बाढीपछि बर्दियाका ९० जना सम्पर्कविहीन

डिसी नेपाल
११ भदौ २०८३ २२:१७

बर्दिया। रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि बर्दियाका ९० जना सम्पर्कविहीन भएका छन्। त्यहाँस्थित जलविद्युत् आयोजना, कन्स्ट्रक्सन कम्पनीलगायतमा कार्यरत रहेका उनीहरु सम्पर्कविहीन भएका हुन्।

बाढीबाट सम्पर्कविहीन हुनेहरुमा गुलरिया नगरपालिकाका दुई, बाँसगढी नगरपालिकाका १८, राजापुर नगरपालिकाका १६, बारबर्दिया नगरपालिकाका २५, ठाकुरबाबा नगरपालिकाका १३, मधुवन नगरपालिकाका एक, गेरुवा गाउँपालिकाका १४ तथा एक जना पालिका नखुलेका व्यक्ति बाढीपछि सम्पर्कविहीन भएका बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताए।

सम्पर्कविहीन हुनेहरुमध्ये पावर चाइना हाइड्रोपावर, अपर त्रिशूली हाइड्रोपावर, त्रिशूली हाइड्रोपावर, रसुवागढी कन्स्ट्रक्सन कम्पनी, रसुवा सुरुङमार्गमा कामदारका रुपमा काम गर्न गएका व्यक्तिहरु रहेको जिल्ला प्रशासन कार्यालय बर्दियाका विपद् ‘फोकल पर्सन’ लोकप्रसाद ढकालले बताए।

ठाकुरबाबा नगरपालिका–२ का धनिराम थारु चाइना हाइड्रोपावरमा एक महिनाअगाडि काम गर्न गएका थिए। यही भदौ ९ गते राति ८ः०० बजे परिवारसँग कुराकानी भएको र त्यसपछि सम्पर्क हुन नसकेको उहाँका ज्वाइँ रामबहादुर थारूले बताए। उनीसँगै ठाकुरबाबा–२ का एक र वडा नं ६ का एक जना गरी ३ जना हाइड्रोपावरमा काम गर्न गएको परिवारले जनाएको छ।

यसैगरी, राजापुर–९ का प्रदीप थारू रसुवाको हाइड्रोपावर कम्पनीमा गाउँका अन्य चार जनासहित केही महिनाअगाडि काम गर्न गएका थिए। यही भदौ ९ गते आमासँग कुराकानी भएको र बुधबार बाढीपछि सम्पर्क हुन नसकेको उहाँका भिनाजु सन्दीप थारूले जानकारी दिए।

भोटेकोशी बाढीबाट सम्पर्कविहीन रहेका व्यक्तिको तथ्याङ्क सङ्कलन गर्दै खोज तथा उद्धारका लागि रसुवाका सुरक्षा निकायसँग समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी हमालले जानकारी दिए। उनले भने, “बर्दियाबाट रसुवामा कति व्यक्ति काम गर्न गएका थिए, कुनै जानकारी छैन। सम्पर्कविहीन भएका व्यक्तिहरुको तथ्याङ्क लिने र खोज तथा उद्धारका लागि समन्वय गरिरहेका छौँ।”

रसुवाको मैलङ्मा बर्दियाका २०० जना सुरक्षित रहेको र उद्धारको पर्खाइमा रहेको बर्दिया क्षेत्र नं १ बाट प्रतिनिधित्व गर्ने सङ्घीय संसद् ठाकुरसिंह थारूमार्फत जानकारी आएको जिल्ला प्रशासन कार्यालयका विपद् फोकल पर्सन ढकालले जानकारी दिए। यस्तै, पावर चाइना हाइड्रोपावर कम्पनीमा काम गर्न गएका बर्दियाका करिब १५ जना आधारभूत विद्यालय उत्तरगया–१ मा सुरक्षित रहेको र उद्धारको प्रर्खाइमा रहेको गेरुवाका धनिराम दहितले जानकारी दिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय बर्दियाले भोटेकोशी बाढीबाट सम्पर्कविहीन रहेका बर्दियाका व्यक्तिहरुको तथ्याङ्क सङ्कलन गरिरहेको छ। खोज तथा उद्धारका लागि रसुवाका प्रशासनसँग समन्वय गरिरहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *