वीरगञ्जमा होटल र क्यान्टिनको आकस्मिक अनुगमन: उपभोक्ता ठग्ने तीन व्यवसायीलाई कारबाही

डिसी नेपाल
२ जेठ २०८३ ८:३४

वीरगञ्ज। पर्साको वीरगञ्जमा जारी ‘मूल्य पारदर्शिता सप्ताह’ अन्तर्गत जिल्ला अनुगमन समितिको संयुक्त टोलीले होटल तथा क्यान्टिनहरूमा आकस्मिक बजार अनुगमन गरेको छ।

अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ विपरीत व्यवसाय सञ्चालन गरेको पाइएपछि वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा सञ्चालित तीनवटा होटल तथा क्यान्टिनलाई तत्कालै कारबाही स्वरूप जरिवाना गरिएको छ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका निमित्त प्रमुख आशुतोष कुशवाहाका अनुसार ऐन विपरीत कार्य गर्ने व्यवसायीहरूलाई कसुरको प्रकृति हेरी जरिवाना तोकिएको हो।

जस अन्तर्गत वीरगञ्ज महानगरपालिका-११ मा सञ्चालित तराई क्यान्टिनका सञ्चालक दीपक शाहलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ विपरीत कार्य गरेको र दफा ३८ (ट) बमोजिम कसुर गरेको ठहर गर्दै दफा ३९ (१) (घ) अनुसार ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।

यसैगरी, वीरगञ्ज महानगरपालिका–१३ मा सञ्चालित ज्योति मगर होटलका सञ्चालक शेखर मगरलाई ऐनको दफा १५ विपरीत कार्य गरेको तथा दफा ३८ (घ) बमोजिम कसुर गरेको पाइएकाले दफा ३९ (१) (क) अनुसार २० हजार रुपैयाँ जरिवाना गरिएको छ।

सोही वडामा सञ्चालित चौधरी होटलकी सञ्चालक उर्मिला महतोलाई पनि सोही ऐनको दफा १५ विपरीत कार्य गरेको तथा दफा ३८ (घ) बमोजिम कसुर गरेको ठहर गर्दै दफा ३९ (१) (क) अनुसार पाँच हजार रुपैयाँ जरिवाना गरिएको अनुगमन समितिले जनाएको छ।

अनुगमनकै क्रममा वीरगञ्ज–१३ मै सञ्चालित अनु देवीको व्यवसायमा भने केही प्राविधिक सुधार गर्नुपर्ने देखिएकाले व्यवसायीलाई आवश्यक सुधारका लागि सामान्य निर्देशन दिएर छाडिएको छ। जिल्ला अनुगमन समितिले बजारमा हुने यस्ता बेथिति रोक्न, उपभोक्ताको हक हित संरक्षण गर्न तथा बजारलाई व्यवस्थित र पारदर्शी बनाउनका लागि आगामी दिनमा पनि अनुगमन कार्यलाई निरन्तरता दिने स्पष्ट पारेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *