सुनसरीको देवानगञ्ज र हरिनगरमा अनिश्चितकालीन कर्फ्यु

डिसी नेपाल
११ साउन २०८३ ७:३२

इनरुवा। साउने सोमबारको बोलबम यात्राका क्रममा डिजे बजाउने विषयलाई लिएर दुई समुदायबीच भीषण झडप, तोडफोड र आगजनी भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका संवेदनशील क्षेत्रहरूमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

स्थिति नियन्त्रणबाहिर जान नदिन प्रमुख जिल्ला अधिकारीद्वारा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम सोमबार बिहान ७:०० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कडा कर्फ्यु लागू गरिएको हो।

प्रशासनले तोकेको चार किल्लाअनुसार हरिनगर बजारको जुनिया टोलदेखि बसन्तपुर मोडसम्म, भुटाहा बजारको मोरिया धार खोलादेखि सुनसरी खोलासम्म, र कप्तानगञ्ज बजारको यादव टोलदेखि नेपाल-भारत सीमा क्षेत्रसम्म कर्फ्यु तोकिएको छ।

त्यसै गरी घुस्की बजारको कासिमिया मदरसादेखि हिमालय पब्लिक स्कुलसम्म र देवानगञ्ज बजारको मुसहर टोलदेखि गाउँपालिका कार्यालयसम्मको सीमाभित्र कर्फ्यु आदेश जारी गरिएको छ।

यी तोकिएका क्षेत्रहरूमा कुनै पनि व्यक्तिलाई आवतजावत गर्न, भेला हुन, जुलुस-प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। कर्फ्यु आदेश उल्लङ्घन गर्नेलाई प्रचलित कानुनबमोजिम एक हजार रुपैयाँसम्म जरिवाना, एक महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने चेतावनीसमेत दिइएको छ।

आइतबार राति बोलबम जल यात्राका लागि कोशी ब्यारेजबाट जल लिएर डिजे बजाउँदै कप्तानगञ्ज चोकतर्फ जाँदै गरेका श्रद्धालु र अर्को पक्षबीच अबेर राति डिजे बजाएर होहल्ला गरेको विषयमा भनाभन सुरु भएको थियो।

सामान्य विवादले छोटो समयमै उग्र रूप लिँदै जाँदा दुवै पक्षबीच ढुङ्गामुढा र तोडफोड सुरु भयो। उत्तेजित भीडले बजार क्षेत्रका सर्वसाधारणका घर, मेडिकल, सवारीसाधन र अन्य संरचनामा व्यापक तोडफोडका साथै आगजनी गर्न थालेपछि स्थिति उग्र बनेको थियो।

स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास र हवाई फायर गरे पनि तोडफोड नरोकिएपछि प्रहरीले चलाएको गोली लागेर देवानगञ्जका ओमप्रकाश मेहताको मृत्यु भएको छ। गोली लागेर गम्भीर घाइते भएका मेहताको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

झडपमा ९ जना सर्वसाधारण, नेपाल प्रहरीका निरीक्षक राकेश राईसहित ८ जना र सशस्त्र प्रहरीका ५ जना गरी कुल २२ जना घाइते भएका छन्। घाइतेहरूको कोशी अस्पताल, विराट नर्सिङ होम र न्युरो अस्पतालमा उपचार भइरहेको छ।

घटनापछि कप्तानगञ्ज र आसपासको क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ठूलो टोली परिचालन गरी सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको छ। स्थानीय प्रशासनले सर्वसाधारणलाई कर्फ्युको पूर्ण पालना गर्न, अफवाहको पछि नलग्न र सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ। साथै वातावरण सहज बनाउन स्थानीय जनप्रतिनिधि र दुवै पक्षका प्रतिनिधिहरूसँग निरन्तर छलफल भइरहेको प्रशासनले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *