साउन महिनामा वैदेशिक रोजगारीका लागि ७० हजारभन्दा बढीले लिए श्रम स्वीकृति
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वैदेशिक रोजगारीका लागि ७० हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनमा कुल ७० हजार ४ सय ४१ जनाले पुनः श्रम स्वीकृतिसहित वैदेशिक रोजगारीको अनुमति लिएका छन्।
विभागको तथ्यांक अनुसार श्रम स्वीकृति लिनेमा ६० हजार ४ सय ७२ पुरुष र ९ हजार ९ सय ६९ महिला रहेका छन्। यसअघि गत असार महिनामा ६९ हजार ३ सय ६२ जनाले श्रम स्वीकृति लिएका थिए।
एक महिनाको अवधिमा ४२ हजार ६ सय ९३ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने २७ हजार ७ सय ४८ जनाले पुनः श्रम स्वीकृति लिएका छन्। यसैगरी, वैदेशिक रोजगारीमा जाने माध्यमगत तथ्यांक हेर्दा म्यानपावरमार्फत २९ हजार ४ सय ४७ जना र व्यक्तिगत तवरबाट १२ हजार ४ सय ४२ जना गएका छन्। साथै, ‘जीटुजी’ (सरकारबीचको सम्झौता) मार्फत ७ सय १२ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको विभागले जनाएको छ।
साउन महिनामा नेपाली कामदारहरूको पहिलो गन्तव्य संयुक्त अरब इमिरेट्स (यूएई) बनेको छ। विभागको विवरण अनुसार साउनमा सबैभन्दा बढी यूएईका लागि १८ हजार ७ सय ८४ जनाले श्रम स्वीकृति लिएका छन्। त्यसपछि मलेसियाका लागि १२ हजार ४ सय ९८, कतारका लागि १० हजार ३ सय ६० र साउदी अरबका लागि ८ हजार ६ सय १३ जनाले श्रम स्वीकृति लिएका छन्।
गत आर्थिक वर्ष २०८२/८३ मा कुल ७ लाख ९२ हजार १ सय ८७ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment