कविता : भद्रकाली

प्रकाशचन्द्र खतिवडा
५ वैशाख २०८३ ७:३८
8
Shares

भद्रकाली गन्तव्यहीन भएको छ
मूर्त हुन सकेन उसको सपना
एउटा दिन मरेर जान्छ
भद्रकालीको विपना खोसेर
उ हलीया मजदुर हो
मालिक उसको पसिना लुट्छ
जिन्दगी जोतिरहेको छ भद्रकाली
बुढी आमा
अनि स्वास्नी छोराछोरीको
कुण्ठित अभीष्ट पूरा गर्न।

मुजा परेको अनुहार
चरचरी चिरिएको कुर्कुच्चा
ठेला उठेको हात
थाङ्ने ज्वारीकोट
झुत्रे टोपी
टालेको दौरा सुरुवाल
भद्रकालीको सकली रुप
फिस्स हाँस्दै सुस्केरा छोड्छ
जिन्दगीको हिसाब किताब खोज्दै।

निरक्षर भद्रकाली
लुटिएको थाहै पाउँदैन
भगवानमा भरोसा राख्दै
कर्मलाई भावी सँग दाँज्छ
जिन्दगी बाँधिरहेछ जोतारोले
कहिल्यै फुकाउन नसकिने गरी।

सोइला छातीमा बज्रन्छ
हल्लुड जस्तो तानिएर
दुःखको जिन्दगी तन्काउँदै
आयु नापिरहेछ भद्रकाली
तीन बीसै हिउँद कटाएर।

बावुको अनुहारै नदेखेको
आमा दमले थलिएकी
छोरा छोरी सुकेनाशले ख्याउटिएका
जहान रक्त अल्पताले सताइएकी
भद्रकाली गानो गोलाले पीडित
देवी देउता भाखी
झाक्री बोलाउँछ
बोक्सीको दोष देखाई
झाक्री भाले खान्छ
दुःख विमार बिसेक हुँदैन
भद्रकाली पुर्पुरोमा हात राखी
कर्मै खोटो भनी चित्त बुझाउँछ।

भद्रकाली !
तिम्रो कर्म खोटो होइन
भाग्यवादको त्राश देखाई
तिम्रो मालिक
तिमीलाई दाउँछ
मुखिनी कड्किन्छिन्
सिकुवाको डिलमा निस्तो बासी भात राखी दिएर
मालिक र मुखिनी मासु भात खान्छन्।

राम्रो लाउने मिठो खाने
चाहना अधुरै राखी
आमाको प्राण पखेरु उड्छ
भद्रकाली टुहुरो बन्छ
आमाको लाश संग माफ माग्दै
आफूलाई पूर्व जन्मको साहु सँग तुलना गरी
सुख दिन नसकेकोमा
गह भरी आँसु पार्दै
पाप बाट मोक्ष प्राप्तिका लागि
जम्ला हात जोडी क्षमा याचना गर्छ
जहान रुन्छे
छोरा छोरी रुन्छन्
घरमा सन्नाटा छाउँछ
भद्रकाली चिउडो समाई टोलाई बस्छ
आफूलाई जिउँदो लाश ठानी।

भद्रकालीलाई जिउँदो लाश बनाइएको छ
उसको जिजीविषा लुटेर
मालिक आलिशान महलमा बस्छ
भद्रकालीको आफ्नै टहरो छैन
झरी बादलमा मुन्टो लुकाउने
मालिक मिठो खान्छ, राम्रो लाउँछ
भद्रकालीलाई सधै अनिकालले डाम्छ
झुत्रे लुगा उसको पहिचान बन्छ

भद्रकाली!
अब तिम्रो धैर्यता टुट्नु पर्छ
तिमीले अब हेपिनु हुन्न
मालिक विरुद्ध मुख खोलिनु पर्छ ।

सुन्दरहरैंचा -०६, दुलारी, मोरङ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *