सिद्धार्थ बैंकद्वारा तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण, वार्षिक १५ सय विद्यार्थी लाभान्वित हुने

डिसी नेपाल
१२ जेठ २०८३ १३:२५

काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गण्डकी प्रदेशको तनहुँ जिल्लामा रहेका १२ वटा सामुदायिक विद्यालयहरूलाई प्रविधिमैत्री सहयोग उपलब्ध गराएको छ ।

बैंकले ती विद्यालयहरूलाई शिक्षण सिकाइ प्रक्रियामा आधुनिकता ल्याउने उद्देश्यका साथ एक–एक थान ‘इन्टरएक्टिभ डिस्प्ले स्मार्ट बोर्ड’ हस्तान्तरण गरेको हो ।

यही जेठ ११ गते श्री नारायणी आधारभूत विद्यालयको सभाहलमा एक विशेष कार्यक्रमको आयोजना गरी उक्त स्मार्ट बोर्डहरू औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो ।

उक्त कार्यक्रममा सिद्धार्थ बैंकका गण्डकी प्रदेश प्रमुख निरज श्रेष्ठ, दमौली शाखाका प्रबन्धक दिपक पौडेल र डुम्रे शाखाका प्रबन्धक सुधिर वाग्लेको उपस्थिति रहेको थियो ।

त्यस्तै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु सिम्खडा, यू.डब्लु.एस. नेपालका प्रतिनिधि, अभिभावक तथा विद्यार्थीहरूको समेत कार्यक्रममा व्यापक सहभागिता थियो ।

बालबालिकाहरू राष्ट्रका वास्तविक कर्णधार हुन् र देशको उज्ज्वल भविष्य उनीहरूले प्राप्त गर्ने आधुनिक ज्ञान एवं सीपमा नै निर्भर रहन्छ भन्ने मूल मान्यतालाई बैंकले आत्मसात् गरेको छ ।

शिक्षा क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई व्यापक रूपमा प्रवर्द्धन गर्दै सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई समयसापेक्ष गुणस्तरीय शिक्षासँग जोड्ने पवित्र उद्देश्यले यो सहयोग गरिएको बैंकले जनाएको छ ।

यस नवीन प्रविधिमैत्री कार्यबाट तनहुँका १२ वटा सामुदायिक विद्यालयमा अध्ययनरत प्रत्येक वर्ष १५ सयभन्दा बढी विद्यार्थीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास लिइएको छ ।

कक्षाकोठामा भित्र्याइएको यो नयाँ प्रविधिले परम्परागत शिक्षण शैलीलाई पूर्ण रूपमा बदल्दै दृश्यात्मक (भिजुअल) र अन्तरक्रियात्मक बनाउनेछ । डिजिटल सामग्री, चित्र तथा सान्दर्भिक भिडियोहरूको प्रयोगमार्फत विद्यार्थीहरूले कठिन पाठ्यवस्तु र विषयवस्तुहरूलाई समेत अत्यन्तै सहज र सरल रूपमा बुझ्न सक्ने भएकाले अबका दिनमा सिकाइ प्रक्रिया अझ रोचक, आकर्षक र प्रभावकारी बन्ने बैंकको दृढ विश्वास छ ।

सिद्धार्थ बैंकले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यलाई सधैं आफ्नो उच्च प्राथमिकतामा राख्दै समाजको चौतर्फी विकासमा टेवा पुर्‍याउने उद्देश्य बोकेको छ ।

यसै अनुरूप बैंकले विगतदेखि नै विभिन्न सामाजिक कार्यहरूमा निरन्तर सहभागिता जनाउँदै आएको छ भने आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रका यस्ता हितकारी कार्यहरूलाई निरन्तरता दिँदै जाने योजना बनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *