पिस्कर घटना
पिस्कर घटनाको बारेमा जब म सम्झन्छु तब म मेरो जीवनको सम्पूर्ण उर्जावान उमेरलाई संंस्मरण गर्न पुग्छु। वास्तबमा मानिसमा जीवनका स्क्रिप्ट पटक पटक लेखिँदो रहेछ। सिनेमाका पनि स्क्रिप्ट त लेखिन्छ, तर त्यो अभिनयकोलागि लेखिन्छ। त्यसमै अभ्यास गरी त्यसलाई हलमा देखाउन योग्य बनाइन्छ।
जीवनका स्क्रिप्टहरु भने दुई पटक बन्ने रहेछ। एउटा अरुले बनाएका र अर्को आफैंले बनाएको गरी यसका दुई खण्डहरु हुन्छन्। वास्तवमा स्क्रिप्ट भनेको यहाँ जीवनका मूल्य मान्यतालाई भन्न खोजिएको हो। जीवनका मूल्य मान्यताहरु कसरी बनेका हुन्छन्? यो कुरा हामीले थाहा पाउनुपर्ने बिषय हो।
यस्ता मूल्य मान्यता पहिले त अभिभावक, समाज, शिक्षण संंस्था धार्मिक संस्था, साथीभाइ आदिले बनाइदिएका हुन्छन्। दोश्रो चाहिँ व्यक्तिहरु आफैंले निर्माण गर्दछन्। व्यक्ति आफैंले आफ्नो स्क्रिप्ट लेख्न सक्ने तब हुन्छ जव उसले जीवनका घुम्ती र गोरेटाहरुमा धेरै ठक्कर खान्छ। आरोह अवरोहहरु पार गर्दछ।
तब उसले केही नयाँ अनुभवहरु बटुल्छ। यही अनुभवहरुको आधारमा आफू र अरुहरु पनि कसरी चल्ने भन्ने सवालमा नयाँ मूल्य र मान्यताहरु बनाउन सक्षम बन्दछन्। यसैकारण हामीलाई पुर्खाका अनुभवहरु र नयाँ पुस्ताका अनुभवहरुको गठजोड चाहिएको हो। जसबाट नयाँ मूल्य मान्यताहरु बन्दै जान्छन्।
जसको कार्यान्वयनबाट समाज बदलिन्छ, संसारको रुप फेरिन्छ। समाज निम्न स्तरबाट उच्च स्तरमा स्तरीकरण हुँदै गैरहेको हुन्छ। समाज ढुंङ्गे युगबाट आजको युगसम्म यसैगरी आउन सक्षम भएको हो। मैले यहाँ अलि फरक कुरा बताउन लागेको हुँ।
यहाँ म कसरी कम्युनिष्ट सिद्धान्त र बिचारप्रति आकर्षित भए भनि लेख्न खोजेको हुँ। यो मेरो जीवनको पहिलो स्क्रिप्ट थियो। यसमा मेरो जीवनका सम्पूर्ण बैंशालु उमेरहरु पनि खर्चेको छु।
बाल्य काल
म तीन चार कक्षा सम्म पढ्दा मेरो मामा घर सिन्धुपाल्चोक साबिक बाह्रबिसे गाउँपालिका पलातीमा बसेर ठूलोपलातीमा भएको तत्कालीन श्री क्षेमादेबी प्रा.बि.सापाचउर स्कुलमा पढ्ने गर्दथे। मेरो मामाघरको हजुरबुवा निकै खरो स्वभावको भएतापनि सायद कम्युनिष्टलाई मन पराउनु हुँदो रहेछ।
उहाँका जीवनका मूल्यमान्यता पनि यस्तै थियो। आफू पनि खुब शारीरिक परिश्रम गर्ने र अरुले पनि यसै गरोस भन्ने चाहना राख्नुहुन्थ्यो। दिनभर गाइगोरु कोलेको चउरमा चराएर दुइ तीन बजेतिर बस्तु बाध्नु हुन्थ्यो।
आएर पिँढीमा गुन्द्री विछ्याई केही बेर सुस्ताउने सिलसिलामा माओको रेड बुक पल्टाएर यसो पढ्नुहुन्थ्यो। हामी केटाकेटी आँगनमा खेलिरहेका हुन्थ्यौं। हजुरबाले हेर नानी हो! चीनका माओत्सेतुङ्गले अमेरीकालाई कागजी बाघ हो भनेका छन्, भनि सुनाउनुहुन्थ्यो। अमेरिकी साम्राज्यवाददेखि मलाई त्यतिखेरै देखि घृणा उत्पन्न भएको थियो। यद्यपि साम्राज्यवादको अर्थ भने म बुझ्दिन थिएँ।
