लघुकथा : छोराको माया
“के दिने होला उपहार?” ऊ क्लेन्डरमा नजर जुधाउँदै सोचमा पर्याे।
मनमा अनेक तर्कना खेलायो, तर टुङ्गो लगाउँन सकेन, “कपडा दिऊँ कि होइन, त्यो सधैं दिइरहने चिज हो। विशेष के छ, जसले आमाको माया अनि नयाँपन झल्कियोस्।” ऊ अन्तर्मनमै घोरियो।
फेरि फोन गरि सोधू क्यार! उसले मोबाइलमा घन्टी बजायो। सन्चो बिसन्चो सोध्यो, सदा झैं कुराकानी भयो तर खुलदुली मेटाउँन सकेन। आमा छोराको गफ भयो, फोन राख्यो।
आमा फुरुङ्ग भइन्। बिहान बिहान छोराले फोन गरेकोमा उनको अनुहार पुलकित भएको छ। अष्ट्रेलियाबाट भिडियो कलमा बोल्दा, त्यहाँको परिदृश्य देख्दा उनले छोरा समीपमा भएको आभास गरिन्।
उसलाई छट्पटी भयो, रातभरि निदाउँन सकेन। कोल्टो फेरिरह्यो, पानी घटघट पियो तर निचोड आएन। एकमनले भन्यो, फोनमा सोधी हेर्छु, फेरि होइन सोध्यो भने पनि आमाले, “केही चाहिँदैन मलाई, तिमी सन्चै भए पुग्छ, भन्नुहुन्छ।” ऊ दोधारमा पर्याे।
उसले निधो गर्याे। अनलाइन अर्डर गर्याे, लोकेसन दियो।
मातातीर्थ औँसीका दिन बिहानै कसैले बेल बजायो। उनी बाहिर आइन्, अपरिचित मान्छेले केही सामान दियो र भन्दै थियो, “छोराको उपहार आमाबुबाको ठूलो फ्रेमसहितको फोटो अनि बुके।” उनी चकित परिन्।
लघुकथा : पारा
“नयाँ तरिकाले जीवनमा अगाडि बढ्नुहोस् त, कस्तो हुन्छ ?” छोराले बुवालाई सम्झायो।
उनको आफ्नै काइदा थियो। न कसैले सम्झाएर हुन्थ्यो, नत बुझाएर, एकोहोरो हठ गर्थे। आधुनिकता र नवीन शैली सहोदरले पनि अपनाए तर उनी भने मेरो गोरुको बाह्रै टक्का झै गर्थे।
छोराले नम्रता देखाउँदै उनको समीप गयो र भन्यो, “जमाना कहाँबाट कहाँ पुगिसक्यो? तपाईं चाहिँ उहीँ पहाडकै पिपलबोट मै रहनु, बाउबाजे कै शैली छ। साह्रै दु: ख भयो भनेर त हो मधेस झरेको, किन बुझ्नु हुन्न?” उसले बुवातिर दृष्टि घुमाउँदै दिकदारी व्यक्त गर्याे।
उनले सुन्न सकेनन्। चर्को आवाज गरे, “बडो जान्ने हुँदो रहेछ, अल्अलि के पढेको थियो? मानमर्यादा खोई, बिर्याे, माउभन्दा चल्ला बाठा भनेको यहीँ हो। तँ ठुलो कि म, हँ?” उनले तातो रिस देखाउँदै झपारे।
उनको व्यवहारले घरका कोही नजिक पर्देन्थे। सम्झाउने त कुरै भएन। बल्लतल्ल साहस बटुलेर छोराले के भनेको थियो। चर्को स्वरले दबाए, ऊ पनि नि:शब्द भयो र मौनता साँध्यो।
उनी एक्लै बर्बराए, “अरूले जे गर्याे त्यहीँ गर्नुपर्ने, अरू घोडामाथि चढे भनेर धुरीमाथि चढ्नु। कस्तो कुरा गर्छ है, नउम्रिँदै तीनपाते भनेको यहीँ हो।” झिझ्झिए।
सबै सुनिरहेकी आमाले चिन्तित हुँदै मुख खोलिन्, ” नयाँवर्षले सुख, शान्ति,जीवन परिवर्तन गरोस् भन्ने कत्रो शुभेच्छा थियो छोराको तर कानो गोरुलाई औँसी न पुर्णे।” उनको पाराले हैरान भइन्।















Facebook Comment