खतरै खतराको यात्रा

कपिल लोहनी
५ वैशाख २०८३ ७:३६
596
Shares

केही हप्ता अघि काम विशेषले भैरहवासम्म जानु पर्ने भएर आफ्नै मोटरगाडीमा त्यस तर्फ प्रस्थान गरियो। सडक चौडा गर्ने नाममा कहिल्यै नसकिने निर्माण कार्यको कारण ठाउँ ठाउँमा व्यवधान सहनु पर्ने अवस्था।

केही ठाउँमा लामो अवधिपछि सडक बन्दै गएर चौडा भएको र आरामदायी यात्रा गर्न मिल्ने भएको देखिए पनि अधिकांश निर्माण कार्य कछुवाको गतिमा भइरहेकोले राजमार्गहरू अस्तव्यस्त छन्। कतिपय ठाउँमा पुलहरू निर्माण गर्ने काम ज्यादै प्रारम्भिक चरणमा भइरहेको छ। त्यस माथि वर्षात्को समयमा बाढी र पहिरोले भर्खरै बनेका सडकलाई पनि बिगारी दिन्छ।

पोखराबाट मुग्लिङसम्मको सडकको अधिकांश भाग अब चार लेनको भएकोले यात्रा सहज हुँदै गएको छ भने नौबिसेदेखि मुग्लिङसम्मको यात्रा अभैm पनि बिजोगको छ। महेन्द्र राजमार्गको बिस्तारको कार्यमा पनि निकै ढिलाई भइरहेको छ। झनै राजधानीलाई धुलिखेल, ककनी आदि महत्वपूर्ण ठाउँसँग जोड्ने सडकको निर्माण तथा विस्तार कार्यमा चरम लापर्वाही भएकोले ती बाटाहरूमा बिजोगै छ।

बाटोको मर्मत र सुधारको क्रममा केही समय यस्तो स्थिति आउनुलाई सामान्य रूपमा नै लिनु पर्दछ तर तोकेको समयमा काम सक्न नसकेर दर्जनाैं पटक ठेक्काको म्याद थप्दै वर्षौंसम्म सडकलाई जीर्ण अवस्थामा राख्नु भनेको चाहिँ जनतालाई अनावश्यक मानसिक यातना दिनु हो र यस्तो कार्यलाई प्रोत्साहन दिनुमा कुनै नराम्रो आशय लुकेको पनि हुन सक्छ।

जाडोको याम सकिएर गर्मी लाग्नु भन्दा अगावै यात्रामा हिँडेका हामीले पनि नौबिसेदेखि मुग्लिङसम्मको यात्रा निकै कठीनाईपूर्वक तय ग¥यौं। बाटोमा तै राम्रा कफी र खानाका होटेल भएकोले थकान मेट्न भने पायौं।

हाल मुग्लिङबाट नारायणघाटसम्मको बाटो राम्रै रहेछ। तर वर्षात्को मौसम शुरु हुने वित्तिकै यो बाटोका विभिन्न स्थानमा विशाल पहिरोहरू खस्न थालेर यो सडकलाई सम्झँदा नि डर लाग्ने अवस्था बन्न आउँछ।

नारायणघाटबाट बुटवल जाने बाटोको हालको प्रगति देखेर भने निकै खुशी महसुस भएको थियो। तर दाउन्नेको १२-१३ किलोमिटर पहाडी मार्गमा भने कङ्क्रीटको ढलान गर्ने काम भइरहेको र त्यस दिन एक छिन पानी पर्दा पनि त्यो क्षेत्रको बाटो निकै हिलाम्य भएकोले करिव आठ घण्टा जाममा फँस्नु परेको थियो।

यो भागमा ज्यादै ठूला कन्टेनरहरू आवत जावत गर्ने भएकाले सडकको काममा पनि व्यवधान आउने गर्दछ। त्यस माथि ढलान गरेर सडकलाई पक्की बनाउने कामको लागि धेरै समयको जरुरत पर्दछ। सडक सुधारको काम त भइ नै रहेको छ तर कछुवाको गतिमा।

भैरहवा र बुटवल बीचको चौडा बाटोमा भने हिजोआज यात्रा गर्न निकै रमाइलो हुने। उता विराटनगरबाट धरानसम्म र नेपालगञ्ज तथा धनगढीका प्रमुख सडकको निर्माण पनि सकिएकोले अब भने निकै सहजता छाएको छ। तर यी सडक बन्दासम्म आम जनताले निकै कष्ट भोगेका थिए।

निर्माणाधीन चल्ती सडकमा सरकारले दुवै तर्फबाट सवारी साधनहरूलाई पालैपिलो आवत जावत गर्ने व्यवस्था मिलाइ दिनु पर्ने हो भने सवारी चालकहरूले पनि सवारी अनुशासनलाई पालना गरेर ओभरटेक र हतार नगरी लाइनमा सवारी चलाउनु पर्ने हो।

तर त्यस्ता कुनै पनि व्यावहारीक कुराहरूको पालना सरकार र जनता कसैले पनि नगर्ने भएकोले नै दिनहुँ लामो जाममा यात्रुहरू फँस्नु पर्ने र असुरक्षित यात्रा गर्नु पर्ने बाध्यता पर्ने गरेको छ।

त्यस माथि ठेकेदारको ढिलासुस्ती, बेला बेलामा निर्माण सामग्रीको आपूर्तिमा व्यवधान र हालको समयमा पेट्रोलियम पदार्थको भाउ बढ्नु र विटुमिन जस्ता मुख्य सामग्रीको पनि अभाव हुनाले सबै निर्माणाधीन सडकहरू प्रभावित हुन पुगेका छन्।

कुनै पनि सडकको मर्मत र विस्तारको काम शुरु भएपछि त्यो सडक तयार हुन पाँचदेखि दश वर्ष लाग्नु नेपालमा साधारण कुरा भइसकेको छ। विदेशमा पनि सडक सुधारका कामहरू भइरहेका हुन्छन्।

त्यस्ता बिस्तारका काम हुँदा चलिरहेको सडकको भागलाई छोडेर सकेसम्म छेउ छेउमा पहिले निर्माण गरेर अनि मात्र सबै भागमा काम गर्ने गर्दछन्। तर नेपालमा सडक मर्मत र बिस्तार गर्दा पुरै सडकलाई खुर्केर र जीर्ण बनाएर मात्र काम अघि बढाइन्छ।

केही वर्षमा सकिने भनिएका यस्ता मर्मत र बिस्तारका कामहरूको म्याद वर्षेनी थपिएर निकै अवधिसम्म यात्रुहरूले सासना भोगिरहन वाध्य हुनु पर्दछ भने त्यस्ता सडकको मर्मत र बिस्तारको खास लागत पनि बढेर आकाश छुन थाल्दछ। यस्तै परिस्थितिमा नै भ्रष्टहरूले पैसा कमाउने रहेछन्। यस्तो चरम भ्रष्टाचारमा धेरै निकायहरूको सामुहिक चलखेल हुँदो हो।

नेपाल एक अति सुन्दर मुलुक हो। विश्वभरबाट नेपालको सुन्दरता नियाल्न पर्यटकहरू वर्षेनि लाखौंको संख्यामा यहाँ आउने गर्दछन्। उत्तरबाट दक्षिणमा औसतन २५० किलोमिटरको दूरीभित्र सगरमाथा र विभिन्न हिमशिखरहरूको चुचुरोदेखि समुद्रको सतहसम्मको विभिन्न प्रकारको उँचाईको अनुभव गर्न सकिन्छ यहाँ।

वि.सं. २००७ सालसम्म नेपाल बाहिरी संसारबाट निकै टाढा भएर बसेको थियो। त्यतिबेला नेपालका सबैजसा क्षेत्रमा पैदल यात्रा नै गर्नु पर्दथ्यो यानी मोटरबाटो छँदै थिएन भने पनि हुन्छ। धनीहरू भने घोडा, हात्ती, डोली-ताम्दानी आदिमा यात्रा गर्दथे, तर पनि त्यो यात्रामा सहजता भने थिएन।

सन् १९५० मा पहिलो पटक नेपाल आएका प्रख्यात स्वीस भूगर्भविद् टोनी हेगनले नेपालका सम्पूर्ण इलाकाको पैदल यात्रा गरेका थिए। त्यतिबेला उनले नेपालमा १४,००० किलोमिटरको पैदल यात्रा गरेर भौगर्भिक अनुसन्धान गरेका थिए। उनको ‘नेपाल’ नामक प्रख्यात सचित्र पुस्तकले नै सर्वप्रथम नेपालको परिचय विश्वलाई दिन सफल भएको थियो।

नेपालमा राणाशासनको पतन भए पछिको विगत ७५ वर्षमा २० हजार किलोमिटर राजमार्गस्तरको कालोपत्रे सडक र अर्को ८० हजार किलोमिटर धुले ट्र्याक सडक तथा चार दर्जन हवाई मैदान बनिसकेका छन्। तर पनि नेपालमा मोटर या हवाई यात्रा गर्न निकै कठिनाइको सामना गर्नु पर्ने हुन्छ।

नेपालको अधिकांश भूभाग पहाडी भएकोले र यो क्षेत्रको भौगर्भिक संरचना नाजुक प्रकारको भएकोले सडक तथा अन्य विकासका पुर्वाधारहरूको निर्माण गर्दा निकै विचार पुर्‍याउनु पर्दछ। तर नेपालमा पछिल्लो समयमा बनेका अधिकांश सडकहरू वातावरणीय प्रभावको राम्ररी अध्ययन नै नगरी हचुवाको भरमा डोजर लगाउँदै खनिएका भएर बाढी र पहिरोबाट निकै जर्जर भएका छन्।

वन-जंगलको अप्राकृतिक फँडानी तथा जथाभावी पहाड कटान गरेर बाटो खोल्नाले तथा आवश्यक ढल तथा कल्भर्टहरूको निर्माण समेत नगर्नाले खासगरी सानो वर्षा हुँदा पनि सडक हिलाम्य हुने र पहिरो जान थाल्ने हुन्छ। त्यस्ता नाजुक तथा साँघुरा र कच्ची पहाडी बाटोमा ठूला बसहरू चलाउनाले दुर्घटना पनि बढ्ने गरेको छ।

वनजंगल तथा नदीनालाको चरम दोहनले गर्दा वर्षेनी बाढीको प्रकोप बढ्दो छ। यस्तो अवस्थामा पहाडमा मात्र होइन, तराईको समथर भूमिमा पनि बाढीले निकै हानी पुर्‍याउने गर्दछ।

त्यसैले पनि वातावरण संरक्षणमा नेपाल जस्तो नाजुक भौगर्भिक संरचना भएको मुलुकले विशेष ध्यान पुर्‍याएन भने जति नै विकासका पुर्वाधारहरूको निर्माण गरे पनि त्यो बालुवामा पानी हाले सरह नै हुन जान्छ।

नेपालमा बनेका राष्ट्रिय स्तरका राजमार्गहरू पनि बाढी र पहिरोको चपेटामा प्रत्येक वर्ष पर्ने गरेका छन्। अर्को तर्फ सडकको बनोट र यसले धान्न सक्ने भन्दा बढी संख्यामा सवारी साधनहरू चल्ने र सडकले धान्न सक्ने भारभन्दा पनि ठूला सवारी साधनहरूको आवागमनले गर्दा सडक तथा पुल छिटै जिर्ण बन्दै जाने गरेका छन्।

सडक निर्माण र मर्मतमा हेल्चक्याँइ र चरम भ्रष्टाचारले गर्दा सधैँ जसो तल्लो स्तरका सडक र पुल मात्र बनेर तयार हुन्छन् भने सञ्चालनमा आएको केही समय पछि नै ती सडक बिग्रन थालि हाल्छन्।

चन्द्रशमशेरको पालामा बनेको रोपवे आज जीर्ण भएर चल्न पनि छोडिसकेको छ। तर हामी जस्तै कतिपय पहाडी मुलुकले आजसम्म पनि अपनाएको रज्जुमार्गलाई हामीले किन प्राथमिकता दिन नसकेका हौँ कुन्नी। हाम्रोे देशको खासगरी पहाडी भेगमा त मुख्य यातायातको साधन नै यस्तै रज्जुमार्ग हुनु पर्ने हो।

अहिले पनि के बिग्रेको छ र। बिजुली छेलोखेलो हुँदै गएकै छ र यस्तो संरचनाले सडकको विकल्प बन्ने भएकोले बाढी तथा भूक्षयलाई पनि कम गर्न र हरियाली प्रवद्र्धन गर्न मद्दत पुर्‍याउँछ।

चन्द्रशमशेर कै शासनकालमा सन् १९२७ मा शुरु भएको ४७ किलोमिटर दूरीमा चल्ने प्रथम रेलवे पनि आज जीर्ण बनेर बन्द भइसक्यो भने हाल पुर्वी तराईदेखि पश्चिमी सिमासम्म र पहाडका पनि कतिपय ठाउँमा रेल चलाउने कुरा करिव ६० किलोमिटरमा नै सिमित भएर बसेको छ।

उता भारतमा सन् १८५३ मा पहिलो पटक मुम्बइको बोरी बन्दरदेखि थानेसम्मको ३४ किलोमिटरको रेलवे लाइन निर्माण गरेर रेल चलाउन शुरु गरे पछि आज भारतभर ११५,००० किलोमिटरको अत्याधुनिक रेल सञ्जाल मार्पmत् त्यहाँका जनताले सुलभ र सस्तो यातायातको आनन्द लिन पाएका छन्।

नेपालमा चलिरहेका ६० लाख भन्दा बढी मोटरगाडीहरू मध्ये झण्डै ४० लाख मोटरसाइकल छन्। सडकको अनुपातमा मोटरगाडीहरूको संख्या ज्यादै धेरै भएकोले पनि नेपालमा बाटाघाटाहरूमा अधिक जाम हुने गर्दछ त्यसमाथि सडकको विकराल हालत र चालकको अनुशासनहिनता।

नेपालका चार दर्जन भन्दा बढी ठूलासाना विमानस्थलहरू मध्ये कतिपयमा विमानसेवा नै रोकिएको छ। यसको मुल कारण भनेकै पुर्वाधारको कमी, महँगो विमान भाडा, असुरक्षित हवाई यात्रा र केही हदसम्म मोटरगाडीको पहुँच मुलुकका सबैजसा स्थानमा पुग्नु पनि हो।

हिमाली क्षेत्रका विमानस्थलहरू विकट ठाउँमा छन् र त्यहाँको मौषममा छिन छिनमा परिवर्तन आइरहन्छ। त्यस माथि नेपालका अधिकांश वायुसेवा कम्पनीहरूले नयाँ विमान ल्याएर चलाउन सक्ने हैसियत राख्दैनन्। विषम् मौषम, खतरनाक भौगर्भिक वनोट र मानवीय त्रुटीको कारण पनि हिमाली क्षेत्रमा धेरै विमान दुर्घटनाहरू भइरहन्छन्।

ठूला विमानस्थलमा भने केही राम्रा विमान कम्पनीहरूले विश्वमा नाम चलेका ब्राण्डका नै मझौला विमान मार्पmत् सेवा सञ्चालन गर्दछन् तर तिनको विमान पनि कहिल्यै ठीक समयमा उड्ने गर्दैनन्।

यात्रुहरू कुर्दा कुर्दा दिक्क हुन्छन्। यदाकदा यिनमा पनि प्राविधिक गडबडी भइरहने र सानाठूला दुर्घटना भइरहने भएकोले यात्रा अवधिभर यात्रुहरू प्रभुको भक्तिमा नै लिन हुनु पर्ने स्थिति आउँछ।

सरकारले पेट्रोलियम पदार्थमा लगाउने विभिन्न प्रकारका करहरूमा राजमार्ग कर पनि लगाउँछ। यसरी उठ्ने रकम अर्बौंमा हुन्छ। तर पनि सडक मर्मत गर्न विदेश कै मुख ताक्नु पर्ने अवस्था छ र साना साना मर्मतका काम पनि उचित समयमा नगर्नाले पुरै राजमार्ग बिग्रँदै जान थाल्दछ।

पुराना तथा बिग्रेका ट्रक र बसलाई नियन्त्रण र कार्वाही गर्ने पनि कुनै नियम छैन हामी कहाँ। त्यसैले पनि त्यस्ता गाडीहरू बीच सडकमा बिग्रेर अन्य यातायातको आवतजावतलाई प्रभाव पार्ने गर्दछन्।

धेरै चालकहरूको लापर्वाहीपूर्ण हँकाई र राजमार्गको दुरावस्थाका कारण पनि दिनहुँ दुर्घटनाका समाचारहरू सुन्नमा आइरहन्छन्। यस्ता कुराहरूले गर्दा यात्रुमा एक प्रकारको भय रहिरहन्छ यात्रा अवधिभर।

लामो दुरीका सार्वजनिक बसहरू भने पहिलेको भन्दा निकै आरामदायी छन् हिजोआज। तर बाटो नै राम्रो नभए पछि त्यस्ता बसमा यात्रा गरेर पनि त्यति आनन्द नआउने। निकै टिठ लाग्दो मोटर यात्राबाट गन्तव्य पुगेपछि भने नेपालमा आउने पर्यटकहरू देखि आम जनता पनि ज्यादै मोहित हुने गर्दछन्।

काठमाडौँ र अन्य शहर तथा पर्यटक गन्तव्यहरूमा सबै कुराको सुविधा छ र ती सबै स्थानहरू घुम्न र बस्न लायकका छन्। राजमार्गमा पनि हिजोआज आधुनिक कफी पसलहरू र सबै थरीका खानपानका दोकानहरू छन्। बस् बाटो राम्रो भयो भने यात्रुहरूको मनमा सन्तोष छाइहाल्छ।

कुनै पनि मुलुकको आर्थिक विकासमा यातायातको निकै महत्व रहन्छ। आज नेपाल लगायत पुरै विश्व यातायातको सुगमताले गर्दा सानो हुँदै गएको छ। नेपालमा पनि विभिन्न व्यवसाय र कामले गर्दा हजारौँ मानिसहरूलाई दैनिक रूपमा एक ठाउँबाट अर्को ठाउँमा यात्रा गरिरहनु पर्दछ। कतिपय ठाउँको यात्रा त नियमित रूपमा बिहान गएर राति घर फर्कने प्रकृतिका पनि हुन्छन्।

यातायातको पुर्वाधार बनाउने काम सरकारको हो भने त्यस मार्फत सेवा पुर्‍याउने काम भने नीजि क्षेत्रको हो। हाल नीजि क्षेत्रले यातायातका राम्रा साधनहरू भित्राएर जनतालाई स्तरिय सेवा प्रदान गरिरहेका छन् तर सरकारले मुलुकभरका सडक, रेल, जल, हवाई जे जे पनि पुर्वाधारहरू हुन्छन्, तिनको उचित विकास, मर्मत र सम्भार गरेर जनताको पहुँच बढाउने काम गर्नु पर्दछ। आशा गरौँ नयाँ सरकारले यातायातको विकासमा विशेष ध्यान दिने छ।

– लेखक विकास अर्थशास्त्री, एकल व्यक्तित्व समाज नेपाल र समसामयिक गायक समाजका अध्यक्ष हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *