विश्वकप फाइनलले तय गर्नेछ बालोन डि’ओर, मेस्सीलाई नवौँ उपाधि वा यमालको विश्वरेकर्ड ?
काठमाडौँ । विश्वकपको फाइनल खेलले केवल फिफा विश्वकपको नयाँ विजेताको मात्रै टुङ्गो लगाउने छैन, बरु यस वर्षको प्रतिष्ठित व्यक्तिगत विधाको पुरस्कार ‘बालोन डी’ओर’ को विजेता तय गर्न पनि निर्णायक भूमिका खेल्नेछ। स्पेन र अर्जेन्टिनाबीचको उपाधि भिडन्तले यस वर्षको फुटबलको सर्वोच्च व्यक्तिगत सम्मान कसको पोल्टामा जान्छ भन्ने कुराको फैसला गर्ने बलियो सम्भावना छ।
अर्जेन्टिनी टोलीका हकमा कसले यो पुरस्कार पाउनेछ भन्ने विषयमा कुनै दुविधा छैन। यदि लियोनेल मेस्सीले आफ्नो खेल जीवनमा दोस्रो पटक विश्वकपको उपाधि जितेमा, उनी तत्कालै यस पुरस्कारका लागि मुख्य दाबेदार बन्नेछन्। अमेरिकी लिग एमएलएसमा इन्टर मियामीलाई विजेता बनाएका ३९ वर्षीय मेस्सीले अर्जेन्टिनालाई लगातार दोस्रो पटक विश्वकप दिलाएमा यो उनको खेल जीवनको अर्को अभूतपूर्व कोसेढुङ्गा हुनेछ।
यसैबीच, ‘बालोन डी’ओर’ को आधिकारिक सामाजिक सञ्जाल ह्यान्डलले गरेको एउटा पोष्टले पनि मेस्सीलाई यस दौडमा झनै बलियो रूपमा उभ्याएको छ। फाइनल खेलको ७२ घण्टाअघि बालोन डी’ओरको आधिकारिक खाताले युरोप बाहिरको लिगमा खेल्ने खेलाडीले पनि यो प्रतिष्ठित पुरस्कार जित्न सक्ने नियमको स्मरण गराएको छ। यस स्पष्टीकरणलाई विश्लेषकहरूले मेस्सीको नवौँ बालोन डी’ओरको बलियो पूर्वसंकेतका रूपमा लिएका छन्।
अर्कोतर्फ, यदि स्पेनले विश्वकपको उपाधि जितेमा ‘बालोन डी ओर’ को दौड अलि जटिल र रोचक बन्नेछ। यस्तो अवस्थामा मुख्य रूपमा दुई खेलाडीहरूबीच प्रतिस्पर्धा हुने देखिन्छ । हाल यस पुरस्कारका लागि दोस्रो बलियो दाबेदार मानिएका युवा स्टार लामिन यामालले स्पेनिस लिग ला लिगा जितिसकेका छन् । उनले विश्वकप पनि जितेको खण्डमा यो पुरस्कारमाथि उनको बलियो दाबी पुग्नेछ।
यदि यमालले यो पुरस्कार जितेमा उनको नाममा विश्वरेकर्ड बन्नेछ । उनी यो पुरस्कार जित्ने इतिहासकै कान्छा केलाडी बन्नेछन् । यसअघि सबैभन्दा कान्छो उमेरमा बालोन डि’ओर जित्ने खेलाडी ब्राजिलका लिजेन्ड रोनाल्डो नाजारियो हुन् । उनले २१ वर्ष ३ महिनाको उमेरमा यो पुरस्कार जितेका थिए । यमाल भने अहिले केवल १९ वर्षका छन् ।
यसअघि नै यो पुरस्कार जितिसकेका म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीको नाम पनि उत्तिकै बलियो विकल्पका रूपमा अगाडि आउनेछ, जसको खेल कौशललाई विश्वभरका खेल विश्लेषकहरूले निकै उच्च मूल्याङ्कन गर्ने गरेका छन्।
ह्यारी केन, जुड बेलिङ्घम, किलियन एम्बाप्पे, माइकल ओलिसे र ओसमान डेम्बेले जस्ता विश्वस्तरीय खेलाडीहरूका लागि यस वर्ष बालोन डी’ओर जित्ने एकमात्र बाटो भनेको फाइनलमा मेस्सी र अर्जेन्टिनाको पराजय नै हो। यदि मेस्सीले फाइनल जितेमा अन्य खेलाडीहरूको दाबेदारी स्वतः समाप्त हुने खेल विश्लेषकहरूको विश्लेषण छ।






डिसी नेपाल





Facebook Comment