२०औं एसियाडमा नेपाली तेक्वान्दो निर्णायक बब्लु सिवाकोटी छनोट

डिसी नेपाल
३१ साउन २०८३ १०:२९

काठमाडौं। नेपाली तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक बब्लु सिवाकोटी जापानको आइची–नागोयामा आयोजना हुने २०औँ एसियाली खेलकुद (एसियाड) का लागि निर्णायक (रेफ्री) को रूपमा छनोट भएका छन्।

आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म आयोजना हुने एसियाडमा उनले तेक्वान्दो खेलमा निर्णायकको भूमिका निर्वाह गर्नेछन्। उनी ग्योरोगी र पुम्से दुवै विधाका मान्यता प्राप्त अन्तर्राष्ट्रिय निर्णायक हुनुका साथै नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य र टेक्निकल डेलिगेट्स (टीडी) पनि हुन्।

सिवाकोटीले सन् २०२३ जनवरीमा युएईको दुबईबाट अन्तर्राष्ट्रिय ग्योरोगी रेफ्री र सन् २०२४ सेप्टेम्बरमा अन्तर्राष्ट्रिय पुम्से रेफ्री कोर्स उत्तीर्ण गरी दुवै विधामा अन्तर्राष्ट्रिय निर्णायकको योग्यता हासिल गरेका थिए।

उनले यसअघि अस्ट्रेलिया, जापान, चीन, भियतनाम, मलेसिया, थाइल्यान्ड, श्रीलंका, बंगलादेश, मंगोलिया र भारतमा आयोजित विभिन्न प्रतियोगिताहरूमा निर्णायकको भूमिका निभाइसकेका छन्।

सन् २०२६ मा अस्ट्रेलियाको गोल्डकोस्टमा भएको डब्लुटी प्रेसिडेन्ट्स कप (जी-३) ओपन तेक्वान्दो प्रतियोगिताका साथै गत मेमा मंगोलियामा आयोजित २७औँ एसियन तेक्वान्दो च्याम्पियनसिप, नवौँ एसियन पुम्से, ११औँ एसियन पारा तेक्वान्दो च्याम्पियनसिप र एसियाडको छनोट प्रतियोगितामा पनि उनले रेफ्रीको जिम्मेवारी सम्हालेका थिए।

उनको प्राविधिक दक्षताको कदर गर्दै एसियन तेक्वान्दो युनियन (एटीयू) ले सन् २०२६ का लागि उनलाई टेक्निकल कमिटी सदस्यमा समेत नियुक्त गरेको छ। यसअघि सन् २०२५ डिसेम्बरमा दक्षिण कोरियाको सियोलमा आयोजित एटीयू रेफ्री एजुकेसन कोर्समा सहभागी भई उनले परिमार्जित नयाँ नियमबारे प्रशिक्षण लिएका थिए।

निर्णायकका साथै पूर्वखेलाडी समेत रहेका सिवाकोटीले थाइल्यान्डमा भएको चौथो हिरोज तेक्वान्दो इन्टरनेसनल च्याम्पियनसिपको मास्टर टिम पुम्सेमा कांस्य पदक जितेका थिए। हाल उनी नेपालमा राष्ट्रिय निर्णायकहरूका लागि रिफ्रेसर कोर्स र प्राविधिक तालिम सञ्चालनमा समेत सक्रिय रहँदै आएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *