सुन र चाँदीको मूल्यमा उच्च गिरावट, सुन तोलामा ३ हजार ६ सय र चाँदी १०५ रुपैयाँले घट्यो
काठमाडाैं। नेपाली बजारमा सुन र चाँदीको मूल्य घट्ने क्रमले आज बुधबार पनि निरन्तरता पाएको छ। मंगलबार ओरालो लागेको दुवै बहुमूल्य धातुको भाउ आज थप घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार ६ सय रुपैयाँले गिरावट आई २ लाख ८३ हजार ५ सय रुपैयाँमा झरेको छ। यसअघि हिजो मंगलबार पनि सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको थियो।
पछिल्लो समय सुनको मूल्यमा ठुलो उतारचढाव देखिँदै आएको छ, जसअन्तर्गत गत शुक्रबार मात्रै सुनको भाउ एकैदिन तोलामा १० हजार ५ सय रुपैयाँले घटेको थियो।
सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट दर्ता भएको छ। तोलामा १०५ रुपैयाँले घटेर चाँदीको भाउ आज प्रतितोला ४ हजार ४ सय ८५ रुपैयाँ कायम भएको महासंघले उल्लेख गरेको छ। हिजो मंगलबार पनि चाँदीको मूल्य तोलामा १४० रुपैयाँले ओरालो लाग्दै प्रतितोला ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भएको थियो।
नेपाली सुनचाँदी बजारको इतिहासलाई हेर्दा गएको माघ १५ गते सुनको भाउ एकैदिन तोलामा २० हजार ५ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै सबैभन्दा उच्च मूल्य हो।
सोही दिन चाँदीको मूल्य पनि इतिहासकै उच्च बिन्दु प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो। यद्यपि, त्यसको केही दिनपछि अर्थात् माघ १८ गते चाँदीको मूल्यमा हालसम्मकै सबैभन्दा उच्च गिरावट आउँदै तोलामा १५ सय ६५ रुपैयाँले घटेको थियो।






डिसी नेपाल





Facebook Comment