डिजिटल रूपान्तरण र इन-हाउस सफ्टवेयर प्रणालीमार्फत नेपाल टेलिकमले सेवा प्रवाहलाई बनायो थप प्रभावकारी
काठमाडौं। नेपाल टेलिकमले देशैभर आफ्नो सेवा प्रवाहलाई आधुनिक, डिजिटल तथा ग्राहक केन्द्रित बनाउने उद्देश्यका साथ संस्थागत सुधार र डिजिटल रूपान्तरणका विभिन्न योजनाहरूलाई तीव्रता दिएको छ।
यसै क्रममा कम्पनीले आन्तरिक कार्यप्रणालीलाई थप पारदर्शी, उत्तरदायी र स्वचालित बनाउन आफ्नै आन्तरिक जनशक्ति र प्राविधिक दक्षताको उपयोग गरी विभिन्न इन-हाउस सफ्टवेयर प्रणालीहरूको विकास तथा कार्यान्वयनलाई अगाडि बढाएको छ।
यी प्रणालीहरूले कम्पनीको कार्यसम्पादनमा दक्षता ल्याउनुका साथै सुशासन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ। कम्पनीले केन्द्रीय कार्यालयदेखि क्षेत्रीय निर्देशनालय तथा मातहतका सम्पूर्ण कार्यालयहरूको खरिद प्रक्रियालाई पूर्ण रूपमा डिजिटल माध्यमबाट व्यवस्थापन गर्न इन-हाउस ‘प्रोक्योरमेन्ट म्यानेजमेन्ट सिस्टम’ कार्यान्वयनमा ल्याएको छ।
नेपालको सार्वजनिक खरिदका विभिन्न पक्षहरूलाई ध्यानमा राखेर निर्माण गरिएको यस प्रणालीले सार्वजनिक खरिदका विभिन्न चरण, सम्झौता र सोपछिको कार्यान्वयन तथा अनुगमनलाई थप परिस्कृत बनाउनेछ। यसले खरिद प्रक्रियामा पारदर्शिता, एकरूपता र अभिलेखीकरण सुनिश्चित गर्दै प्रक्रियागत ढिलाइलाई न्यूनीकरण गर्नेछ।
यसका साथै देशभरका विभिन्न कार्यालयहरूको सिफ्ट ड्युटी व्यवस्थापन र ड्युटीमा रहने जनशक्तिको समग्र जानकारी लिनका लागि ‘ड्युटी चार्ट म्यानेजमेन्ट सिस्टम’ समेत सञ्चालनमा ल्याइएको छ।
कम्पनीले गर्ने विभिन्न बैठक तथा छलफलहरूलाई व्यवस्थित गर्न ‘मिटिङ म्यानेजमेन्ट सिस्टम’ को विकास गरेको छ, जसले बैठकका एजेन्डा, उपस्थित सदस्यहरू र माइन्युट लेख्ने ढाँचा उपलब्ध गराउनुका साथै सम्बन्धित व्यक्तिहरूलाई एसएमएस वा इमेलमार्फत जानकारी र रिमाइन्डर पठाउने कार्य सहज बनाएको छ।
कार्यालयको सेवाप्रवाहलाई पूर्ण रूपमा कागजरहित (Paperless) र पारदर्शी बनाउन ‘वर्कफ्लो म्यानेजमेन्ट सिस्टम’ को विकास कार्य पनि अगाडि बढाइएको छ। साथै, सम्पूर्ण नेटवर्क तथा सूचना प्रविधिसम्बन्धी उपकरणहरूको एकीकृत व्यवस्थापन र ग्राहकका गुनासाहरूको छरितो समाधानका लागि ‘यूनिफाइड टिकेटिङ सिस्टम’ विकासको कार्य अन्तिम चरणमा पुगेको छ। यसले ग्राहकको गुनासो दर्तादेखि समाधान प्रक्रियासम्मलाई एउटै प्रणालीमा समेट्ने भएकाले सेवाप्रवाह अझ ग्राहकमैत्री बन्नेछ।
दूरसञ्चार सेवाको विस्तार र पहुँचका क्षेत्रमा पनि नेपाल टेलिकमले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा ४ हजार २ सय मिटरको उचाइमा अवस्थित मुकोटस्थित टावरमा फोरजी उपकरण जडान गरी सेवा सञ्चालनमा ल्याएसँगै कम्पनीको फोरजी सेवा पुगेका स्थानीय निकायहरूको संख्या ७५० पुगेको छ।
व्यावसायिक तथा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले विभिन्न प्रदेशहरूमा आक्रामक रूपमा बजार प्रवर्द्धन, कपर नेटवर्कलाई एफटीटीएच मा रूपान्तरण गर्ने कार्य र विपन्न तथा अपाङ्गता भएका विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा स्कुल ब्याग वितरण गर्ने जस्ता कार्यहरूलाई निरन्तरता दिइरहेको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ को प्रस्तावित बजेटमाथि भएको बृहत छलफलमा निमित्त प्रबन्ध निर्देशक रीना डंगोलले विद्यमान चुनौतीहरूलाई सम्बोधन गर्दै ग्राहक संख्या वृद्धि, पूर्वाधारको अधिकतम उपयोग, नयाँ आयस्रोतको पहिचान र आक्रामक खर्च कटौती गर्ने रणनीतिक योजना अघि सारेको जानकारी दिएका छन्।






डिसी नेपाल





Facebook Comment