प्राविधिक शिक्षासम्बन्धी एकीकृत विधेयकमा मन्त्रालयले माग्यो सुझाव, पुरानो ऐन खारेज हुने

डिसी नेपाल
१२ जेठ २०८३ १२:२१

काठमाडौं। शिक्षा तथा खेलकुद मन्त्रालयले ‘प्राविधिक तथा व्यावसायिक तालिमसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ माथि सरोकारवाला र सर्वसाधारणसँग औपचारिक सुझाव माग गरेको छ।

मुलुकभर गुणस्तरीय प्राविधिक शिक्षा र व्यावहारिक सीप विकासको अवसरलाई सबैको पहुँचमा पुर्‍याउने उद्देश्यका साथ यो कानुन ल्याउन लागिएको हो।

शिक्षा र प्राविधिक तालिमलाई सिधै सीप, श्रम बजार, रोजगारी, उत्पादन र राष्ट्रिय समृद्धिसँग आबद्ध गर्ने दीर्घकालीन लक्ष्यसहित तयार पारिएको सो विधेयकलाई मन्त्रालयले आफ्नो आधिकारिक वेबसाइटमा सार्वजनिक गर्दै रचनात्मक राय-सुझावका लागि अपिल गरेको छ।

मन्त्रालयका अनुसार देशको समग्र सामाजिक तथा आर्थिक रूपान्तरणमा ठोस योगदान पुर्‍याउन सक्ने दक्ष, प्रतिस्पर्धी एवं आधारभूत, मध्यम तथा उच्चस्तरको प्राविधिक जनशक्ति उत्पादन गर्ने मूल उद्देश्यका साथ यो एकीकृत विधेयकको मस्यौदा तयार गरिएको हो।

हाल कार्यान्वयनमा रहेको दशकौं पुरानो ‘प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन, २०४५’ लाई पूर्ण रूपमा खारेज गर्ने गरी यस नयाँ एकीकृत विधेयकको प्रस्ताव गरिएको छ।

नयाँ कानुन पारित भएपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) लाई वर्तमान श्रम बजारको माग र आवश्यकताका आधारमा नयाँ पाठ्यक्रम परिमार्जन गर्ने, सम्बन्धन दिने र देशका विभिन्न क्षेत्रमा प्राविधिक शिक्षालयहरूको निर्धारण तथा नियमन गर्ने स्पष्ट कानुनी अधिकार सुम्पिने व्यवस्था मिलाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *