मिथिलामा सुरु भयो सांस्कृतिक उत्सव ‘झुलनोत्सव’
महोत्तरी। मैथिल परम्पराको विशिष्ट मानिने ‘झुलनोत्सव’ पर्व शनिबारदेखि महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा हर्षोल्लासका साथ सुरु भएको छ। साउन शुक्ल तृतीयाका दिनदेखि सुरु भई साउन पूर्णिमासम्म मनाइने यस पर्वका अवसरमा अहिले मन्दिर तथा वैष्णव मठहरूमा विष्णुलक्ष्मी भक्तिका भजन तथा झुला गीतहरू गुञ्जन थालेका छन्।
यस पर्वमा हिन्दू परम्पराका आराध्यदेव श्रीविष्णु र भगवती लक्ष्मीका साथै उहाँहरूका अवतार मानिने राम–सीता र राधा–कृष्णका प्रतिमालाई कलात्मक झुलना (कोक्रा) मा राखेर भक्तिगीतको लयमा हल्लाउने (झुलाउने) गरिन्छ।
मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा. रवीन्द्रदास वैष्णवका अनुसार यो बालरूप भगवान् र भगवतीलाई झुलनामा झुलाइने पर्व हो। श्रीरामकी माता कौशल्या र श्रीकृष्णकी माता यशोदाले कोक्रामा हल्लाएको प्रतिकात्मक सम्झनास्वरूप यो पर्व मनाइन्छ। घरघरमा नभई मठमन्दिरमा सामूहिक रूपमा मनाइने यो पर्वमा श्रद्धालुहरूले झुलामा राखिएका प्रतिमालाई डोरी समाएर झुला गीत गाउँदै हल्लाएर भक्तिभाव जाहेर गर्छन्।
पर्वको पहिलो दिन शनिबार साँझ मटिहानीस्थित लक्ष्मीनारायण मन्दिरबाट लक्ष्मीनारायणका प्रतिमा डोलीमा राखेर बाजागाजाका साथ झुलाघर पुर्याइएको छ। यस अवसरमा स्थानीय बासिन्दा तथा सर्वसाधारण नजिकैको मठ–मन्दिरमा भेला भई भजनकीर्तन गाउँदै सीताराम र राधाकृष्णका प्रतिमा राखिएका झुला हल्लाएर नाच्ने गर्छन्।
झुलनोत्सवका क्रममा मिथिलाको लोकलयमा झुला, मलार र कजरी गीत गाउने चलन छ। यो पर्व प्राचीन मिथिला क्षेत्रका सबैजसो स्थानमा मनाइने भए पनि महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठ र मन्दिर, जनकपुरको जानकी मन्दिर, जलेश्वर–१ र बर्दिबास–१४ स्थित रामजानकी कुटीमा विशेष रौनक रहने गर्छ।
मिथिलामा यो पर्व राम जन्मभूमि अयोध्या र कृष्णको बाललीलास्थल मानिने वृन्दावनबाट भित्रिएको विश्वास गरिन्छ। प्राचीन मिथिलाको राजधानी जनकपुरधाम सीताको माइती भएकाले ज्वाइँलाई प्रसन्न गराउने मैथिल परम्पराअनुसार विसं १७८७ तिर सन्त सुरकिशोर दासले यो पर्व सुरु गराएको मानिन्छ। राम–सीताको विवाहका बेला राजा जनकले दाइजोमा दिएको हीरा, रत्न र मणिमाणक्यको थुप्रो (मणिपर्वत) को साउन शुक्ल तृतीयाका दिन पूजा गरेर पर्व सुरु गर्ने परम्परासमेत रहेको छ।
महोत्तरीको मटिहानीस्थित झुलाघरमा अहिले जिल्लाका साथै सीमावर्ती भारतीय क्षेत्रका दर्जनौँ मठमन्दिरबाट प्रतिमाहरू झुलाका लागि ल्याइएका छन्।
साउन पूर्णिमाका दिन झुलनाको डोरी चुडालेर पर्व समापन गरिने परम्परा छ। मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुत्तिका अनुसार मैथिल पञ्चाङ्ग (विद्यापति र मिथिला) मा चन्द्रमासको साउनदेखि नयाँ वर्ष प्रारम्भ हुने भएकाले साउनमै मनाइने मधुश्रावणी, झुला, नागपञ्चमी र रक्षाबन्धनसँगै वर्षभरिका चाडपर्वको सिलसिला सुरु हुने गर्दछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment