सर्लाहीमा दुई जना मजदुरको मृत्यु प्रकरण : ठेकेदार पक्राउ
सर्लाही। सर्लाहीको मलंगवा नगरपालिका–१० मा घरको छत प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु भएको घटनामा प्रहरीले ठेकेदारलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार घर निर्माणको ठेक्का लिएका मलंगवा – ३ निवासी सुनिल साह उर्फ सुलिन्द्र प्रसाद साहलाई पक्राउ गरेको हो।
गत बुधबार साँझ करिब ४ः३० बजे मलंगवा नगरपालिका–१० मा रंजीत यादवको निर्माणाधीन चार तले घरको छतबाट खसेर मलंगवा–२ निवासी अन्दाजी ५० वर्षीय छटु साह र हरिपुर्वा नगरपालिका–२ निवासी अन्दाजी ४० वर्षीय राजकिशोर यादवको मृत्यु भएको थियो।
उक्त घर निर्माणको सुलिन्द्रले लिई उनीहरुलाई काम गराउँदै आएका थिए। घटनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार पक्राउ परेका उनीमाथि ज्यान सम्बन्धी कसूर मुद्दामा सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर यसबारे थप अनुसन्धान अघि बढाएको छ।
जिल्लाका मजदुरहरूले बिहिबार दिउँसो मृतकको परिवारलाई क्ष्यतिपूर्तिको माग गर्दै सदरमुकाम मलंगवामा प्रदर्शन गरेका थिए। त्यसका साथै बिहिबार नै हिन्दू सम्राट नेपाल सर्लाही जिल्ला कार्य समितिले यस घटनाका दोषीमाथि कारबाही, उचित क्षतिपूर्ति तथा निष्पक्ष छानबिनको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको थियो।







डिसी नेपाल







Facebook Comment