सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङ ग्र्याजुएट सम्मानित: नेपालमा नयाँ एआई कार्यक्रम सुरु
काठमाडौं। सामसङ नेपालले नेपालमा नयाँ पुस्ताको डिजिटल प्रतिभा विकास गर्ने उद्देश्यका साथ सञ्चालित ‘सामसङ इनोभेसन क्याम्पस’ (SIC) अन्तर्गतको कोडिङ तथा प्रोग्रामिङ कोर्स सफलतापूर्वक सम्पन्न गरेको छ।
सो कोर्स पूरा गर्ने विद्यार्थीहरूलाई एक विशेष समारोहका बिच सम्मान गरिनुका साथै कम्पनीले अब नयाँ ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (AI) कोर्सका लागि आवेदन खुला गरेको घोषणा गरेको छ।
गत २२ डिसेम्बर २०२५ देखि ३० जुन २०२६ सम्म सञ्चालन भएको कोडिङ र प्रोग्रामिङ पाठ्यक्रमले विद्यार्थीहरूलाई प्राविधिक सीप, व्यावहारिक परियोजना अनुभव तथा उद्योग एक्सपोजर प्रदान गरेको थियो।
कार्यक्रममा बोल्दै सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङ (Chang Uk Jung) ले भन्नुभयो, “नेपालका युवा प्रतिभाहरूमा अपार सम्भावना छ।
आज त्यो सम्भावना वास्तविक उपलब्धिमा परिणत भएको देख्दा खुसी लागेको छ। एआईले हरेक क्षेत्रलाई रूपान्तरण गरिरहेको अवस्थामा डिजिटल प्रतिभाको विकास अत्यावश्यक भइसकेको छ। सामसङले युवाहरूलाई सीप र आत्मविश्वास दिएर नेपालको डिजिटल भविष्यको नेतृत्व गर्न सक्षम बनाइरहेको छ।”
मुख्य विशेषता तथा आगामी योजनाहरू:
-
नयाँ एआई (AI) कार्यक्रम: विश्वभर एआई प्रविधिको माग तीव्र रूपमा बढिरहेको सन्दर्भमा यो नयाँ पाठ्यक्रम व्यावहारिक शिक्षा र वास्तविक समस्या समाधानमा केन्द्रित हुनेछ। यसले नेपाली विद्यार्थीहरूलाई एआई क्षमता निर्माण गर्न र देशको डिजिटल विकासमा योगदान पुर्याउन मद्दत गर्नेछ।
-
मेन्टरसिप र करियर सहयोग: कक्षाकोठाको सिकाइमा मात्र सीमित नरही सामसङका विशेषज्ञहरूले ग्र्याजुएटहरूलाई करियर मार्गदर्शन, नवप्रवर्तन परियोजना र मेन्टरसिप सुविधा प्रदान गरिरहनेछन्।
-
‘अल्मुनाई नेटवर्क’ को स्थापना: पूर्वविद्यार्थीहरूलाई एकआपसमा जोड्न, निरन्तर सिकाइ कायम राख्न र नयाँ सहभागीहरूलाई मार्गदर्शन गर्न कम्पनीले ‘सामसङ इनोभेसन क्याम्पस अल्मुनाई नेटवर्क’ स्थापना गर्ने योजना बनाएको छ।
सामसङको ग्लोबल सीएसआर (CSR) भिजन “Together for Tomorrow! Enabling People” अन्तर्गत सन् २०२३ देखि नेपालमा SIC कार्यक्रम सुरु भएको हो।
यसले प्राविधिक सीपका साथै सञ्चार, सहकार्य र आलोचनात्मक सोच जस्ता आवश्यक कार्यस्थल क्षमताको विकासमा जोड दिँदै आएको छ। देशमा बलियो एआई इकोसिस्टम निर्माण गर्न शिक्षाविद्, उद्योग र सरकारबिचको सहकार्य अपरिहार्य रहेको सामसङको भनाइ छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment