सरकारले ‘शिक्षा संवाद’ मा बेवास्ता गरेको भन्दै शिक्षक महासंघको आपत्ति
काठमाडौं। नेपाल शिक्षक महासंघले शिक्षक-कर्मचारीका पेसागत समस्या र नीतिगत समाधानबारे शिक्षा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको शिक्षा संवाद कार्यक्रममा आफ्नो संस्थागत उपस्थिति नराखिएको भन्दै आपत्ति जनाएको छ।
महासंघले साउन ३० गतेदेखि सातै प्रदेशमा आयोजना गरिएको ‘शिक्षा संवाद’ मा शिक्षा ऐनले व्यवस्था गरेको आधिकारिक पेसागत संस्था नेपाल शिक्षक महासंघलाई सहभागी नगराइएको भन्दै यसले शिक्षक-कर्मचारीका समस्या र पेसागत आन्दोलनप्रति मन्त्रालयको नियत स्पष्ट भएको जनाएको छ।
महासंघले मन्त्रालयलाई यस विषयमा गम्भीर भएर तत्काल आफ्नो निर्णय सच्याउन ध्यानाकर्षण गराएको छ। अन्यथा यसबाट उत्पन्न हुने असहज परिस्थितिको जिम्मेवारी मन्त्रालय स्वयंले लिनुपर्ने चेतावनी दिएको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले जारी गरेको विज्ञप्तिमा शिक्षक-कर्मचारीका पेसागत विषयमा हुने नीतिगत छलफलमा आधिकारिक पेसागत संस्थाको सहभागिता सुनिश्चित गर्न माग गरिएको छ।
मन्त्रालयको आयोजनामा प्रस्तावित शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले सुरु गरिएको ‘शिक्षा संवाद’ कार्यक्रम विराटनगरमा शनिबार सम्पन्न भएको भने आज जनकपुरमा कार्यक्रम हुँदैछ। अभियानअन्तर्गत सातै प्रदेशमा पुगेर शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक, स्थानीय तह तथा शिक्षा क्षेत्रका अन्य सरोकारवालासँग प्रत्यक्ष संवाद गरिने मन्त्रालयले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment