स्मृतिको आँखीझ्यालबाट २०८२ः एउटा सिर्जनात्मक उकालो
समय एउटा अविराम बगिरहने नदी हो, जसले आफ्ना किनारहरूमा अनुभवका अनगन्ती बालुवाका कणहरू छोडेर जान्छ।
२०८२ साल मेरो जीवनको त्यस्तै एउटा कञ्चन नदी बन्यो, जसमा मैले आफ्ना सिर्जनाका डुङ्गाहरू निर्धक्कसँग खियाएँ। भर्खरै २०८२ सालको बिदाइ गरेर २०८३ सालको आँगनमा पाइला टेक्दै गर्दा, विगतका पानाहरू पल्टाएर हेर्दा मनमा एउटा अलौकिक तृप्ति र आनन्दको सञ्चार भएको छ।
फर्केर हेर्दा, बितेको वर्ष क्यालेन्डरका पानाहरूको फेरबदल मात्र थिएन; यो त मेरो सिर्जनात्मक तिर्खा मेट्ने एउटा स्वर्ण वर्ष थियो। भनिन्छ, मानिस तब मात्र साँच्चै खुसी हुन्छ, जब उसले आफ्नो पसिना र साधनाको मीठो फल चाख्न पाउँछ।
आज म आफूसँग आफैं दङ्ग छु, खुसी छु र एउटा अनौठो शान्तिको अनुभूति महसुस गरिरहेको छु। यो खुसी कुनै भौतिक प्राप्तिको होइन, शब्दहरूसँग खेल्दाखेल्दै बुनिएको एउटा सपना साकार भएको खुसी हो।
मेरो २०८२ सालको सबैभन्दा ठूलो उपलब्धि- मेरो नियात्राको पाण्डुलिपि हो। झण्डै ३०० पृष्ठको त्यो बिटो कागजको थुप्रो, सगरमाथाको आधार शिविरसम्म पुग्दाका मेरा हरेक सुस्केरा, पदचाप र हिमालसँग साटिएका भावनाहरूको सङ्गालो हो। ‘कालापत्थरबाट सगरमाथा नियाल्दा’ मेरो यो प्रकाशोन्मुख कृतिको शीर्षक सुन्नासाथ मेरो मानसपटलमा फेरि ती ठिही लागेका बिहानीहरू र सुन्तले साँझहरू सलबलाउन थाल्छन्।
‘उचाइतिर उकालिँदै’ शीर्षकबाट सुरु भएको मेरो यात्रा वृत्तान्त लेखिरहँदा मलाई आभास भयो कि मानिस पहाड मात्र चढ्दैन, ऊ त आफ्नै मनका उचाइहरू पनि नाप्दै जाँदो रहेछ।
खुम्बुको चिसो हावामा मिसिएका बुद्धका मन्त्रहरू, तेङबुचेको त्यो आध्यात्मिक शान्ति र कालापत्थरको थुम्कोबाट विश्वको शिर सगरमाथालाई स्पर्श गर्दाका ती पलहरूलाई शब्दमा उतार्नु मेरो लागि एउटा तपस्या नै थियो।
साँच्चै, सिर्जनात्मक दृष्टिले यो वर्ष अत्यन्तै उर्वर रह्यो। जब म ती पाण्डुलिपि पानाहरूलाई सुम्सुम्याउँछु, मलाई लाग्छ- मैले हिमाललाई मात्र नियालेको छैन, हिमालका माध्यमबाट जीवनको विशालतालाई बुझ्ने प्रयत्न गरेको छु। यात्राका कठिनाइहरू र उकाली-ओरालीहरूलाई शब्दको मालामा उनेर तयार पारिएको यो कृति मेरो जीवनको एउटा महत्वपूर्ण अभिलेख बन्ने कुरामा म विश्वस्त छु।
प्रकृतिको विराट् क्यानभासमा शब्दको रङ्ग मेरो नियात्राको भित्री संसार हो। वास्तवमा नियात्रा भूगोलको हिँडाइ मात्र होइन, मेरा लागि एउटा खोज पनि हो– प्रकृतिको, मानिसको र आफ्नै अस्तित्वको।
‘कालापत्थरबाट सगरमाथा नियाल्दा’ पाण्डुलिपिमा मैले केवल उकालो र ओरालोको धुलो र हिउँका थुप्राहरू मात्र समेटेको छैन। त्यहाँ हिमालयको मुटुको ढुकढुकी उतार्ने प्रयास गरेको छु।
मैले जे देखेँ, त्यही लेखेँ। जे भोगेँ, त्यही पोखेँ। प्रकृतिको त्यो विराट् वैभवलाई मेरो आँखाको मन्दिरले एउटा भक्तले झैँ भक्तिभावका साथ दर्शन गरेको छ। त्यसैको प्रभाव होला, मेरा अनुभूतिहरू दूधकोशीको कञ्चन प्रवाह जस्तै सललल बगेका छन्। इम्जाखोला किनारमा सुस्ताएका छन्। फेरिजेको चिसो हावामा बयली खेलेका छन्। थोक्ला भञ्ज्याङमा बिसाएर हिमाली विशाल सौन्दर्यलाई तन्तनी पिएका छन्।
मेरो लेखनमा आकाश छुने कल्पनाको उडानभन्दा पनि धरातल टेक्ने यथार्थको गहिराइ बढी छ। यथार्थका ती नग्न दृश्यहरूलाई भावनाको कलात्मक लेपनले जीवन्त बनाउनु नै मेरो मुख्य उद्देश्य रह्यो। गुराँसको फेदमा बिसाएका क्षण हुन् कि खुम्जुङका शेर्पा बासँग पुराना कुरामा गफिएका पल हुन्। ती सबैमा मैले मेरो देशको जीवन, प्रकृति र सौन्दर्यको रङ पोखेको छु।
यस नियात्राभित्र मेरो स्वर मात्र सुन्नुहुने छैन, यसमा हिमालयका मान्छे र भोगाइ छन्। मैले बाटोमा भेटेका स्थानीय पात्रहरू, उनीहरूको सङ्घर्षशील जीवनशैली र उनीहरूका अनुभवका कथाहरूलाई साटेको छु।
मैले आफ्नो लेखनका माध्यमबाट पर्यटक, गाइड र स्थानीय तथा भरियालाई बोल्न लगाएको छु। संवादको मिठासमा जीवन र प्रकृतिको मिलन गराउँदै अनुभूतिको यात्रामय पद्चाप हिँडेको छु।
पर्यटकका आँखामा हिमालः सात समुद्र पार गरेर आएका विदेशी पाहुनाहरूका भावना, उनीहरूको आश्चर्य र खुसीको सीमा नाघेका ती पलहरूलाई उतारेको छु।
प्रकृति र परिवेशको गहिरो सोधखोजः त्यहाँका जीवजन्तु, वनस्पतिका बारेमा बुझेसम्म र सोधखोज गरेसम्मका विवरणहरूलाई समेटेर परिवेशलाई अझै स्पष्ट पारेको छु।
मेरो शैलीमा कतै संवादको जीवन्तता छ त कतै कवितात्मक लयको मिठास। तोपडाँडाको पौराणिक र ऐतिहासिक कथा सुन्दै नाम्चेतिर पाइला चाल्दाका ती रोमाञ्चक सम्झनाहरू आज पनि ताजा छन्।
उचाइ चढ्दा शरीर गलेर फतक्क गलेका बेलाका पीडा र फेरि ओरालो ओर्लिरहेका यात्रीसँग गरिएका ती छोटा तर अर्थपूर्ण संवादहरूले यात्रालाई थप रोचक बनाएका छन्।
‘आमादब्लमको आँचल’ मुन्तिर बसेर त्यसको अनुपम सौन्दर्यमा हराएका पलहरू हुन् वा गोरक्षपको त्यो पातलो हावामा सगरमाथा, पुमोरी हिमाल आँखैको डिलमा राखेर बिताएका अविस्मरणीय क्षणहरू ! यी सबै मेरो कृतिका गहना हुन्।
सगरमाथाको आधार शिविरमा पुग्दा, विश्वको सर्वोच्च शिखरको फेदैमा उभिएर हर्षले विभोर भएका ती विदेशीहरूको ताँती देख्दा लाग्थ्यो– प्रकृतिले मानिसलाई जात, धर्म र राष्ट्रभन्दा माथि उठाएर एउटै सूत्रमा गाँसिदिँदो रहेछ।
अन्ततः, यो नियात्रा प्रकृतिको त्यो विराट् रूप र अनुपम सौन्दर्यको एउटा सानो ऐना हो। कालापत्थरको थुम्कोबाट सगरमाथालाई नियाल्दा जुन अनिर्वचनीय आनन्द प्राप्त भयो, त्यसलाई शब्दको सीमाभित्र बाँध्ने मेरो यो एउटा विनम्र कोसिस मात्र हो। यसमा यथार्थको धरातल छ, भावनाको सुगन्ध छ र हिमालयको अदम्य साहसको प्रतिध्वनि छ।
आज नयाँ वर्षको नयाँ घाम झुल्किँदै गर्दा, २०८२ सालले मलाई दिएको यो सन्तुष्टि र सिर्जनाको ऊर्जा नै मेरो भविष्यको बाटो बन्ने छ। सफलता भनेको गन्तव्यमा पुग्नु मात्र होइन रहेछ, गन्तव्यसम्म पुग्दाका अनुभूतिहरूलाई अमर बनाउनु पनि रहेछ। बितेको वर्षले मलाई सिकाएको यही हो- कि शब्दहरू कहिल्यै मर्दैनन् र सिर्जनाले मानिसलाई सधैँ जीवित राख्छ।
२०८२ सालको बिदाइ र नयाँ वर्षको यो मोडमा, मेरो कलम अझै उचाइतर्फ लम्किरहने प्रण गर्छु।















Facebook Comment