एभरेस्ट बैंकद्वारा नेपाल-भारत क्रस-बोर्डर रियल-टाइम (P2P) रेमिट्यान्स सेवाको थालनी
काठमाडौं। हालै सम्पन्न नेपाल-भारत अन्तरदेशीय फन्ड ट्रान्सफर (P2P) सम्झौतासँगै एभरेस्ट बैंक लिमिटेडले एक ठूलो डिजिटल फड्को मारेको छ।
बैंकले आफ्नो लोकप्रिय मोबाइल बैंकिङ एप ‘EBL Touch 24’ मार्फत नेपाल र भारतबीच ‘रियल-टाइम क्रस-बोर्डर (P2P) रेमिट्यान्स सेवा’ औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो।
यस नवीन डिजिटल प्रणालीको सुरुवात भएसँगै अब दुवै देशका नागरिकहरूले अत्यन्तै तीव्र गतिमा, सरल र सुरक्षित तवरले तत्कालै (Real-time) रकम आदानप्रदान गर्न सक्नेछन्। नयाँ व्यवस्थापन र कानुनी परिधि अनुसार यस अन्तरदेशीय डिजिटल सेवा मार्फत रकम स्थानान्तरण (ट्रान्सफर) गर्नका लागि निश्चित सीमाहरू निर्धारण गरिएका छन्।
जसअन्तर्गत, नेपालमा कार्यरत रहेका भारतीय नागरिकहरूले आफ्नो मोबाइल एप प्रयोग गरी दैनिक अधिकतम भारतीय रुपैयाँ (भारु) १५,००० र मासिक अधिकतम भारु १,०००,००० सम्म सहजै भारतमा रहेका आफ्ना परिवार वा व्यावसायिक खातामा पठाउन सक्नेछन्। त्यसैगरी, भारतमा कार्यरत रहेका नेपाली तथा भारतीय नागरिकहरूका लागि भने विशेष सुविधा दिइएको छ ।
उनीहरूले कुनै पनि मासिक सीमाको बन्धन बिना नै दैनिक अधिकतम भारु २,०००,००० सम्म रकम नेपालमा विपे्रषण (रेमिट्यान्स) मार्फत पठाउन सक्ने व्यवस्था मिलाइएको छ। यो नयाँ प्रणाली अन्तर्गत दुवै देशका ग्राहकहरूले रकम पठाउँदा बैंक खाताको लामो विवरण भरिरहनुपर्ने झन्झट हुँदैन।
उनीहरूले केवल प्राप्तकर्ताको मोबाइल नम्बर वा भर्चुअल पेमेन्ट एड्रेस (VPA) को प्रयोग गरी सेकेन्डभरमै रकम पठाउन सक्छन्। यसका साथै, भारतका प्रयोगकर्ताहरूले आफ्नो युनिफाइड पेमेन्ट्स इन्टरफेस (UPI) आईडी मार्फत सिधै आफ्नो खातामा रकम प्राप्त गर्न सक्ने सुविधा समेत उपलब्ध छ।
वर्षौँदेखि बैंकिङ च्यानलबाट पैसा पठाउन झन्झट व्यहोरिरहेका र हुन्डी जस्ता अवैध माध्यमको जोखिममा रहेका दुवै देशका श्रमिक, व्यवसायी र सर्वसाधारणका लागि यो सेवा कोशेढुङ्गा साबित हुने बैंकले विश्वास लिएको छ।
यस क्रस-बोर्डर रेमिट्यान्स सेवाका बारेमा बुझ्न र थप विस्तृत जानकारी लिनका लागि ग्राहक महानुभावहरूले एभरेस्ट बैंकको आधिकारिक वेबसाइट (www.everestbankltd.com) मा हेर्न वा आफूलाई पायक पर्ने नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ।







डिसी नेपाल







Facebook Comment