अरनिको राजमार्ग र सुनकोशी जलविद्युत योजना त्यसैबेला बनिरहेको थियो। पलातीबाट मेरो घर टेकानपुर जाने आउने क्रममा अरनिको राजमार्गमा भीरमा डोरीमा झुण्डिएर पहरामा होल खोपीरहेका चीनीयाँहरु र सुनकोशी योजनामा काम गरीरहेका उनीहरुलाई देखेको थिए।
त्यसबेलाका चिनियाँको कामदार हो, को इन्जिनिएर हो? हामीले छुट्याउन सक्दैनथ्यौं। सबै उतिकै रफ्तारमा काम गरिरहेका हुन्थे। उनीहरु कपडामा कुहिना, घुडा र चाकमा नयाँमा नै टालेर तकिएको कपडा पहिरिन्थे। जसबाट कपडा लामो समय टिक्दथ्यो।
फारोतिनो गरी आफ्नो देश बनाउ भन्ने आह्वान अध्यक्ष माओको थियो क्यार त्यो समयमा! सबैका कपडा एउटै निलो जिन्सबाट बनेको हुन्थ्यो। अति नै मेहनती र अनुशासित थिए त्यस बेलाका चाइनिज। यसले मेरो कलिलो दिमागमा कम्युनिष्ट भनेका निकै राम्रा मानिस हुने रहेछन् भन्ने प्रभाव पारेको थियो।
चिनियाँ ब्रान्डका त्यतिखेरको सामानहरु पनि निकै टिकाउ हुने खालको र सस्तो पनि थियो। शनिबारका दिन बाह्रबिसे खुर्सानी बारीमा बेलुकी पख देखाउने सर्कस हेर्न गाउँगाउँबाट मानिसको घुइँचो लाग्थ्यो।
यस्तो मनोरन्जनको कार्यक्रम निकै रोचक र उत्कृष्ट हुन्थ्यो। हामी केटाकेटीलाई त के चाहियो र! भरपुर मनोरञ्जन लिन्थ्यौं। मनोरन्जनको कार्यक्रम सकिएपछि उनीहरुले चीनीयाँ प्रकाशनका पुस्तक र पत्र-पत्रिकाहरु सबैलाई बाड्दथे ।
यस्ता प्रकाशनहरु नेपाली भाषामा लेखिएको हुन्थ्यो । सायद म मात्र हैन त्यतिखेरको वाताबरणले थुप्रै सर्बसाधारणलाई कम्युनिष्ट प्रति हेर्ने दृष्टिकोण निकै नै सकारात्मक बनाएको थियो। त्यतिखेर चीनमा माओत्सेतुङ जीवित थिए र नेपालमा राजा महेन्द्रले शासन गर्दथे।
२०२८ शालमा म कक्षा ६ मा पढ्न श्री शारदा हाइस्कुल बाह्रबिसेमा झरे। यसबखत यस बिद्यालयका पूर्व बिद्यार्थीहरुसमेतको एउटा टिम कम्युनिष्ट बिचारप्रति आकर्षित भएका रहेछन्। यसमा क. अमृत बोहरा पनि हुनुहुन्थ्यो।
भेटघाट छलफलहरु रातमा हुन्थे सायद। यसको आवास भने सानु भएपनि मैले पनि प्राप्त गरेको थिए। २०२८ सालको अन्त्य वा २०२९ लागेपछि हुनुपर्छ एक दिन काका अमृत बाेहाेराले स्कूलको टिफिन टाइममा बाह्रबिसेको एक होटलमा मलाई बोलाई चीया बिस्कुट खुवाउनुभयो।
त्यसबेलाको ल्गुकोज बिष्कुट निकै गुलियो र उत्कृष्ट थियो। म केटाकेटी न परे निकै खुसी भएँ। त्यसको केही दि पछि काका त्यता कतै देखिनुभएन। उहाँ त भूमिगत हुनुभएको रहेछ। त्यो कुरा म ठूलो भएपछि मात्र थाहा पाएँ।
उहाँको व्यक्तित्व र माया गर्ने शैलीले म निकै प्रभावित भएको थिए। तर उहाँलाई निकै लामो समयसम्म कहिले पनि भेट भएन। दाजु भोला (सानीमाको छोरा) बोहरा र म कहिलेकाँही कुरा गर्दथ्यौं, “कुनै बेला अमृत काकाहरुको पनि समय आउने छ।” यो हाम्रो कलिलो बेलाको अड्कल थियो। राजनीति हामीलाई यसबेला सम्म केही पनि थाहा थिएन।
२०३३ सालतिर स्कुल लेभल सकिने बित्तिकै म गाउँको प्राथमिक विद्यालयमा पढाउन शुरु गरिसकेको थिए। यसबेलासम्म म कोकेको राजनीतिक लाइनमा आकर्षित भइसकेको थिएँ। हाम्रो एउटा टिम थियो।
त्यो टिममा कापिङका लालप्रसाद न्यौपाने, चिम्लिङ बेसिका नोमराम पराजुली, राम्चेका बीन्द्र ढकाल र म चार जना साथी थियौं। हामी प्रत्येक शनिबार जसो लामूसाङ्गुमा भेटघाट गर्दथ्यौं। हाम्रो गफ गर्ने थलो लामूसाङ्गुको बसन्तपुर पिप्लाको रुखमुनी हुने गर्दथ्यो।
टिमको लिडर चाहिँ लालप्रसाद हुनुहुन्थ्यो। त्यो समय पिप्लाको रुख पारी थियो। खोलाले बाटो फेरेकोले अहिले वारि आइपुगेछ। त्यो रुख मुनी बजारबाट अलि टाढा पर्ने भएकाले एकान्त हुन्थ्यो।
हामीले आफ्नो गाउँठाउँमा बिचारको प्रचार प्रसार गर्ने काम निकै गोप्य रुपले शुरु गरेका थियौं। पछि बेला बेला हामीलाई प्रशिक्षण गर्न एबिन्द्र न्यौपाने र अजुर्न कार्की पनि आउनुहुन्थ्यो। भेटघाट एकान्त ठाउँ र कहिलेकाहिँ जंंगलमा पनि हुन्थ्यो।
पछि एबिन्द्र न्यौपाने घरमै आउन थाल्नुभयो। २०३४ सालको अन्तमा एक रात एबिन्द्र न्यौपानेले एक जना साथी लिएर आउनुभएको भएको रहेछ। उहाँनै कोकेका भूमिगत नेता हुनुहुँदोरहेछ। उहाँ ललितपुर जिल्लाका माधव पौडेल हुनुहुन्थ्यो।
यो कुरा हामीलाई धेरै पछि मात्र थाहा भयो। त्यसबेला हामी उहाँलाई जगत नामले चिन्दथ्यौं। यो पार्टीको भूमिगत नाम थियो। भूमिगत शैली अनुसार त्यतिखेर व्यक्तिका बारेमा कुनै सोधखोज गर्न नपाइने नीति थियो। उहाँ किसान फाँटमा काम गर्न निकै निपूर्ण हुनुहुन्थ्यो।
नख्खु जेल ब्रेक गरेर आएको हुनाले उहाँलाई खुल्ला हिँड्ने छुट पनि थिएन। परिवेस र बाध्यताले सायद उहाँलाई धेरै कुरा सिकाएको थियो। उहाँको प्रशिक्षणले हामी घरमा भएका सम्पूर्ण परिवार नै पार्टीको काममा आबद्ध भयौं। हाम्रा नाता गोता र सबैतिर पार्टीका बिचार प्रचार प्रसारमा लागियो।
पार्टीको काम गर्दा गोपनीयतालाई निकै गम्भिर रुपमा लिइन्थ्यो। यसैले शुरुमा मन मिल्ने साथीभाइ, यसपछि मावली, ससुराली र उनीहरुका पनि नजिकका नातेदारसम्म राजनीति पुर्याउने काम गरिन्थ्यो। बुवा मितेरी साइनो पैल्याउदै याङ्गलाकोट जस्तो घना तामाङ बस्तीमा पनि पुग्नुभयो।
उता बीन्द्रजी राम्चे मानेस्वारा र आफ्नो गाउँठाउँमा निकै खट्नुभयो। नोमरामजीको आफ्नै एरिया थियो। लालप्रसाद न्यौपाने पनि निकै खट्नुभयो। उहाँको आफ्नै एरिया थियो। एबिन्द्र न्यौपाने डाडा पाखरको आफ्नो जागिरको सिलसिलामा पनि सबैतिर बिचारको प्रचार प्रसार गरेरै हिड्नुहुन्थ्यो।
२०४० शाल सम्म सिन्धुपाल्चोकको क्षेत्र नंं १ मा भित्र भित्रै निकै चहलपहल शुरु भैसकेको थियो । राजनीति भूमिहिन गरिव किसान र निम्न बर्गहरुमा पुर्याउन हरदम कोसिस गरिन्थ्यो। गरिवहरुप्रति माया र शोषण र शोषकहरु प्रति घृणा जगाउने काम खुव हुन्थ्यो।
बर्गीय आन्दोलन राजनीतिको केन्द्र थियो। यसको लागि त्यस बेलाका प्रगतीशिल तप्काले निकालेका झिसमिसे संकल्प, जस्ता पुस्तक आकारमा निस्कने मासिक पत्रिकाहरु थिए। चिनियाँ चित्र कथाहरु र मोदनाथ परिश्रितले लेख्नु भएको मोनेरा देखि मानव सम्म, नारी बन्धन र मूक्ति, देवासुर संग्राम जस्ता पुस्तकहरु मुख्य खजना थिए।
यी सबै पुस्तकहरु एउटा, एउटा मात्र भएकाले सबैतिर पुर्याउन सकिँदैन थियो। यसैले मैले यी पुस्तकहरु दुई दुई पटक सम्म हातैले सारेको छु। सबैतिर पुस्तकको माग र आबश्यकतालाई ध्यानमा राखी साथीहरुले मलाई यो जिम्बेवारी दिनुहुन्थ्यो।
मेरो अक्षर राम्रो र छिटो पनि लेख्ने भएकाले त्यो समय यो जिम्बेवारी पाउनु स्वभाविक थियो। अलि परिक्व भैसकेकालाई पार्टीको मुखपत्र बर्गसंघर्ष र मुक्तिमोर्चा पनि पढ्न दिइन्थ्यो। जनवादी गीतहरु गाएर पनि प्रभाव पारिन्थ्यो।
पिस्कर हाम्रो राजनीतिको केन्द्र बिन्दु थियो। जहाँ कमरेड माधव पौडेलले निकै मेहनतकासाथ आधार क्षेत्र बनाउनुभएको थियो । यो अमृत कमरेडको आफ्नो गाउँ पनि हो।
राती राति खुव हिँडिन्थ्यो। कहिले चकचुम्माको सेल्टर (तारा थामी दिदीको घर) मा लालप्रसाद, नोमराम जी, बीन्द्र र म राति जम्मा हुन्थ्यौं। माधव पौडेलले हामीलाई त्यहाँ बोलाउनु भएको हुन्थ्यो। एकपटक कापिङको मिजार बस्तीमा राती हामी जम्मा भएका थियौं।
त्यहाँ अमृत कमरेड पनि आउनु भएको रहेछ। क. माधव पौडेल, एबिन्द्र न्यौपाने, लालप्रसाद, नोमराम र म थियौं। त्यहाँ निकै जरुरी महत्वपूर्ण मिटिङ भनिएको थियो। कमरेड अमृतले हामीलाई केहि सल्लाहा र छलफलकालागि बोलाउनु भएको रहेछ।
राति दुई बजे मिटिङ सकेर क. माधव पौडेल र म टेकनपुरकालागि हिँड्यौं । जंगलमा बाटो हरायो । माधव पौडेलले खुट्टाले छाम्दै बाटो पत्ता लगाएर अगाडि बढ्नु भएको थियो। म पछि पछि थिए। लाइट बाल्न नमिल्ने। जंगलको बीचमा एक ठाउँमा खुट्टाले छाम्दा निकै तलसम्म जमिन भेटिएन भन्नुभयो।
