न्यूरोडको पाकोमा नेपालकै पहिलो अत्याधुनिक चिप–लेभल रिपेयरिङ सेन्टर सञ्चालनमा

डिसी नेपाल
८ असार २०८३ ११:३१

काठमाडाैं। काठमाडौंको प्रमुख व्यावसायिक केन्द्र न्यूरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक चिप-लेभल रिपेयरिङ तथा डिजिटल डिभाइस रिकभरी प्रविधिसहितको ‘एन आइ ल्यापटप सर्भिस सेन्टर’ औपचारिक रूपमा सञ्चालनमा आएको छ।

बिग्रिएर थन्किएका मोबाइल, ल्यापटप, म्याकबुक, मदरबोर्ड जस्ता महँगा डिजिटल उपकरणहरूलाई न्यूनतम लागतमा मर्मत गरी पुनः सञ्चालनयोग्य बनाउने उद्देश्यका साथ यो सेवा केन्द्र सुरु गरिएको हो।

पाकोस्थित पिपुल्स प्लाजा अगाडि रहेको केएनके इलेक्ट्रोनिक्स कम्प्लेक्सको चौथो तलामा स्थापित यस केन्द्रले आईफोन तथा एन्ड्रोइड सफ्टवेयर समाधान, मदरबोर्ड मर्मत, विन्डोज सपोर्ट, एवं एडोब र अफिस प्याकेज इन्स्टलेसन जस्ता विशिष्ट प्राविधिक सेवाहरू एकै ठाउँबाट उपलब्ध गराउनेछ।

सेवा केन्द्रको उद्घाटन समारोहका प्रमुख अतिथि सीटीईभीटीका उपाध्यक्ष एवं नेपाल औषधि लिमिटेडका निवर्तमान महाप्रबन्धक डा. मोहम्मद सफीउल्लाहले नेपालमा पहिलोपटक भित्रिएको यस्तो विशिष्ट प्रविधिले उपभोक्तालाई ठूलो आर्थिक राहत पुर्‍याउने विश्वास व्यक्त गरे।

लाखौँ रुपैयाँ मूल्यका उपकरणहरू सामान्य खराबीकै कारण फाल्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै अब थोरै खर्चमा तिनलाई पुनर्जीवन दिन सकिने उनले बताए । नेपालजस्तो विकासोन्मुख मुलुकका लागि नागरिकको खर्च बचत गर्न र डिजिटल उपकरणको आयु बढाउन यो प्रविधि अत्यन्तै उपयोगी सिद्ध हुने उनको भनाइ थियो ।

कार्यक्रमका विशेष अतिथि एवं कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान महासंघ) का कार्यवाहक अध्यक्ष तथा साइबर सुरक्षा विज्ञ चिरञ्जीवी अधिकारीले यस स्तरको रिपेयरिङ प्रविधि नेपालमै भित्रिनु सूचना प्रविधि क्षेत्रका लागि एक सकारात्मक र महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गरे ।

यस्तै, सेवा केन्द्रका सञ्चालक गणेश शर्माले नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको ‘रिपेरी एक्स फ्रेन्चाइजी’ भित्र्याएर सेवा सुरु गरिएको जानकारी दिँदै बोलेर भन्दा पनि काम गरेर ग्राहकको विश्वास जित्ने प्रतिबद्धता जनाए ।

दक्ष प्राविधिक टोली, आधुनिक उपकरण र पारदर्शी सेवा प्रणालीलाई प्राथमिकतामा राखेको यस सेन्टरले काठमाडौँ उपत्यकामा डिजिटल मर्मतको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने र उपभोक्ताका लागि भरपर्दो गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *