झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको मृत्यु, २८ वटा हात्ती मारिए

डिसी नेपाल
१७ साउन २०८३ १७:४४

भद्रपुर। झापामा मानव र हात्तीबीचको द्वन्द्व बर्सेनि विकराल बन्दै गएको छ। डिभिजन वन कार्यालय भद्रपुरको तथ्याङ्क अनुसार पछिल्लो १६ वर्षको अवधिमा जङ्गली हात्तीको आक्रमणबाट ८० जनाले ज्यान गुमाएका छन् भने मानिससँगको द्वन्द्वमा २८ वटा हात्ती मारिएका छन्।

डिभिजन वन कार्यालयका प्रमुख नथुनी यादवका अनुसार विसं २०६७ असार ३ देखि २०८३ असार मसान्तसम्म हात्तीको आक्रमणबाट ७० नेपाली र १० जना गैरनेपाली गरी कुल ८० जनाको मृत्यु भएको छ। यस तथ्यांकले झापामा औसतमा हरेक वर्ष पाँच जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाउने गरेको देखाउँछ।

तथ्याङ्क अनुसार २०८० साल सबैभन्दा बढी मानवीय क्षति भएको वर्ष हो, जहाँ तीन महिलासहित आठ जनाको मृत्यु भएको थियो। त्यस्तै आर्थिक वर्ष २०८२/८३ मा छ जनाले ज्यान गुमाएका छन्।

यसअघि २०६७ मा दुई, २०६८ र २०६९ मा सात-सात, २०७० मा तीन, २०७१ मा दुई, २०७२ मा चार, २०७३ देखि २०७९ सम्म (२०७५ र २०७६ बाहेक) हरेक वर्ष पाँच-पाँच, २०७५ र २०७६ मा एक-एक र २०८१ मा चार जनाको मृत्यु भएको अभिलेख छ। सरकारले हात्तीको आक्रमणबाट ज्यान गुमाएका मृतकका परिवारलाई जनही १० लाख रूपैयाँका दरले राहत रकम उपलब्ध गराउँदै आएको छ।

मानव-हात्ती द्वन्द्वको चपेटामा मानिस मात्र नभई हात्ती स्वयं पनि परेका छन्। २०६२ सालदेखि हालसम्म २८ वटा जङ्गली हात्ती मारिएका छन्, जसमध्ये सबैभन्दा बढी २०८२ सालमा मात्रै छ वटा हात्ती मारिएका थिए।

वन क्षेत्रको अतिक्रमण, तीव्र रूपमा भइरहेको मानव बस्ती विस्तार, कृषिबालीतर्फ हात्तीको आकर्षण र परम्परागत हात्तीको जैविक मार्ग (करिडोर) अवरुद्ध हुनु नै यो द्वन्द्व बढ्नुका प्रमुख कारण हुन्। हाल द्वन्द्व न्यूनीकरणका लागि डिभिजन वन कार्यालयले स्थानीय तह, सुरक्षा निकाय र समुदायको समन्वयमा सचेतनामूलक कार्यक्रम, निगरानी तथा उद्धारका गतिविधिहरू सञ्चालन गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *