गर्ने अधिकार हुनेछ। अब नेपाली जनताहरु सचेत भइसकेका छन्।

नेतृत्वदायीहरुलाई नैतिकताको आधारमा फेरि नेपाली जनताहरुको माझमा जाने कुनै अधिकार हुनेछन्। यदि जाने दुस्प्रयास गरेमा नेपाली जनताले माफी दिने छैनन्। त्यसपछि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नेपाली शैलीको प्रजातन्त्रको नेतृत्व गर्न सक्ने दललाई छान्ने अधिकार नेपाली जनताले पाउनुपर्दछ। यही नै सही विकल्प हुनेछ।

अहिले मुलुकमा अराजकता पनि त्यति कै बढेको छ।सानो प्वॉललाई समयमै टालिएन भने त्यसले ठूलो रुप लिन्छ। समस्या चाहे ठूलो होस् चाहे सानो अन्ततः त्यो समस्या नै हो। समस्या समाधानमा उदासिनता देखिने, ऑखा चिम्लने हो भने त्यसले विकराल रुप लिनेमा कुनै शंका हुँदैन।

त्रुटिका सामु दण्डहीनतालाई प्रश्रय दिनु झनै भयानक त्रुटि हो। यदि सर्वस्वीकार्य निर्वाचन भएन भने राजनीतिक तरलता, लम्बिँदै सक्रमणकालले मुलुकको अवस्था अस्तव्यस्त हुनेछ। जनजीवनमा आतंक, त्रास, भय, अशान्तिलाई हुनेछ।

हाम्रो राष्ट्रको विगतको लामो इतिहाससम्म समाजका अग्रणी, प्रवुद्ध, वीर र निर्माताहरुको नेतृत्वमा राज्य सञ्चालन हुन्थ्यो। उनीहरुले यो एउटा राष्ट्र कायम गरे, उनको देशभक्ति र दूरदर्शीताकै आजको राष्ट्रियताको जग हो।

उतिबेलाका केही प्रवुद्धहरुको ठाउँमा अव त सम्पूर्ण जनसमुदाय नै प्रवुद्ध र सजग भइसकेको छ। संयम भएको मानिनु पर्दछ। किनकि सबैलाई समान अधिकार प्राप्ति छ। राष्ट्रियतालाई प्रजातन्त्रको परिवेश दिनुपरेको छ। त्यो त्यति सहज सरल छैन त्यसैको कारण प्रजातन्त्रले सहज गति लिन समय लागेको छ।

राष्ट्रियता अडिने एक मात्र आधार जनता हो। राष्ट्रप्रति जनताको समान निष्ठा र भक्तिको अपेक्षा गरिन्छ। प्रजातन्त्रमा मात्रै जनतालाई समान अधिकार र दायित्व सम्मत हुन्छ। नेपालको प्रजातन्त्र नेपाली राष्ट्रियता सापेक्ष हुनुपर्दछ।

प्रजातन्त्रको मूलभूत सिद्धान्त सवैतिर समान रुपले नै स्वीकार छन् तर त्यो लागू हुने क्षेत्र भने देशका रुपमा बा“डिएको छ। तसर्थ प्रजातन्त्र आ-आफ्नो देशको राष्ट्रियता र संस्कृतिको विकासको प्रवद्र्धकको रुपमा हुनुपर्दछ।

त्यस दृष्टिले यहा“ राष्ट्रियताको विकास गर्न अझै संघर्ष गर्नुपर्नेछ। कुनै समयमा थियो संसारका देशहरुमा सैद्धान्तिक निष्ठामा अडिने सिद्धान्तवादीहरु थिए, तर अहिले सिद्धान्तभन्दा स्वार्थ प्रवल भएर उपस्थित भएको छ। राष्ट्रियताप्रतिको चिन्तन फरक भएको छ।

अचेल विकसित राष्ट्र होऊन् वा विकाशोन्मुख राष्ट्र सबै देशको चिन्तन र प्रकृति आ-आफ्नो राष्ट्र स्वार्थबाट निर्दिष्ट देखिन्छ। त्यसैले नेपालले पनि आफ्नै पद्धतिको विकास आफ्नै राष्ट्रियता बलियो बनाउने दृष्टिकोणले गराउनु पर्दछ। राष्ट्रियता र प्रजातन्त्रलाई एक अर्काका परिपूरक भनिए तापनि नेपालको राष्ट्रियता स्वार्थको लागि नेपालको प्रजातन्त्र एक साधन हो अन्तिम लक्ष्य त राष्ट्रियता हो।

नेपालको राष्ट्रियताप्रति सम्पूर्ण नेपालीको समान निष्ठा र भक्तिमा अडिएको छ। त्यसबाहेक अझ कुनै आधार हुन सक्दैन। ठूला शक्तिहरुको सन्तुलनमा आफ्नो अस्तित्व सुरक्षित राख्न संसारका साना देशहरुको भूमिका रहेको छ।

तर ठूला शक्तिहरुको आफ्नो स्वार्थ मिल्दा वा बाझिदा कमजोर छिमेकीलाई कसैले ध्यान दिन्छ। त्यसैले नेपालले आफ्नै भरमा, आफ्नै संस्कृति अनुसारको राष्ट्रियताको विकास गर्नुपर्दछ यही नै नेपालको लागि सही मार्ग हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.