बुढानीलकण्ठमा ‘थर्ड वर्ल्ड मिक्स बक्सिङ च्याम्पियनसिप’ सुरु, ८ देशका खेलाडी प्रतिस्पर्धामा
काठमाडौं। नेपाल मिक्स बक्सिङ एसोसिएसनको आयोजना र बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा ‘थर्ड वर्ल्ड मिक्स बक्सिङ च्याम्पियनसिप २०२६’ सुरु भएको छ। बुढानीलकण्ठस्थित मितेरी स्पोर्ट्स क्लबमा आयोजना भइरहेको यो अन्तर्राष्ट्रिय प्रतियोगिता शुक्रबारसम्म सञ्चालन हुनेछ।
प्रतियोगिताको उद्घाटन गर्दै बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीले खेल र खेलाडीको विकासका लागि नगरपालिकाले बजेट व्यवस्थापनका साथै स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान र हौसला प्रदान गर्दै आएको बताए।

त्यसैगरी नगर उपप्रमुख अनिता लामाले आफ्नो नगरमा अन्तर्राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता आयोजना हुन पाउनु खुसीको विषय भएको बताउँदै बुढानीलकण्ठ खेलकुदका हरेक विधामा अगाडि रहेको धारणा राखिन्।
आयोजक संस्था नेपाल मिक्स बक्सिङ एसोसिएसनका अध्यक्ष मोहन खड्काको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा स्वदेशी तथा विदेशी खेलाडीहरूलाई स्वागत गरिएको थियो। कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका खेलकुद विकास बोर्डका अध्यक्ष सुमन तामाङलगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

यस च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बङ्गलादेश, श्रीलङ्का, अजरबैजानलगायत आठ देशका खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन्।
प्रतियोगिताले नेपालमा मिक्स बक्सिङ खेलको प्रवर्द्धन, युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय अनुभव प्रदान गर्ने र खेल पर्यटनमा समेत योगदान पुर्याउने अपेक्षा राखिएको छ। यसअघि पनि एसोसिएसनले ‘एसियन मिक्स बक्सिङ च्याम्पियनसिप’ सफलतापूर्वक सम्पन्न गरिसकेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment