मायाँ नै मायाँ छ तिम्रो नाउँमा…

हृषीकेश
५ वैशाख २०८३ ७:३३
16
Shares

“No other word makes my mouth as tender as your name.”
—- Emery Allen, “Soft Human”

हर बाटाहरू तिमी मै पुग्छन्…
मेरा हर बाटाहरू
तिमी मै…
म हिँडेका हर बाटाहरू
पुर्‍याउँछन्…
हो! मलाई
तिमी मै…

बेजोड दौडँदै सुरु भएको संगीत छमछम नाच्न थाल्दछ। प्रेमको रातो रङमा रङ्गिएको एक ‘रोम्यान्टिक’ गाडी हरियो पर्वतको पृष्ठभूमिको काखमा नागबेली बगेको सफा-चिटिक्कको सडकको मोडबाट अगाडि दृश्यमा देखापर्छ!

यो ‘रोम्यान्टिक’ गाडी ‘विल्लीज जीप’ होला सायद। ‘रोम्यान्टिक’ यस अर्थमा कि गाडी पुरापुर ह्वाङह्वाङती खुल्ला छ; प्रेमले आफैँसँग बोकी ल्याउने केही अल्लारे-‘आवारगी’ पनि साथैमा छ नछुटाइकन चित्रित यस गाडीको प्रयोगको संकेत भएर।

सायद यसै ‘पर्पस’को अभिव्यक्ति खातिर यो ‘विल्लीज जीप’को प्रयोग यहाँ निर्माण पक्षबाट ‘इन्टेन्सनल’ छ…त्यसमा थपेर अगाडि दृश्यमा नायकको गाडी भरी अनि वरिपरि पनि प्रेमनृत्य…सबै तिर प्रेम पुरापुर-भरपुर पोखिएको छ यहाँ..ओह्हो!

ती हरिया खेतका फाँट, गाउँका रंगीचंगी पातला घरबस्ती, अनि तिनलाई छिचोल्दै अघि बढेको त्यो नागबेली सडक, अनि त्यसरी बगेको राजमार्ग माथि सुस्तसुस्त झुम्दै उस्तै बगिरहेको उही गाडी …धेरै कुरा, पक्ष र दूरदृष्टिले विचार गरिएको हुनुपर्छ गीतको निर्माण हुँदा सायद! सबै ‘रोम्यान्टिक’…

एक सर्वाधिक सफल संगीतकार शम्भुजित बाँस्कोटाको त्यसपछि हृदय छमछम नचाउँदै प्रेमको खुसीमा गीत सुसेली झुम्न थाल्छ।

र, यस प्रेमरंगी रसिक गाडीको दौडसँगै प्रेममा ओतप्रोत दौडिरहेको यो साह्रै मिठो संगीतमा बहेर उदितनारायण झाको खुसमिजाजी गलाबाट नाच्तै निस्कने स्वर, पिरतीको यो गाडीमा नायक दिलीप रायमाझीको सीटमा उभी-उभी पछाडी फलामे फ्रेममा अडिएर हात फैलाउँदै अगाडि वातावरणमा प्रेममा बहेको प्रेमित भावको प्रफुल्लतामा झुमेको गीत त्यसपछि दौडन लाग्छ:
“हे…हे… हे…
हो..ऽ..हो…
हुँ…ऽ… हुँ…ऽ…हुँ……
गीतकार उज्ज्वल घिमिरे प्रीतको रोमाञ्चक खुसीमा मिलनको उत्साही गीत बनी बादल माथि माथि फुरुङ्ङ छमछम खुब मादलु नाचिरहेछन्,

“मायाँ नै मायाँ छ
तिम्रो नाउँमा

नाउँमा किन मायाँ हुन्छ हँ? नाउँमा नै किन यत्ति धेरै मायाँ हुन्छ? नाम नै किन यत्ति विधि उत्पात मन पर्छ? किन? नामले नामी बोक्छ। नामले नामधारी व्यक्तिको विराटता फैलाउँछ। नामी प्रतिको गहिरो मिठो प्रेम नाममा उक्लिएको हुन्छ-उठेको हुन्छ। व्यक्तिबाट नाममा प्रीत फैलिएको हुन्छ।

अनि? अनि त अनि नामबाट फेरि उता व्यक्तिमा यही प्रीत फर्कन्छ अनि फेरि फर्कन्छ यता हृदयमा अनि फैलन्छ अगाडि प्रेम प्रेमीको प्रेमित दृष्टिबाट दृश्यमा-वातावरणमा…हाकाहाकी…तब त जून पनि उनी तारा उनका मोतीदाना केशसज्जा, मनोहर नदीनाला उनी, तिनका छङछङ उनी, तिनका छङछङ संगीत उनी-तिनका वीणा छङछङ संगीत उनी, गीत उनी संगीत पनि, गजल उनी, प्रेमकविता उनी… हरित वन उनी, सुरम्य पाखापखेरा उनी, झलमल्ल हाँसिरहेकी सुवर्णमयी हिमाली, रम्यश्री मुस्कान उनी…सिंगाे प्रकृतिको कोमलता उनी… सर्वत्र प्रेम उनी…

यसरी सर्वत्र फिँजिएकी विराट प्रेम समेटेकी प्रतीक; नाम! उनको नाम। नाम उनको!
त्यो नाम र यो हृदयको आफ्नै छ नाता, एक अति सघन नाता।
अपरिभाषित!
‘इन्टेन्स’! अति ‘इन्टेन्स’। ‘इन्टेन्स’ बडा!
त्यो नाम र यी धड्कनको आफ्नै हुन्छन् कहानी-कथा!
बस! त्यै नाममै हृदय ढक्क फुल्छ। फुल्छ अनि बढेको धड्कन ढकमक्क फुल्छ अनि हृदय हुँदै मन अनि मस्तिष्कको मग्नता दिलाउँदछ। जब मस्तिष्क मग्न, भित्री आँखा मग्न त फर्किएर अगाडि सारा वातावरणमा माधुर्य, प्रीतको मधुरता…

“तिमीलाई भेट्न
आउँदैछु
तिम्रो गाउँमा

यस्ती नाउँ मै मायाँ नै मायाँ भएकी तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा। हर बाटाहरू, हर गल्लीहरू तिमी मै पुग्छन्, तिमी मै लय हुन्छन्! हो तिमी मै पुर्याउने यिनै बाटाहरू पछ्याउँदै तिमीलाई भेट्न म आउँदैछु तिम्रो गाउँमा…ओह्हो! यो रोमाञ्चक उत्साह : प्रेम भेट्न। प्रेम भेट्ने खयाल मात्रले…रोमाञ्चको यो उत्कर्ष…ओह्हो!

उत्कृष्ट कलाकार दिलीप रायमाझीको बेजोड अभिनय रहेको नेपाली कथानक चलचित्र ‘जिन्दगानी’को यस प्रेमगीतमा प्रेममा चुर्लुम्म डुबेका प्रेमी प्रेमको रोमाञ्चक उत्कर्षमा पिरतीको बादल माथि गीतकार र संगीतकारद्वयको छमछम नाच्न वाध्य तुल्याउने घटनमा यी नायक आफैं मग्नमस्त पुरै झुमेर नाचेका छन्, यस्तो लाग्छ यी कसैको प्रेमावस्थामा पेशा अन्तर्गत काम गर्दैछैनन्, बरु यी आफैं गीतकार र संगीतकारको प्रेमको सीमाहीन उत्साह र उत्सुकतामा एकाकार भएका छन्, एकबद्ध भएका छन्, एकलय भएका छन्, एउटै भएका छन्; मानौँ यो यिनको आफ्नै प्रेमोत्साहमा हृद्बाट स्वस्फूर्त सैलाब भई दृष्टिमा दर्शित प्रेमनृत्य हो!

प्रणय-नृत्यंगत आफ्नो मिठो अभिनयबाट यिनले यस प्रेमगीतलाई गज्जब न्याय गरेका छन्। त्यसमा झन् मिठास भरेका छन् दिलीपका प्रेममा भरपुर साथ दिने साथी ती साइड हीरोले अनि सुन्दर नायिका करिश्मा मानन्धरजीको गीतलाई पूर्णता दिन थपेर सुनमा सुगन्ध… सुन्दर अभिनय…

“मायाँ नै मायाँ छ
तिम्रो नाउँमा
तिम्लाई भेट्न
आउँदैछु
तिम्रो गाउँमा

“प्रीति नै
प्रीति छ
तिम्रो ठाउँमा…

प्रीत भएको क्षेत्र नै सबै प्रीतिकर!

जहाँ प्रीत छ त्यो प्रीत भएको ठाउँ नै सिंगाेसारा प्रीति नै प्रीति। ती ढुंगा, ती चट्टान, पाखा, ती पखेरा, भिर, ती खोला, नाला, ती वन-जङ्गल… रूख भित्र नदेखिने गरी निरवच्छिन्न प्रेमराग गाईरहने ढुकुरका ‘नोस्टाल्जिक’ ढुकुर…कुर… ढुकुर…कुर… वसन्तदूत कोइलीका आह्हाह्हा ती मिठा गीत अनि घरधुरी-आँगनमा नाचिरहेका परेवाका घरगाउँका मिठो गहिरो महत्त्व-चौडा अर्थ वयान गरिरहेका अनवरत संगीत… ती सबै प्रीति नै प्रीति हुन्।ती सबैलाई समेटेकी प्रेम-प्रतीक तिमी!

ती प्रियदर्शिनी केवल प्रकृति हैनन्, पर्यावरण मात्र हैनन् ती…ती त प्रीति हुन्… प्रीति हुन्… प्रीति… यस्तो एक एहसास: जहाँ प्रीत त्यहाँ अनुभूत बर्सिरहेकी छिन् प्रीति, हावा केवल हावा मात्र हैनन्, ग्रैष्म घामले अत्यास चलाएको बखत उजेली सेती तीरमा शीतल पीपलछहारीमा तिमीले पठाएकी प्रेमको परमानन्दी ठन्डक एहसास लिएर आइपुग्ने शीतल नै बतास…ओह्हो! त्यहाँ हावा पनि पिरतीको बतास बनी रोमाञ्चको काउकुती कुतकुत्याउन तिखा घामले टट्ट्याएको मुहारमा आइपुग्छन्, वनपाखा मिठो बास्नाराग छर्दछन्, नदी वीणाको छङ्छङ् नाचिरहेछिन्…नाच्दै-गाउँदै बहिरहेछिन्।

तब त तब ती ग्रैष्म घाम चर्का लाग्दैनन्, बरू लाग्छन् ती प्रीतका चहक, ती उजेली नै नदीलाई अझै उजेली रङ्ग पोती दिउँसोलाई अझै पक्का दिउँसो बनाई झलमल्ल टल्काईरहेछन्…

यस्तो तिम्रो ठाउँ छ, जो मेरी प्रीतको जगह छ त्यहाँ… ए मेरी प्रीत…

“तिम्लाई भेट्न
आउँदैछु
तिम्रो गाउँमा
तिम्लाई भेट्न
आउँदैछु
तिम्रो गाउँमा
तिम्लाई भेट्न
आउँदैछु
तिम्रो गाउँमा…

“सपनाको संसारमा
म त भुलेँ नि
पिरतीको दुनियाँमा
आइपुगेँ नि
ए…
सपनाको संसारमा
म त भुलेँ नि
पिरतीको दुनियाँमा
आइपुगेँ नि

सपना अक्सर मिठा हुन्छन्। कल्पना। मिठो कल्पना। मिठा मिठा कल्पना झैँ देखिने अनि देखिएका सपनाहरूका अक्सर मिठा हुन्छन् असर। हुन पुग्छन् कल्पना! मन प्रफुल्लित हुँदा! मन प्रफुल्लित हुँदा यस्ता कल्पना गरिईन्छन्।

प्रफुल्ल मनबाट गराइन्छन्। त्यो प्रफुल्ल मन प्रेम हो। खुसी मनले यस्ता मिठा सपना देख्छन्। त्यो खुसी मन प्रेम हो। हो प्रेमले दिएको खुसहाल मनबाट निदर्शित मिठो कल्पना झैँ मायाँको संसारमा म हराएँ, म त्यतै भुलेँ…
यही मिठो संसारलाई पिरतिको दुनियाँ भनिन्छ सायद…

म यही परीकथाले बयान गर्ने ‘परीलोक’मा आईपुगेँ, पिरतीको दुनियाँमा आइपुगेँ; यी प्रेमी गीतकार प्रेमालु कल्पना गाउँछन् । गाउँछन् यी प्रेमरसिक गीतकार र प्रेमास्पद अनुभूतिबाट घटित आफ्ना प्रेमाचार पोख्छन्:

“होस हराउँछ
मन रमाउँछ
होस हराउँछ
मन रमाउँछ

होस अक्सर हराउँछ! हो! यो सही हो। अनि यही हराएको होसमा पछिपछि दौडँदै आएको मन रमाउँछ…सपना झैँ संसारमा भुल्दा – मिठो कल्पना झैँ पिरतीको दुनियाँमा पुग्दा कष्टैकष्टले भरिएको होस आफैँ हराउँछ…हो!

यो स्वाभाविक हो। संसारी महाकष्टको होस हराउँदा पिरतीको दुनियाँमा धड्कन बढ्छ पनि! तर मिठो अनुभूति प्रीतको दिलाउनु अघि प्रेमको उत्सुकताले स्वतःस्फूर्त बढाएको धड्कन सँगै पछि मन रमाउँछ किनभने,

“तिमी हाँसिदिए
हिमाल झैँ
तिमी हाँसिदिए
हिमाल झैँ
वसन्ती नयाँ पालुवा झैँ खुलेर कोमल अधर
हिमाल झैँ झललल मनोहर जब खुल्दछन् ती दन्तेलहर
हाँसो हुन् ती नजर झुकेर मुस्कान खुलेर…

काञ्चन हिमाल झैँ यस्तो मनोहर हाँसोले संसार प्रपञ्चमा हायलकायल मन भुलेर मन पिरोल्ने संसारी प्रपञ्च पनि रमाउँछ…

“मायाँ नै मायाँ छ
तिम्रो नाउँमा
तिम्लाई भेट्न
आउँदैछु
तिम्रो गाउँमा

“प्रीति नै
प्रीति छ
तिम्रो ठाउँमा
तिम्लाई भेट्न
आउँदैछु
तिम्रो गाउँमा

“तिम्लाई भेट्न
आउँदैछु
तिम्रो गाउँमा
तिम्लाई भेट्न
आउँदैछु
तिम्रो गाउँमा

“मायाँ कस्ती
जून जस्ती
गाउँ बेँसिमा
छिट्टै भेट्ने मायाँलाई
मनको तिर्सना
ए…
माया कस्ती
जून जस्ती
गाउँ बेँसिमा
छिट्टै भेट्ने मायाँलाई
मनको तिर्सना

पूर्णिमाकी जून झैँ सिंगाे वातावरणमा ज्योत्स्ना छर्दै धपधप धपधप बलिरहेकी उज्याली मेरी मायाँ गाउँबेँसिमा…वनमा नाचिरहेकी दुर्लभ कस्तुरी झैं एक दुर्लभ मणिरत्न गाउँ बेँसिमा स्थित छिन् उनी…

उनको सम्झना मात्र मनले ल्याई पठाउँदा यस्तो लाग्छ उनको चहकले ती सिंगाे गाउँबेँसि नै पुरै धपक्क बलिरहेझैँ…

यस्ती जून जस्ती मायाँको चुम्बकत्वले पलपल अनवरत तानेर प्रीतको ‘लङ्गिङ्ग’ले मनमा छट्पटाहट दिलाई ल्याउँदा चाँडो भेटौँ झैँ उनलाई, छिट्टै यही मात्र छ मनको तिर्सना…मायाँको यही ‘लङ्गिङ्ग’बाट जागृत तिर्सना-प्रेमको बेचैनीले गर्दा समयको बेचैनी अन्तराल कुराईको ! सकेर,

“म त आएँ
लिन तिमीलाई
हो…
म त आएँ
लिन तिमीलाई
यस्ती मेरी माया तिमीलाई म लिन आइपुगेँ ।
म राजा तिम्रो तिमी रानी मेरी, तिमीलाई बनाई रानी राख्न सधैँलाई…
म त आएँ लिन तिमीलाई,
हो म आएको छु लिन तिमीलाई…

“तिमी फूल भई
फुलन
तिमी फूल भई
फुलन

फूल र प्रेम एकै हुन्। फूलको फुलाई प्रेमको स्विकारोक्ति हो। प्रेमका रसिक यी प्रेमी गीतकार प्रेमिकालाई “केही संशय अझै बाँकी भए त्यो पनि हटाई देउ किनभने म नै आइसकेँ लिन तिमीलाई, अब त मेरो प्रेममा पूर्ण विश्वास गरी प्रेमको सहज स्विकारोक्तिको आज्ञा खातिरको अनुरोध खुलेर पूर्ण स्विकारिदेउ, फूल झैँ पूर्ण फुलेर, पूर्णचन्द्रको मुस्कान झैँ खुलेर…” -गीतकार यी प्रेमयाचन गर्दैछन् : फूलले फुल्दा प्रेमको पूर्ण फुलाईमा सहज स्विकारोक्तिमा आज्ञारूपमा अभिव्यक्त भए झैँ…
त्यसरी नै फूल भई तिमी पनि फुलन…
ढुक्क भई पुरै खुलन…

“मायाँ नै मायाँ छ तिम्रो नाउँमा
तिमीलाई भेट्न
आउँदैछु
तिम्रो गाउँमा
प्रीति नै प्रीति छ
तिम्रो ठाउँमा
तिम्लाई भेट्न
आउँदैछु
तिम्रो गाउँमा
“मायाँ नै मायाँ छ तिम्रो नाउँमा
तिमीलाई भेट्न
आउँदैछु
तिम्रो गाउँमा
प्रीति नै प्रीति छ
तिम्रो ठाउँमा
तिमीलाई भेट्न
आउँदैछु
तिम्रो गाउँमा
तिम्लाई भेट्न
आउँदैछु
तिम्रो गाउँमा

“If you want to know where your heart is, look to where your mind goes when it wanders.”
—- Walt Whitman

तिम्लाई भेट्न आउँदैछु तिम्रो गाउँमा…

[email protected]




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *