मानसरोवर कैलाश दर्शनका लागि हुम्ला आउने भारतीय तीर्थयात्रीको संख्या बढ्दो, चार दिनमा १६९ जना सिमकोट आइपुगे
हुम्ला। वर्षायामको सुरुवातसँगै चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको पवित्र धार्मिक स्थल मानसरोवर कैलाशको दर्शन गर्न जाने भारतीय तीर्थयात्रीहरूको चहलपहल हुम्लामा बाक्लिन थालेको छ। नयाँ सिजन सुरु भएपछि नेपालगन्जबाट हवाईमार्ग हुँदै हुम्लाको सदरमुकाम सिमकोट र त्यहाँबाट हिल्सा नाका हुँदै मानसरोवर जाने पर्यटकहरूको संख्यामा वृद्धि भएको हो।
सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिंहका अनुसार वैशाख ३० गतेदेखि यस वर्षको यात्रा सुरु भएको र पछिल्लो चार दिनमा मात्रै १६९ जना तीर्थयात्री सिमकोट आइपुगेका छन्। विमानस्थलको तथ्यांक अनुसार आगमन भएका कुल यात्रीमध्ये १४७ जना भारतीय नागरिक र २२ जना अन्य मुलुकका विदेशी पर्यटक रहेका छन्।
प्रतिकुल मौसमका बाबजुद पनि हवाई सेवा प्रदायकहरूले उडानलाई निरन्तरता दिइरहेका छन्, जसअन्तर्गत शनिबार मात्रै समिट एयरको जहाजले तीनवटा उडान भर्दै ४७ जना तीर्थयात्रीलाई सिमकोट ओरालेको थियो।
यसैबीच, आइतबार सिमकोट आइपुगेका यात्रीमध्ये २३ जना भारतीय तीर्थयात्री भने कैलाश मानसरोवर जाने चिनियाँ प्रवेश अनुमति पत्र (परमिट) समयमै उपलब्ध हुन नसक्दा सदरमुकाम सिमकोटमै रोकिनु परेको छ। सरकारले गत चैत २१ गतेको मन्त्रिपरिषद् बैठकबाट शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै चिनियाँ पक्ष र सम्बद्ध निकायबाट परमिट आउन ढिलाइ भएपछि उनीहरू सिमकोटमै बस्न बाध्य भएका हुन्।
विगतको इतिहास हेर्दा वि.सं. २०७२ सालको विनाशकारी महाभूकम्पपछि हिल्सा नाका हुँदै भारतीय धार्मिक पर्यटकहरू मानसरोवर जाने क्रम सुरु भएको थियो। बीचमा कोरोना महामारीका कारण लामो समयसम्म यो नाका पूर्ण रूपमा बन्द रहँदा पर्यटकको आवागमन ठप्प भएको थियो।
तर, गत वर्षदेखि चीन सरकारले भारतीय पर्यटकका लागि हिल्सा नाकाबाट मानसरोवर कैलाश यात्राको अनुमति पुन: खुला गरेपछि चार महिनाको अवधिमा मात्रै ६ हजार ५०० भारतीय पर्यटकले हुम्लाको बाटो प्रयोग गरेका थिए। यस वर्ष सुरुवाती चार दिनमै देखिएको तीर्थयात्रीहरूको उत्साहजनक उपस्थितिले आगामी दिनमा यो संख्या अझै बढ्ने विश्वास स्थानीय पर्यटन व्यवसायीहरूले गरेका छन्।







डिसी नेपाल







Facebook Comment