त्यताबाट बाटो बदली अर्को ठाउँबाट जंगल पार गरी घर आउँदा विहानी पख भैसकेको थियो। पर्सिपल्ट दिउँसो लामोसाङ्गु जाने क्रममा घट्टे डाँडाबाट पारी हेर्दा उहाँले खुट्टा भासियो भनेको ठाउँ त भयंंकर छहरा नीर पो रहेछ।
त्यताबाट खसेको भए ज्यान झिरिप हुने पक्का थियो। कहिले गाउँमा साथीभाइकहाँ राति गफ गर्न जाने गरिन्थ्यो। राति राति घरमा नबस्ने भएकाले मैले भर्खर बिहा गरेको नव दुलहीले मलाई शंंका गर्न थालीसकेकी थिइन्। पछि उनलाई पनि सम्झाइयो र सबै ठिक हुँदै गयो।
आजकल गीत सुन्नकालागि प्रयोग हुने रिलवाला क्यासेटको कुरा गर्दा पनि अनौठो लाग्न सक्छ। किनकि एउटा मोवाइल नै न्यूज सुन्न, गीत सुन्न सबै कामकालागि काफी छ। तर त्यो बेला मोवाइल नभएकाले गीत सुन्नकोलागि उत्कृष्ट साधन क्यासेट प्लेएर नै थियो।
त्यो समय एक दिन एक्लै लामी डाँडाँ कापिङ पल्ला छेउ पहरी बस्तीबाट क्यासेट प्लेएर काधमा हालेर खोलाको बाटो पार गरेर उकालो आएँ। घरमा आइपुग्दा बिहानीको चार बजीसकेको थियो। जनताको गीत सुनाएर पनि त्यसबखत जनतामा प्रभाव पारिन्थ्यो।
पार्टीले किनेको क्यासेट प्लेएर आफु कहाँ पालो आइपुग्न समय लाग्ने भएकाले मैले त्यतीखेर खेत बेचेर पनि एउटा क्यासेट प्लेएर किनेको थिए। तीन पाथी धानको बीउ जाने खेतको मूल्य र नेसनल पानासोनिक क्यासेट प्लेएरको मूल्य त्यतिखेर बरावर थियो।
स्कूलवाट आएको तलब पनि धेरैजसो पुस्तक किनेर सकिन्थ्याे। माक्र्स लेनिन र माओका कृतीहरु ल्याएर पढिन्थ्यो। त्यसबखत भोटाहिटीमा निरन्जन गोबिन्द वैद्य दाजुको एउटा प्रगतिशिल पुस्तक पसल थियो। पछि त बाङ्गेमुडा र पुतलीसडकमा पनि यस्ता पसल खुलेका थिए। त्यसबखत पठन संस्कृति निकै फस्टाएको बेला थियो।
घर सम्पत्ति र बालबच्चा भन्दा पार्टी प्यारो थियो। घरको काम भन्दा जनताको बीचमा गरिने राजनीतिक काम महत्वपूर्ण लाग्थ्यो। त्यस समय एउटै लक्ष्य हिँडेको भएर होला कामरेडली मायाँ र आत्मियता निकै गाडा थियो। हामी सबैको प्रयासले समाजवादी समाज छिट्टै आइपुग्छ भन्ने लाग्थ्यो।
यसैले सर्बसाधारण जनता र कम्युनिष्ट समर्थक जनता कहाँ गाउँगाउँमा पुग्दा आत्मियता र बर्गीय मायाँको भाव गाडा बनेको हुन्थ्यो। त्यस्तो जनवादी र समाजवादी समाजमा पुग्ने प्रकृया चाहि कसरी हो? त्यो चाहिँ हामीलाई थाहा थिएन।
भएपनि त्यो किताबी र सतही ज्ञान मात्र थियो । यो सबै केन्द्रिय तहका उच्च नेताहरुलाई पक्कै थाहा होला भन्नेमा हामी बिस्वस्त थियौं। यसैले नेताहरु प्रति हाम्रो बिशेष सम्मान थियो र आफू मरेर भएपनि नेतृत्व बचाउनुपर्छ भन्ने भावना हुन्थ्यो।
छलकपटको गुन्जायस कहीँ कतै थिएन। माओको रेडबुकमा लेखिएको तीन नियम र ध्यान दिनुपर्ने आठ कुराहरु हामीलाई कण्ठ थियो। यसमा जनतासँग कस्तो ब्यबहार गर्नुपर्छ भन्ने कुरा प्रष्ट लेखिएको छ।
त्यस बेला किसान फाँटमा काम गर्ने कुरामा माधव पौडेल निकै अगाडि हुनुहुन्थ्यो। पार्टीको मूख्य नीति पनि उहाँबाटै आउथ्यो। बुद्धिजीबी फाँटमा निकै लिड गर्न ताकत राख्ने अर्जुन कार्की हुनुहुन्थ्यो। हरेक कुरामा निकै गहिरिएर बिश्लेषण गर्ने, बिज्ञान सम्बत सोच बनाउन कोसिस गर्ने एबिन्द्र न्यौपाने हुनुहुन्थ्यो। तीनजनाको त्रै-गठजोडले पार्टी राजनीतिको प्रचार प्रशार निकै रफ्तारमा थियो भन्न सकिन्छ।
अरुलाई के लाग्थ्यो? थाहा छैन। तर मलाई यी तीनै वटा व्यक्तिको प्रभाव उत्तिकै परेको थियो। कमरेड अमृत बोहरा केन्द्रीय पार्टी हाक्ने व्यक्तित्व भएकाले सिन्धुपाल्चोकमा पार्टी नेतृत्व गर्ने तहमा मात्र आइपुग्न भ्याउनुहुन्थ्यो। उहाँ हामी सबैको सम्मानित नेता पनि हुनुहुन्थ्यो।
२०३९ शाल ताका सघन पहाडी क्षेत्र बिकास योजना डाडापाखरले प्रौढ कक्षाको तालिम गराई बिभिन्न गाउँमा प्रौढ कक्षाहरु संंचालन गरेको थियो। टेकानपुरमा यस्तो कक्षा मैले संचालन गरेको थिए। हामीलाई नाचगान गर्न डाडा पाखर अफिसले मादल पनि उपलब्ध गराएको थियो।
पढाई सिद्धिएपछि नाचगान हुन्थ्यो। यसमा जनवादी गीतहरु गाइन्थ्यो। यसै क्रममा पनि मलाई जिल्ला सिडिओ कार्यालयबाट पटक पटक झिकाई स्पष्टिकरण लिइयो। कारण टेकानपुरको कृष्ण बोहराले बेलुका बेलुका उग्रवादी शिक्षा सिकाउँछ भन्ने रिपोर्ट पुगेको रहेछ।
त्यतिखेर म गाउँकै प्राथमिक स्कूलको प्र.अ. पनि थिए। एकजना सिन्धुलीतिरको शिक्षक मेरो स्कूलमा पढाउँथे । उनलाई मैले पढ्न दिएको मास्र्कवाद पहिलो पुस्तक चौतारा सिडिओ कार्यालयमा पुगेको पनि रहेछ।
२०४० शालमा पिस्कर काण्ड भयो । यसमा मेरो बुवा जगत बहादुरलाई पनि गोली लाग्यो । उहाँ जेल पनि पर्नुभयो । परिवारका प्रमुख सदस्यहरु बुवा, दिदी, आमा र म समेत जेल पर्यौं। जेल पर्ने हामी प्रत्येकले २ बर्षदेखि ४ बर्षसम्म जेल जीवन बितायौं। घरमा मेरी श्रीमती बिन्दा र दुई नाबालिका २ र ३ बर्षका छोरीहरु मात्र थिए।
उनीहरुलाई पनि प्रहरीहरु आएर धम्क्याउनु धम्काए। रातभरी भरी प्रहरीहरुले घर घेरेर बसेका हुन्थे। गुण्डाहरु कौसीबाट चढेर राति झ्यालबाट भित्र पस्न प्रयत्न गर्दथे। मेरी श्रीमती बिन्दा हातमा खुकुरी लिएर रातभर जाग्राम बस्थिन्। हाम्रो मेलोपातमा आउने खेतलाहरु समेतलाई गिरफ्तार गर्ने र धम्काउने गरियो।
सिन्धुपाल्चोक एमालेको इतिहासमा सपरिवार जेल परेको हाम्रो परिवार मात्र थियो। यसको मूल्यांकन पनि जनस्तरमा राम्रै भएको देख्दछु चित्त बुझाउने ठाउँ के छ भने यो सबै परिणाम हामीले गरेको क्रियाको प्रतिक्रिता थियो।
आफूले गरेको कामको परिणाम त सबैले भोग्नु नै पर्दछ। । तर नेतृत्व तहबाट कुनैपनि मन्चबाट हाम्रो परिवार पिस्कर घटनामा सपरिवार जेल परेको र दुःख गरेको परिवार हो भन्न कन्जुस्याईँ गरेको देखिन्छ। यसबाट भने चित्त कुँडिएकै छ।
किनकि पिस्कर घटनामा एमालेको इतिहासमा सपरिवार जेल पर्ने हाम्रो परिवार बाहेक अरु थिएन। खुट्टा तान्ने संंस्कृति पनि नेपाली राजनीतिक संस्कृतिको प्रयाय नै हो। यसैले मैले चित्त बुझाएको पनि छु।
मैले लेख्न शुरु गरेको दोश्रो स्क्रिप्ट
२०४६ शाल चैत्र २६ गते सम्म बहुदलिय व्यबस्थाकोलागि भएको आन्दोलन सफल भयो। निकै खुसी भइयो। यो खुसी मनोमोहन र मदन भण्डारी जीबित रहुन्जेल कायमै रह्यो। अब चाहिँ जनताका सुदिन आए भन्ने लाग्थ्यो। यसपछि माहाकाली सन्धी भयो।
पार्टी फुटेर माले र एमाले हुदा सही धार माले हो भन्ने लाग्यो। किनकि बामदेव कमरेडले मदन भण्डारीको बहुदलीय जनवाद सम्बन्धमा लेखेको मोटो किताव मैले पढेको हुनाले यसमा केही दम छ भन्ने लागेको थियो।
यो मेरो क. मदन प्रतिको आस्था थियो। क. बामदेवपछि एमालेमै मिलिसकेपछि फेरि एमालेमै समाहित भइयो। तर पनि सन्तोष भएन। अब म आफूले जीवन दर्शन बनाएको मार्क्सवादमा नै कुनै गम्भिर त्रुटी छ कि ? भन्ने लाग्न थाल्यो। यसकोलागि मैले विविध मानिसहरुलाई भेटे। यसै क्रममा मैले रमेश सुनुवारलाई पनि भेट्न पुगे।
मार्क्सवादकाे आधुनिक रुपको सवालमा उहाँको व्याख्या मलाई निकै मन पर्यो। उहाँको नेतृत्वमा एउटा मार्क्सवाद अध्ययन अनुसन्धान प्रतिष्ठान पनि बनेको छ। प्रतिष्ठानले प्रकाशन गरेको केहि पुस्तकहरु पनि अध्ययन गरे।
यो अध्ययनले मेरो जीवन र जगतलाई हेर्ने दृष्टिकोण अलि फराकिलो भयो। तर उहाँमा पनि केही अलमल भए जस्तो लाग्यो। यसका कारणहरु यहाँ स्थान अभावले गर्दा मैले लेख्न सकिन। जीवनको उतरार्धमा भएपनि यस पछि म आफैं मार्क्सवादमा दर्शनको सवालमा निम्न निशकर्षमा पुगें-
-मार्क्सवादी व्याख्या- द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद सत्य हो। यो अपरिवर्तनीय र ध्रुव सत्य छ।
– सर्बहारा बर्गको अधिनायकत्व- संसारका बिभिन्न देशमा सर्बहारा वर्गको अधिनायकत्वको नाउँमा जसजसले शासन गरे त्यो सबै ठाउँमा नाम अनुसार काम भए जस्तो लागेन। सन २०८० को दसकपछि जसरी क्रमबद्ध रुपमा सोभियत संघ र पूर्वी युरोपमा सर्बहाराको सत्ताहरु ढल्यो, यसमा शासकहरुको गम्भिर त्रुटी देखिन्छ।
सर्बहारा बर्गको नाममा शासन गर्न गएका नेताहरु सत्तामा सधैं टासिइरहन चाहेको र जनताको चाहना अनुसार शासन गर्न नसकेको नै देखिन्छ। सोभियतसंंघकलाई अन्तिम समयसम्म नियाल्दा जनता पाउरोटी खान नपाएर भौंतारिइरहेका छन्। शासकहरु ठूलठूला युद्ध सामाग्रीहरु बनाउन व्यस्त रहेको देखिएका थिए।
– बर्गीय सत्ताको सवाल- सत्तामा पुग्ने कुनै पनि त्यस्तो अपरिवर्तनीय बर्गीय प्रतिनिधि छैन जो सधैं सत्तामा बसेर कामदार बर्गको प्रतिनिधित्व गरिरहोस्। बरु यो समय क्रममा अवसरको प्रयोग गरेर उपल्लो बर्गको रुपमा रुपान्तरित हुन पनि सक्छ।
– मानव स्वभाव रमार्क्सवाद- मार्क्सवाद भित्र मानबिय स्वभावलाई पनि ख्याल गर्नुपर्ने अर्को महत्वपूर्ण बिषय हो। स्वभाबैले मानिसमा धन कमाउने लालसा र सुखभोग गर्ने चाहना असिम हुन्छ। यसैले नेता भन्दा नीति नियम र नयाँ बिचारलाई प्राथमिकता दिने गरी संबिधान र ऐन कानुनहरु परिमार्जन गरिनुपर्छ।
जसरी गुरुत्वाकर्षणको नियम अनुसार सूर्यको वरीपरि ग्रहहरु घुम्छन्। यो बाध्यात्मक पनि छ। त्यसैगरी नेतादेखि जनतासम्म नीति नियमको वरीपरि घुम्ने वातावरण बनाइनुपर्दछ। अथवा हामीलाई उहिलेको दिनहुँ दम दिइरहनु पर्ने घडी हैन, अटोमेटिक आफैं चल्ने र समय दिइरहने घडी चाहिएकोछ।
-मार्क्सवाद केहो ?- मार्क्सवाद भनेको श्रम सम्पत्ति र सत्ताको सन्तुलनको सिद्धान्त हो। यसको अर्थ श्रम गर्नेको स्वामित्वमा सम्पत्ति हुनुपर्छ। यसको संरक्षण राज्यले गर्नुपर्छ भन्ने हो। यो नै राज्य संचालन गर्ने बैज्ञानिक बिधि र पद्धति हो। यसो भयो भने राज्यमा अमनचयनको वातावरण कायम हुन सक्छ।
– उत्पादक शक्तिको सवाल- मार्क्सले भन्ने गरेको उत्पादक शक्ति मजदुर किसान नभएर अव बिज्ञान र प्रबिधि उत्पादक शक्तिको रुपमा रुपान्तरण हुने क्रम जारी छ। मानव श्रम मूक्त उत्पादनको रस्वस्वादन गर्न सकिने दिन नजिकै आइसकेको छ।
यसको फलस्वरुप मजदुर र किसानलाई अव क्रान्तिकारी शक्ति मान्न नसकिने भएको छ। किनकि यसको आकार अव खुम्चिएर सानो हुँदै गइरहेको छ। कुनै पनि देशको सामाजिक, आर्थिक र राजनीतिक बिषयलाई प्रभाव पार्ने शक्ति बिज्ञान र प्रबिधि हो। यसको भरपुर प्रयोग गरिनुपर्छ। आवीस्कारको ढोका सधैं खोलिनुपर्छ।
अर्थतन्त्रको सवाल- राज्य नियन्त्रीत अर्थतन्त्र विश्वमा कम्युनिष्टहरुले अपनाइसकेकाे र फेल भइसकेको आर्थिक मोडेल हो। यसको बदलामा सामुदाय केन्द्रित अर्थतन्त्रलाई स्थापित गर्दै जानुपर्छ। किनकि समूदाय भनेको हाम्रो प्राचिन संरचना हो। समुदायकोलागि गर्ने काममा सबै लागिपर्ने हुन्छन्। अथवा अहिलेकोलागि अवस्था र बस्तुस्थिति हेरी निजी, सामुदायिक र राज्य तहको मिश्रित मोडेल पनि बनाउन सकिन्छ।
माथिका बुँदाहरुमा मैले छुट्टा छुट्टै लेखहरु लेखेको पनि छु। जुन बिभिन्न पत्र-पत्रिकामा प्रकाशित भइसकेको छ।















Facebook Comment