भारतको नयाँ नियमले नेपाली चिया ठप्प, असार १ देखि इलामका ५३ उद्योग बन्द हुने

डिसी नेपाल
३१ जेठ २०८३ ६:५६

इलाम। भारत सरकारले नेपाली चिया आयातमा नयाँ र झन्झटिलो नियम लागू गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योगहरू ठप्प हुने भएका छन्। ५३ वटा चिया उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले भण्डारण क्षमता भरिएको र चिया बिक्री नभएको भन्दै आगामी असार १ गतेदेखि उद्योग बन्द गर्ने घोषणा गरेको छ।

एसोसिएसनका अनुसार भारतीय बजारमा पुगेको ३ लाख किलोभन्दा बढी नेपाली चिया गुणस्तर परीक्षणका नाममा अलपत्र परेको छ भने उद्योगहरूमा ७ लाख किलोभन्दा बढी तयारी चिया थन्किएको छ।

एसोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठले किसानबाट खरिद गरिएको हरियोपत्ती प्रशोधन गरेर तयारी चिया बनाए पनि बजार ठप्प हुँदा र भण्डारण गर्ने ठाउँसमेत नहुँदा उद्योग बन्द गर्नुको विकल्प नरहेको बताए। उनले बजार बन्द भए पनि किसानलाई भुक्तानी रोक्न नमिल्ने भएकाले उद्योग नै बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था आइलागेको जानकारी दिए।

भारतले सन् २०२६ मे १ देखि नेपालबाट आयात हुने चियामा ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी) लागू गरेको छ। यो नयाँ व्यवस्था अनुसार नेपालबाट जाने प्रत्येक गाडीको चिया छुट्टाछुट्टै परीक्षण गर्नुपर्ने, त्यसको प्रतिवेदन आउन २० दिनभन्दा बढी लाग्ने र नतिजा नआएसम्म चिया बिक्री गर्न नपाइने नियम बनाइएको छ। यदि परीक्षणमा असफल भए चिया नष्ट गर्नुपर्ने वा फिर्ता ल्याउनुपर्ने कडा र बाध्यकारी व्यवस्था भारतले राखेको छ।

यस प्राविधिक झन्झटका कारण उत्पादित चिया बजारसम्म पुर्‍याउने बाटो नै बन्द भएको उद्योगी गोपाल कट्टेलले बताए। उनले नेपाल सरकारले समयमै उच्चस्तरीय कूटनीतिक पहल गरेर निर्यात सहजीकरण नगरे अर्बौँ रुपैयाँको नेपाली चिया बजार गुम्ने खतरा रहेको चेतावनी दिएका छन्।

उद्योगहरू बन्द हुने भएपछि यस क्षेत्रका हजारौँ चिया किसानहरू ठुलो मर्कामा पर्ने भएका छन्। एसोसिएसनका अनुसार सूर्योदय नगरपालिकामा मात्र २ हजार ९९५ चिया किसान छन्।

यहाँ ३३ हजार ६५५ रोपनी क्षेत्रफलमा चियाखेती हुँदै आएको छ, जहाँबाट वार्षिक २ करोड किलो हरियोपत्ती उत्पादन हुन्छ। उद्योग बन्द भएपछि आफ्नो रोजिरोटी गुम्ने र परिवार कसरी चलाउने भन्ने चिन्ता किसानहरूमा छाएको छ।

६५ भन्दा बढी चिया उद्योग रहेको सूर्योदय नगरपालिकाले भारतीय अवरोध खुला गर्न तत्काल उच्चस्तरीय कूटनीतिक पहल गरिदिन परराष्ट्र मन्त्रालयसँग माग गरेको छ। भारतको कोलकाता पुगेका नेपाली चियाका ‘कन्साइनमेन्ट’माथि भारतीय चिया बोर्डले आयातकर्ताको गोदाममै प्रवेश गरी प्रत्येक बोराको नमुना संकलन गर्न थालेको छ।

आधा दर्जनभन्दा बढी ट्रकबाट नमुना संकलन गरिएको एक साता बितिसक्दा पनि प्रयोगशालाको प्रतिवेदन नआउँदा बिक्री-वितरण पूर्ण रूपमा रोकिएको छ। नगरपालिकाका कार्यवाहक प्रमुख दुर्गाकुमार बरालले झन्झटिलो प्रक्रियाका कारण गुणस्तरीय नेपाली चिया भारतीय गोदाममै थन्किएर बिग्रिने जोखिम बढेको बताए।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका नवीन कोइरालाका अनुसार नेपालबाट बर्सेनि ७० लाख किलोभन्दा बढी अर्थोडक्स तयारी चिया निर्यात हुन्छ, जसको ९० प्रतिशतभन्दा बढी हिस्सा भारतीय बजारले ओगटेको छ। वार्षिक सवा ४ अर्ब रुपैयाँभन्दा बढीको तयारी चिया निर्यात हुने नेपालमा अर्थोडक्स चिया मुख्यतः इलाम, पाँचथर र धनकुटामा उत्पादन हुने गर्दछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *