देउवाकै सभापतित्वमा १५औं महाधिवेशन गर्ने कांग्रेस इतर समूहको निर्णय, ५ बुँदे प्रस्ताव पारित

डिसी नेपाल
३१ साउन २०८३ १४:४२

काठमाडौं। नेपाली कांग्रेसको साविक १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको छ

सुकेधारामा सम्पन्न इतर समूहको राष्ट्रिय सम्मेलनले पार्टी सभापति शेरबहादुर देउवाकै सभापतित्व र नेतृत्वमा पार्टी एकताबद्ध भई १५औँ महाधिवेशन सम्पन्न हुने दृढ विश्वास व्यक्त गरेको छ

महाधिवेशन नभएसम्मका लागि आवश्यक नियमित सांगठनिक क्रियाकलापहरू सभापतिको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलनका संयोजकले नै संयोजन गर्दै जाने व्यवस्था मिलाइएको छ

सम्मेलनले मुलुकको वर्तमान राजनीतिक र सामाजिक परिस्थितिलाई ध्यानमा राख्दै विभिन्न महत्त्वपूर्ण प्रस्तावहरू पारित गरेको छ

वि.सं. २०३३ सालमा बीपी कोइरालाले राष्ट्रिय संकट समाधानका लागि लिएको मेलमिलाप नीतिको स्मरण गर्दै वर्तमान अप्ठ्यारो स्थितिमा राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि लोकतन्त्रवादी शक्तिहरूसँग निरन्तर संवाद गर्ने निर्णय गरिएको छ

त्यसैगरी नेपालको सनातन धर्म-संस्कृतिलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता जनाउँदै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र व्यक्तिगत धार्मिक स्वतन्त्रताको रक्षा गर्दै हिन्दु, बौद्ध, किरात र प्रकृति पूजक धर्मको संरक्षण गर्ने प्रस्ताव पारित भएको छ

यसै गरी वर्तमान संविधानमा जनअपेक्षाअनुसार आवश्यक संशोधनका लागि संवैधानिक व्यवस्था अनुसार नै सम्बन्धित सबै पक्षहरूसँग संवाद गरी निकास दिइने जनाइएको छ

साउन ३० र ३१ गते सम्पन्न राष्ट्रिय सम्मेलनमा प्रस्तुत प्रस्ताव र सुझावहरूलाई परिमार्जनसहित लिखित दस्ताबेजका रूपमा तयार पार्ने जिम्मेवारी केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा गठन गरिएको समितिलाई दिइएको छ

उक्त समितिमा केन्द्रीय सदस्यहरू उमाकान्त चौधरी र सीता राना रहेका छन् भने सहयोगी सदस्यका रूपमा केन्द्रीय सदस्यहरू मीनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुइँकेललाई चयन गरिएको छ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *