प्रज्ञा-प्रतिष्ठानमा ‘बुक हिल’ हाबी : मन्त्री गनेश पौडेलको नियुक्ति निर्णय विवादमा

डिसी नेपाल
२४ साउन २०८३ १०:३९

काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठानमा नयाँ पदाधिकारी तथा सदस्यहरूको नियुक्तिलाई लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गनेश पौडेलको आलोचना सुरु भएको छ।

मन्त्री पौडेलले निजी प्रकाशन गृह ‘बुक हिल’बाट पुस्तक प्रकाशित भएका लेखक तथा साहित्यकारहरूलाई प्राथमिकता दिएर प्रतिष्ठानमा नियुक्ति दिलाएको भन्दै साहित्यिक वृत्त र सामाजिक सञ्जालमा विरोध भइरहेको हो।

सामाजिक सञ्जाल प्रयोगकर्ता गोपाल दाहालले ‘प्रज्ञा-प्रतिष्ठानमा संयोग पनि कस्तो’ भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्। उनका अनुसार प्रधानमन्त्री बालेन शाह, संस्कृति मन्त्री गणेश पौडेल, कुलपति कुमार नगरकोटी, उपकुलपति अविनाश श्रेष्ठ र सदस्य सचिव रोशन शेर्छाका कृतिहरू ‘बुक हिल’बाटै प्रकाशित भएका हुन्।

यस्तै, सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानमा नियुक्त गायिका रेखा शाह र पदाधिकारी तथा सदस्य सिफारिस समितिका सदस्य नारायण ढकालका पुस्तक पनि सोही प्रकाशन गृहबाट प्रकाशित भएकाले नियुक्तिमा एकपक्षीयता र पहुँच हाबी भएको भन्दै प्रश्न उठाइएको छ।

यसैबीच, प्रज्ञा-प्रतिष्ठानको गठन प्रक्रियामा नाम जोडिएपछि साहित्यकार राजन मुकारुङले आफू नियुक्ति प्रक्रियामा नरहेको स्पष्ट पारेका छन्। आधिकारिक स्रोतबाट कुनै जानकारी नआएको र विगतमा अध्यादेशमार्फत पदमुक्त भएको पदमा पुनः बहाली हुनु उपयुक्त नहुने भन्दै उनले आफ्नो उम्मेदवारी नरहेको जनाएका छन्।

यता, संस्कृति मन्त्री गणेश पौडेलले भने विगतमै आफ्नो सचिवालयमार्फत ५ वर्षसम्म विश्वविद्यालय, प्रज्ञा-प्रतिष्ठान वा अन्य निकायमा हुने मनोनयनका लागि कुनै पनि भनसुन वा सिफारिस नगर्न र नस्वीकार्ने स्पष्ट पारिसकेका छन्।

प्रज्ञा-प्रतिष्ठान जस्तो गरिमामय निकायमा एउटै प्रकाशन गृहसँग जोडिएका व्यक्तिहरूको बाहुल्य भएपछि यसको निष्पक्षता र पारदर्शितामाथि प्रश्न उठाउँदै मन्त्री पौडेलको कदमको विरोध भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *