पूर्वी नेपालको उदीयमान गन्तव्य तिम्बुङ पोखरी: जहाँ प्रकृतिसँग साक्षात्कार हुन्छ

डिसी नेपाल
२६ साउन २०८३ ११:४८

ताप्लेजुङ। हिमाली प्रजातिका विभिन्न फूलहरूको मनमोहक दृश्य, धुपी र हिमाली वनस्पतिको मीठो सुगन्ध, हरियाली डाँडाकाँडा, याक र चौँरीका गोठ, चट्टानबिच छङ्छङ् गर्दै बग्ने खोल्सा अनि हिमालको अनुपम दृश्यले सजिएको तिम्बुङ पोखरी पछिल्लो समय पूर्वी नेपालको आकर्षक साहसिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदै गएको छ।

यस पोखरीको प्रचारप्रसार बढ्दै जाँदा यहाँ आन्तरिक पर्यटकको चहलपहल पनि उल्लेखनीय रूपमा बढेको छ। हाल दैनिक सरदर दुई दर्जनभन्दा बढी आन्तरिक पर्यटकहरू पुग्ने गरेका छन्। यहाँको प्रचारप्रसारसँगै पर्यटकको आगमन बढ्न थालेको स्थानीय पर्यटन व्यवसायी अमिर राई बताउँछन्। उनले तिम्बुङ पोखरीमा आउने पर्यटकको सुविधाका लागि पहिलोपटक सबैभन्दा माथि अर्थात् पोखरी नजिकै होमस्टे (घरवास पर्यटन) सञ्चालनमा ल्याएका छन्।

समुद्री सतहदेखि करिब चार हजार ३५० मिटरको उचाइमा अवस्थित तिम्बुङ पोखरी पुग्नु आफैँमा एउटा अविस्मरणीय यात्रा हो। सदरमुकाम फुङलिङबाट करिब पाँचदेखि छ घण्टाको सवारी यात्रा र त्यसपछि एक दिनको पैदल यात्रा तय गरेपछि पुगिने यो पोखरीले यात्रुलाई केवल गन्तव्यको आनन्द मात्र होइन, यात्राका क्रममा नै प्रकृतिसँगको गहिरो साक्षात्कार पनि गराउँछ। तिम्बुङ पोखरी पुग्ने अधिकांश मानिसले स्वर्गकै अनुभूति हुने गरेको बताउने गर्छन्।

एक वर्ष पहिले तिम्बुङ पोखरी पुगेकी पवित्रा लिम्बूलाई पुनः एकपटक त्यहाँ पुग्ने तीव्र रहर छ। “पहिले तिम्बुङ पोखरी पुग्दा मैले जे अनुभव गरेँ, त्यो शब्दमा व्यक्त गर्न सक्दिनँ। त्यो यात्राले मेरो जीवनमा अविस्मरणीय सम्झना थपेको छ, यहाँको प्राकृतिक सौन्दर्य साँच्चै स्वर्गजस्तै लाग्यो”, लिम्बूले भनिन्।

यता पटक–पटक पुगे पनि फोटोपत्रकार डेभिड ओझाको रहर अझै मेटिएको छैन। ओझा भन्छन्, “हरेक पटक पुग्दाको मौसम र त्यहाँको प्राकृतिक वातावरणले गहिरो छाप छोड्ने गर्छ। शान्त वातावरण, हिमालको सौन्दर्य, साहसिक पदयात्रा र त्यस क्षेत्रमा हुने स्वागत-सत्कार लोभलाग्दो छ।”

कतिपय परम्परागत गोठहरू ‘गोठस्टे’ (पर्यटकलाई राख्न सकिने गोठ) मा परिणत हुँदा र नयाँ-नयाँ होमस्टे थपिँदा पर्यटकलाई आकर्षित गर्न व्यवसायीहरूले स्वागत-सत्कारका नयाँ-नयाँ तरिका अपनाउने गरेको उनले बताए। कतै छुर्पी, त कतै तातोपानी र चिया खुवाएर आफ्नो परिवेशका कुरा सुनाउँदै यहाँका व्यवसायीले मक्ख बनाउने गरेको उनको अनुभव छ।

पदमार्गमा गोठस्टेको आकर्षण

आन्तरिक पर्यटकको आगमन बढेसँगै तिम्बुङ पोखरी जाने पदमार्गमा रहेका परम्परागत गोठहरू अहिले गोठस्टेमा रूपान्तरण हुन थालेका छन्। विभिन्न खर्कमा रहेका परम्परागत गोठका संरचनामा थप सुधार गरेर पर्यटकलाई खान-बस्न सुविधासम्पन्न बनाइएका छन्। पहिले तिनै गोठमा असहज रूपमा बस्नुपर्थ्यो। तिम्बुङ क्षेत्रमा पर्यटकको चहलपहल बढेपछि गोठलाई गोठस्टेमा परिणत गर्नुपरेको एक पशुपालक व्यवसायीले बताए।

स्थानीय गाउँहरूमा होमस्टे र साना गेस्टहाउस पनि सञ्चालनमा आएका छन्। यसले तीन वर्षअघिको तुलनामा पर्यटकलाई ठुलो सहजता मिलेको छ। तिम्बुङ पोखरीमा तीन वर्षयता उल्लेख्य रूपमा पर्यटकहरूको आगमन बढ्न थालेको हो।

यहाँका गोठस्टेमा बस्नु बिलकुल फरक र रोचक अनुभव प्राप्त गर्नु हो। सहर तथा भीडभाडबाट केही दिन टाढिँदै गर्दा लेकका फाट्टफुट्ट गोठमा बस्दा जोकसैलाई नयाँ अनुभूति हुन्छ। याक र चौँरी पाल्ने गोठालासँग आगो ताप्दै जीवनका भोगाइ सुन्ने, अगेनामा उम्लिरहेको ताजा दूधको सुवास महसुस गर्ने, लहरै झुन्ड्याइएका छुर्पी हेर्ने र तिनै दूधजन्य उत्पादनको स्वाद लिन पाउनु यात्राको विशेष आकर्षण बन्ने गर्छ।

यस क्षेत्रमा खोलिएका होमस्टेहरूले पनि स्थानीय संस्कृति, हिमाली जीवनशैली र आत्मीय आतिथ्यको अनुभव गराउँदै आएका छन्। यात्राका क्रममा समय र आवश्यकताअनुसार गोठस्टे, होमस्टे वा गेस्टहाउस रोज्न सकिन्छ।

सन्तोष पुर्कुटी/रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *