औँला पड्काएर ब्याट्सम्यानलाई ‘आउट’ गराएको आरोप, ‘क्लिकी पोन्टिङ’ माथि आधिकारिक छानबिन सुरु

डिसी नेपाल
१३ साउन २०८३ १३:११

काठमाडौं । इङ्गल्याण्डको क्लब क्रिकेटमा खेल भावनाविपरीत एउटा यस्तो अनौठो विवाद सतहमा आएको छ, जसले सिङ्गो क्रिकेट जगतलाई नै चकित पारिदिएको छ। आरोप कुनै बल टेम्परिङ, बल परिवर्तन वा पिच बिगारेको होइन बरू औँला पड्काएर अम्पायरलाई झुक्याउँदै ब्याट्सम्यानलाई आउट गराएको चालबाजीको हो।

सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि ती खेलाडीलाई विश्वभरका क्रिकेट समर्थकहरूले अस्ट्रेलियाका महान कप्तान रिकी पोन्टिङको नामसँग जोड्दै ‘क्लिकी पोन्टिङ’ को उपनाम दिएका छन्। विवाद चर्किएपछि ‘नर्थ योर्कशायर एन्ड साउथ डरहम क्रिकेट लिग’ ले घटनाको आधिकारिक छानबिन सुरु गरेको छ।

यो विवाद गत जुलाई २५ का दिन सोल्टबर्न क्रिकेट क्लब र नोर्टन बीच खेलिएको ‘डिभिजन-२’ को खेलबाट सुरु भएको हो। सामाजिक सञ्जालमा भाइरल भिडियोमा स्लिप वा सर्ट लेग क्षेत्रमा उभिएका एक फिल्डरले बल ब्याट्सम्यानको ब्याट नजिकैबाट जाने बित्तिकै आफ्नो औँला पड्काएको देखिन्छ।

औँला पड्किएर आएको ‘क्लिक’ को आवाजले बल ब्याटमा छोएर विकेटकिपरको पञ्जासम्म गएको भान पारेर ठूलो अपील गरिन्थ्यो र अम्पायरले ब्याट्सम्यानलाई आउट दिने गर्दथे।

ब्रिटिस सञ्चारमाध्यमहरूका अनुसार आरोपी खेलाडीको नाम ब्रायन डिभाइन हो। उनी पेसाले एक पशु लिलामी कम्पनीका निर्देशक तथा सचिव हुन्। विवादबारे सोधपुछ गर्दा उनले प्रतिक्रिया दिन अस्वीकार गर्दै मामला छानबिनको क्रममा रहेकाले केही नबोल्ने बताएका छन्।

नोर्टन क्लबका खेलाडी नोमान शबिरले यो कुनै एक म्याचको मात्र घटना नभई लगभग हरेक टोली र म्याचविरुद्ध प्रयोग गरिएको दाबी गरेका छन्। उनले भनेका छन्, ‘चाखलाग्दो कुरा के छ भने, जब यो औँला पड्काउने काम रोकियो, त्यसपछि लामो समयसम्म विकेट नै खसेन।’

मिडिल्स ब्राका कप्तान रोरी कोटरिलले पनि आफ्ना दुई युवा ब्याट्सम्यानहरू यसै चालको शिकार भएको आरोप लगाएका छन्।

यस विवादपछि सोल्टबर्नका विकेटकिपर जोश बोभ्सको तथ्याङ्क पनि शङ्काको घेरामा परेको छ। उनले पछिल्ला ८ खेलमा ३१ क्याच लिएका छन् भने एकै इनिङ्समा ८ क्याच लिने अनौठो कीर्तिमान बनाएका छन्। अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटमा समेत एकै इनिङ्समा विकेटकिपरले बढीमा ७ वटासम्म मात्र क्याच/स्टम्पिङ (वासिम बारी, बब टेलर, इयान स्मिथ र रिडले ज्याकोब्स) गरेको कीर्तिमान छ।

भिडियो भाइरल भएपछि दक्षिण अफ्रिकाका पूर्व तीव्र गतिका बलर डेल स्टेन र चर्चित ब्रोडकास्टर पियर्स मोर्गन लगायतका हस्तीहरूले यसप्रति आश्चर्य व्यक्त गरेका छन्। विवाद बढेपछि सोल्टबर्न क्लबले आफ्ना केही म्याचका लाइभस्ट्रिम भिडियोहरू वेबसाइटबाट हटाएको छ।

आयोजक ‘नर्थ योर्कशायर एन्ड साउथ डरहम क्रिकेट लिग’ ले भिडियो र खेलका घटनाक्रमहरूको गहन अध्ययन भइरहेको पुष्टि गरेको छ। औँला पड्काउने आवाज जानाजानी ब्याट्सम्यानलाई आउट गराउन निकालिएको थियो वा संयोग मात्र थियो भन्ने विषयमा निष्पक्ष छानबिन गरी कारबाही गरिने लिगले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *