अफगानिस्तान २०२७ को विश्वकपका लागि छनोट, वेस्ट इन्डिज सिधा छनोटबाट बाहिरियो
काठमाडौं । अफगानिस्तानले तेस्रो एकदिवसीय (ओडिआई) खेलमा आयरल्यान्डलाई तीन विकेटले पराजित गरेको छ। यस जितसँगै अफगानिस्तानले सन् २०२७ मा हुने ओडिआई विश्वकपका लागि सिधै छनोट भएको छ।
बेलफास्टमा सोमबार खेलिएको खेलमा अफगानिस्तानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। टोलीले उत्कृष्ट बलिङ गर्दै आयरल्यान्डलाई ४६.३ ओभरमा २०६ रनमा अलआउट गरिदियो। जवाफमा अफगानिस्तानले ४४.५ ओभरमा ७ विकेट गुमाएर लक्ष्य प्राप्त गर्यो।
अफगानिस्तानको जितमा कप्तान राशिद खानले महत्त्वपूर्ण भूमिका खेले। उनले अविजित ३७ रनको योगदान दिनुका साथै बलिङतर्फ ३ विकेटसमेत लिए।
अफगानिस्तान ओडिआई वरीयतामा हाल आठौँ स्थानमा रहेको छ। आयरल्यान्डविरुद्ध टोलीको यो लगातार दोस्रो जित हो। यस जितसँगै अफगानिस्तान ३० सेप्टेम्बर २०२६ सम्म ओडिआई वरीयताको शीर्ष-८ भित्र रहिरहने निश्चित भएको छ। यही मिति सन् २०२७ को ओडिआई विश्वकपमा सिधै छनोट हुनका लागि तय गरिएको ‘कट-अफ डेट’ हो।
यसैबिच, अफगानिस्तान सिधै छनोट भएसँगै दुई पटकको विश्वविजेता वेस्टइन्डिजले भने विश्वकप छनोट प्रतियोगिता (ग्लोबल क्वालिफायर) खेल्नुपर्ने पक्का भएको छ।
वेस्टइन्डिजले अझै भारतविरुद्ध दुई ओडिआई खेल खेल्न बाँकी छ। यद्यपि, दुवै खेल जिते तापनि टोली ओडिआई वरीयताको शीर्ष-८ मा पुग्न सक्नेछैन। वेस्टइन्डिज हाल वरीयताको १०औँ स्थानमा रहेको छ।
उल्लेखनीय छ कि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ले आइसिसी पुरुष क्रिकेट विश्वकप २०२७ मा १४ टोलीहरू सहभागी हुने घोषणा गरिसकेको छ। यसअघि सन् २०२३ को विश्वकपमा १० टोलीले मात्र प्रतिस्पर्धा गरेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment