सटडाउन र प्रसारण लाइन ट्रिप हुँदा काठमाडौंको विद्युत् आपूर्ति प्रभावित

डिसी नेपाल
१२ भदौ २०८३ १५:२५

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको पूर्व-निर्धारित मर्मत र वैकल्पिक प्रसारण लाइनमा एक्कासी आएको प्राविधिक समस्याका कारण शुक्रबार बिहान काठमाडौं उपत्यकासहित देशको मध्य क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ।

प्राधिकरणका अनुसार निर्माणाधीन हेटौंडा-ढल्केबर ४०० केभी प्रसारण लाइनको तार तान्न हेटौंडा-अमलेखगञ्ज र कमाने-अमलेखगञ्ज १३२ केभी लाइन बिहान ६:४० बजेदेखि ‘सटडाउन’मा राखिएको थियो। सटडाउनका कारण ढल्केबर-खुर्कोट–खिम्ती-भक्तपुर-स्युचाटार मार्गबाट विद्युत् आपूर्ति व्यवस्थापन भइरहेको थियो।

तर, सोही क्रममा बिहान ८:५२ बजे खप्ती-ढल्केबर २२० केभी प्रसारण लाइनको ‘सर्किट-१’ को तार चुडिएर ट्रिप भएको थियो। त्यसको केही बेरमै, बिहान ९:१८ बजे सोही लाइनको ‘सर्किट-२’ समेत ट्रिप भएपछि राष्ट्रिय ग्रिडसँगको सम्पर्क विच्छेद भई विद्युत् सेवा पूर्ण रूपमा ठप्प हुन पुगेको हो।

विद्युत् सेवा अवरुद्ध भएलगत्तै प्राधिकरणले वैकल्पिक व्यवस्था अपनाएको थियो। भारतको उत्तर प्रदेशस्थित सम्पतिया सबस्टेसनबाट मैनहिया सबस्टेसन हुँदै विद्युत् आयात गरी बिहान ९:४४ बजेदेखि काठमाडौं उपत्यकामा पुनः आपूर्ति सुरु गरिएको छ।

हाल प्राविधिक टोलीले अवरुद्ध प्रसारण प्रणालीको स्थलगत निरीक्षण तथा मर्मतसम्भार गरिरहेको छ। समस्या समाधान गरी प्रणालीलाई यथाशीघ्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *