परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकबीच टेलिफोन वार्ता
काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिला उपविदेशमन्त्री एलिसन हुकरबीच टेलिफोन वार्ता भएको छ।
वार्ताका क्रममा उपविदेशमन्त्री हुकरले बुधबार आएको विनासकारी बाढीबाट भएको जनधनको क्षतिप्रति अमेरिकी सरकारका तर्फबाट दुःख तथा समवेदना व्यक्त गरे। उनले विपद्को यस कठिन समयमा नेपाललाई सहयोग गर्ने अमेरिकी सरकारको प्रतिबद्धता व्यक्त गर्दै नेपाली जनता र नेपाल सरकारप्रति ऐक्यबद्धता जनाए।
उपविदेशमन्त्री हुकरले बाढी प्रभावित नागरिकको खोज तथा उद्धारका लागि नेपाल सरकारले सञ्चालन गरिरहेको अभियानबारे जानकारी लिनुका साथै बेपत्ता अमेरिकी नागरिकको खोज तथा उद्धारको अवस्थाबारे पनि चासो राखे।
सो अवसरमा परराष्ट्रमन्त्री खनालले बाढी प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि सरकारले उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारी गराए।
परराष्ट्रमन्त्री खनालले कठिन परिस्थितिमा नेपाललाई सहयोग गर्ने अमेरिकी सरकारको तत्परताप्रति धन्यवाद व्यक्त गरेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment