कविता : पतन

प्रकाशचन्द्र खतिवडा
१६ फागुन २०८२ ८:०४
1.6k
Shares

बाटो थिएन
गन्तव्य टेक्नलाई
तथापि उ निराश थिएन
उसलाई गन्तव्यहीन यात्री बनाइएको थियो
बाटो अवरुद्ध पारी
सैतान हाँसिरहेको थियो।

हजारौं मायलको दूरी पार गर्नु छ उसले
तिम्रो अवरोधले रोकिने छैन ऊ
तिम्रा पर्खालहरु भत्काएर
यात्रा गर्नेछ ऊ।

म उसको समर्थनमा
नारा बाजी गर्ने छु
मलाई गिरफ्तार गर
र ठिङ्गुरा ठोक
म मारिन तयार छु
ऊ मेरो आस्था हो
मलाई सह्य छैन
यात्रा अवरोध
र अवरुद्ध बाटो।

म राता कितावहरु बोकेर
यात्रामा समाहित भएको छु
राता किताबहरु
जसले क्रान्ति सिकाउँछ
हामी क्रान्तिको राँको सल्काउँदै
तिम्रा विरुद्ध
एकतृत हुने छौ
खोसिने छ तिम्रो आसन
तिमी धूसरित बन्ने छौ
सडक किनारामा घसारे पछि।

इतिहासका काल खण्डहरुमा
तिमी पढिने छौ
निरंकुशताको प्रतीक
ढालिनेछ तिम्रो शालिक
राखिनेछ म्यूजियममा
भावी पुस्तालाई
क्रुरताको इतिहास पढाउन।

हामी मारिन सक्छौ
हाम्रो आस्थामा टेकेर
अर्को क्रान्ति हुने छ
क्रान्ति रोकिने छैन
स्वरुप परिवर्तन हुन सक्छ
सुरक्षित छैन साम्राज्य
निश्कलंक छैन सम्राट
तिम्रो बहिर्गमन नभए सम्म
जारी रहन्छ क्रान्ति।

उठाइनेछन् झण्डा
बजाइनेछन् विगुल
घन्काइनेछन् नारा
लड्ने छन् योद्धा
गाइने छन् मुक्ति गीत
तिम्रो पतन निश्चय भए पछि।

सुन्दरहरैंचा-०६, दुलारी, मोरङ

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.