भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

डिसी नेपाल
१८ साउन २०८३ २२:४७

काठमाडौं। नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९ प्रतियोगिता आयोजना गर्नेभएको छ। सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय प्रतियोगिता, अन्तरराष्ट्रिय सहभागिता, फ्रेन्चाइज लिग, प्रशिक्षण तथा विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ।

सङ्घको वार्षिक क्यालेण्डरअनुसार काभाका तीन र एउटा त्रिदेशीय प्रतियोगिता गरी चार अन्तरराष्ट्रिय प्रतियोगिता नेपालमा आयोजना गरिने छ। त्यसैगरी वार्षिक कार्यक्रमअनुसार ३५औँ राष्ट्रिय पुरुष तथा २५औँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुर्खेतमा आयोजना हुने छ भने १०औँ एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप काठमाडौँमा हुनेछ।

साथै ११औँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिग आयोजना गरिने नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबाहदुर चन्दले जानकारी दिए।

यस्तै सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय बीच भलिबल, यू–१९ महिला तथा पुरुष राष्ट्रिय भलिबल, एभरेष्ट महिला फ्रेन्चाइज लिग (इभिएल) तथा एनभिएल पुरुष नेपाल भलिबल लिग वार्षिक कार्यक्रममा समावेश छन्। एनभिएल पुरुष लिग काठमाडौँमा आगामी भदौमा आयोजना हुने अध्यक्ष चन्दले बताए।

अन्तरराष्ट्रिय प्रतियोगितातर्फ नेपाली महिला टोलीले आगामी असोजमा जापानमा हुने २०औँ एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्नेछ। मालदिभ्समा काभा बिच भलिबल टुर तथा काभा यू–१६ भलिबल च्याम्पियनसिप हुने छ।

यू–१८ अन्तरविद्यालय भलिबल प्रतियोगिता, राष्ट्रिय रेफ्री तथा रिफ्रेसर कोर्स, कोचेज कोर्स, महिला तथा पुरुष मैत्रीपूर्ण खेल र थ्री नेसन्स कप आयोजना गरिने अध्यक्ष चन्दले बताए। प्रतियोगिता सञ्चालनका लागि करिब रु २० करोड अनुमानित खर्च लाग्ने उनको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *