किसुनजी आश्रम पुगेर पूर्णबहादुर खड्काको संकल्प-कांग्रेसको पूर्ण एकता आजको आवश्यकता
काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पार्टीका शीर्ष नेता तथा कार्यकर्ताको टोलीसहित ललितपुरको बाँडेगाउँस्थित सन्त नेता एवं पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको आश्रम पुगेका छन्।
संस्थापक नेता भट्टराईको सादगी र निष्ठाको धरोहर मानिने उक्त आश्रम परिसर पुगेर खड्काले काङ्ग्रेसको पूर्ण एकताका लागि संकल्प व्यक्त गरेका हुन्।
आश्रम अवलोकनपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले पार्टीको सम्पूर्ण एकताका लागि संकल्प गर्न आफू किसुनजीको आश्रममा आएको बताए। गत भदौ २४ गते देशव्यापी रूपमा उठेको ‘जेन-जी’ आन्दोलनका क्रममा अराजक समूहद्वारा बाँडेगाउँस्थित भट्टराईको आश्रममा आगजनी र तोडफोड गरिएको थियो।
सो दुःखद घटनालगत्तै भौतिक क्षति अवलोकन गर्न पुगेका खड्का त्यसयता दोस्रोपटक बाँडेगाउँ पुगेका हुन्। आन्दोलनका क्रममा पुगेको क्षतिको पुनरावलोकन गर्दै उनले पार्टीभित्रको आन्तरिक एकतालाई थप मजबुत बनाएर लैजानुपर्ने आवश्यकता औंल्याए।
खड्काको उक्त बाँडेगाउँ यात्रामा काङ्ग्रेसका प्रभावशाली नेताहरूको बाक्लो उपस्थिति रहेको थियो। टोलीमा केन्द्रीय नेताहरू रामहरि खतिवडा, ईश्वरी न्यौपाने, अम्बिका बस्नेत, कृष्णप्रसाद पौडेलका साथै कर्णाली प्रदेश सभापति ललितजंग शाहीलगायतका नेता-कार्यकर्ताहरूको सहभागिता थियो।
विशेषगरी महाधिवेशन र आगामी राजनीतिक कार्यदिशालाई लिएर कांग्रेसभित्र आन्तरिक बहस तीव्र भइरहेका बेला पूर्वकार्यवाहक सभापति खड्काले भट्टराईको आश्रमलाई साक्षी राखेर दिएको ‘पार्टी एकता’को सन्देशलाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment