अत्यधिक गर्मीले जनजीवन प्रभावित, तापक्रम ४० डिग्री पुग्यो

डिसी नेपाल
२१ जेठ २०८३ १२:१२

गाईघाट। मनसुनको पूर्वसन्ध्यामा मौसममा आएको परिवर्तनसँगै उदयपुरको त्रियुगालगायत जिल्लाका विभिन्न भू-भागमा केही दिनयता अत्यधिक गर्मी बढेर जनजीवन कष्टकर बन्न थालेको छ।

स्थानीय मौसमविद्हरूका अनुसार एक हप्तादेखि त्रियुगा क्षेत्रको तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्न थालेको छ, जसका कारण तातो हावा (लु) चल्दा स्थानीय बासिन्दा ठूलो मर्कामा परेका छन्।

अत्यधिक गर्मी र तातो हावाका कारण विद्यालय जाने बालबालिकाहरू सबैभन्दा बढी प्रभावित भएका छन्।

त्रियुगा नगरपालिका-३ भुल्केस्थित सत्यदेवी माध्यमिक विद्यालयकी शिक्षिका देविका दाहालका अनुसार कक्षाकोठाभित्रै अध्ययन गरिरहेका विद्यार्थीहरू गर्मी सहन नसकेर बेहोस भई ढल्ने गरेका छन्। यस्ता घटनाहरू अन्य विद्यालयमा पनि देखिन थालेपछि शिक्षक र अभिभावक चिन्तित बनेका छन्।

गर्मीकै कारण ग्रामीण भेगका किसानहरूलाई दैनिक मेलापात, घाँस-दाउरा गर्न र गाईवस्तु चराउन समेत धौ-धौ परेको छ।

त्रियुगा नगरपालिका-१ जोगीदह बरगाछीका स्थानीय देवीप्रसाद ढुंगानाले एक हप्ता अगाडिसम्म दिउँसोको समयमा गाईवस्तु जंगल लैजाने गरे पनि अहिले अत्यधिक गर्मीका कारण बिहानै लैजानुपर्ने बाध्यता आइलागेको सुनाए।

यस्तै जोगीदह कङग खोलाका उमानाथ खनालले दिउँसो घाँस दाउरा र मेलापात जानै नसकिने स्थिति भएपछि घर वरिपरि शीतल खोजेर दिन बिताउनुपरेको पीडा व्यक्त गरे।

अत्यधिक गर्मीको चपेटामा वृद्धवृद्धाहरू पनि परेका छन्। त्रियुगा नगरपालिका–११ गाईघाट शान्ति नगरटोलका ७० वर्षीय वृद्ध होमबहादुर कार्कीले केही दिनयताको उकुसमुकुस गराउने गर्मीका कारण घरबाहिर निस्केर साथीभाइसँग भेटघाट र हिँडडुल गर्न समेत नसकिएको बताए।

बढ्दो तापक्रमको प्रत्यक्ष असर स्थानीय व्यापार व्यवसायमा पनि देखिएको छ। दिउँसोको समयमा चर्को घाम र तातो हावा चल्ने भएकाले गाईघाट बजार क्षेत्र दिउँसो सुनसानजस्तै हुने गरेको स्थानीय व्यवसायी रमेशलाल साह बताउँछन्।

बिहान र बेलुका मात्रै मानिसहरूको चहलपहल हुने र दिउँसोको समयमा सर्वसाधारणहरू घरभित्रै बस्न रुचाउने भएकाले व्यापार व्यवसाय ठप्प जस्तै भएको व्यवसायीहरूको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *