नेपाल टेलिकमको नयाँ सुविधा: हराएको वा बिग्रेको सिमकार्डको सट्टा अनलाइनबाटै आवेदन दिन सकिने

डिसी नेपाल
१ साउन २०८३ १७:५४

काठमाडौं। नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि सेवा प्रवाहलाई थप आधुनिक र सहज बनाउँदै हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै साउन १ गतेदेखि यो डिजिटल सेवाको औपचारिक सुरुवात गरिएको जानकारी दिएको हो।

अब नेपाल टेलिकमको फिजिकल वा ई–सिम हराएमा अथवा बिग्रिएमा सेवाग्राहीहरू नयाँ सिम लिनका लागि काउन्टरमा लाइन बस्नुपर्ने झन्झटबाट मुक्त भएका छन्। यसका लागि ग्राहकले टेलिकमको आधिकारिक वेबसाइट esim.ntc.net.np मा लगइन गरी ’Apply for Lost/Damaged SIM’ विकल्पमा क्लिक गरेर आवश्यक विवरणहरू भरी अनलाइन आवेदन दिन सक्नेछन्।

विज्ञप्तिअनुसार अनलाइन आवेदन प्रक्रिया सफलतापूर्वक पूरा गरेपछि ग्राहक स्वयं वा तिनका प्रतिनिधि सम्बन्धित काउन्टरमा गएर नयाँ सिमकार्ड प्राप्त गर्न सक्नेछन्। यसरी नयाँ सिम लिँदा लाग्ने रु. ५० शुल्क भने काउन्टरमै बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

ग्राहकको गोपनीयता र सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै टेलिकमले सुरक्षा मापदण्डमा पनि कडाइ गरेको छ। यदि सिम लिन ग्राहक स्वयं उपस्थित हुन नसकेमा, प्रतिनिधिको नाम अनलाइन आवेदन फाराममै स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। साथै, सिम लिन जाने प्रतिनिधिले आफ्नो परिचय खुल्ने आधिकारिक कागजात अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।

कम्पनीका अनुसार यो अनलाइन पोर्टलमार्फत हराएको वा बिग्रेको सिम प्रतिस्थापन गर्ने मात्र नभई अन्य थुप्रै सुविधाहरू पनि लिन सकिनेछ। ग्राहकले यसै पोर्टलमार्फत नयाँ प्रिपेड ई–सिम लिन, आफ्नो पुरानो फिजिकल सिमलाई ई–सिममा परिवर्तन गर्न, नयाँ फिजिकल सिमका लागि आवेदन दिन तथा आफ्नो ग्राहक विवरण (केवाईसी) अद्यावधिक गर्नेसमेत सुविधा पाउनेछन्। यस नवप्रवर्तनकारी सेवाले सिम प्रतिस्थापन प्रक्रियालाई थप सहज, सुरक्षित, छिटो र व्यवस्थित बनाउने विश्वास नेपाल टेलिकमले व्यक्त गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *