यात्रु बस दुर्घटना हुँदा १६ जना घाइते

डिसी नेपाल
२६ वैशाख २०८३ २१:३९

मध्यविन्दु (नवलपरासी)। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन्।

पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना७ख ५८२० नम्बरको यात्रुवाहक बस बस आज साँझ करिब ७ः०० बजे अनियन्त्रित भई सडकको दाँहिने किनारातर्फ पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तले बताए।

घाइतेहरुलाई उद्धार गरी उपचारका लागि चिसापानी अस्पताल बर्दघाट पठाइएको छ। बसमा ३१ जना यात्रु सवार रहेकामा अन्य यात्रु सकुशल रहेको प्रहरी नायब उपरीक्षक पन्तले जानकारी दिनुभयो। दुर्घटनामा घाइते भएका अधिकांश यात्रुको हातखुट्टा, टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। घाइतेमध्ये केहीको अवस्था मध्यम र अधिकांशको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा कास्की, नवलपरासी, कैलाली, तनहुँलगायत विभिन्न जिल्लाका यात्रु घाइते भएका छन्। एक जना विदेशी नागरिक पनि सामान्य घाइते भएको प्रहरी नायब उपरीक्षक पन्तले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *